कुनै पनि व्यक्तिलाई पछिसम्म सम्झने उसले बाँचुन्जेल गरेका कर्मकै आधारमा हो। नेपालको राजनीतिक इतिहासमा धेरै व्यक्ति जन्मिए, कर्म गरे र मरेर गए। कोही इतिहास बनाएर गए भने कोही जसरी उदाए त्यसरी नै पतन भए। थोरै पात्रले मात्र पुस्तौंपुस्ताले सम्झने गरी इतिहासमा नाम लेखाएर गएका छन्। त्यस्तै पात्रमध्येमा पर्छन् कृष्णप्रसाद भट्टराई (किसुनजी)। एउटा व्यक्तिले जनताका लागि सबैथोक गरेर जान सक्दैन। उसले गरेका केही कर्मलाई आदर्शका रूपमा लिने हो। सदाचार, त्याग, निष्ठा र इमानदारी किसुनजीका लिगेसी हुन्। उनी बाँचुञ्जेल यी आदर्शमा निष्ठापूर्वक लागिरहे। उनको सम्पत्तिका नाममा रहेको एउटा छाता, सुराही र टिनको ट्याम्काले सदाचारको परिचय बनायो।
२०४६ को जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे तर गणेशमानले किसुनजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे। राजासँगको भेटमा गणेशमानले भनेका थिए, ‘सरकार, हाम्रो पार्टीमा एकसे एक योग्य र विद्वान् व्यक्ति हुनुहुन्छ। हाम्रा साथी किसुनजीलाई बीपी कोइराला पनि भन्नुहुन्थ्यो– भट्टराईजीभन्दा योग्य मान्छे त विरलै हुन्छन्। म पनि उहाँलाई योग्य मान्छु। त्यसकारण म प्रधानमन्त्री पदमा उहाँलाई नै नियुक्त गर्न बिन्ती चढाउँछु।’ त्यसपछि ०४७ वैशाख ६ गते राजा वीरेन्द्रले अन्तरिम प्रधानमन्त्रीमा किसुनजीलाई नियुक्त गरे। उनलाई दुइटा कार्यभार सुम्पिएको थियो— नयाँ संविधान निर्माण र आम निर्वाचन। तोकिएको समयमा उनले ती दुवै कार्यभार पूरा गरे।