कमेडि च्याम्पियनका खबपु भोट माग्न गृहनगरमा, सहयोगको ओइरो

रियालिटी शो कमेडियन च्यम्पियनको फाइनलमा पुगेका रोल्पाली खम्ब बहादुर पुन मगर (खवपु) भोट माग्नका लागि गृहनगर पुगेका छन्। उनलाई शुक्रबार रोल्पाको लिबाङमा स्थानीयले भब्य स्वागत गरेका छन्।

नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल ‘खबपु’ लाई कमेडी च्याम्पियन बनाउन रोल्पालीहरू लागिपरेका छन्।

भोट माग्न आएका ‘खबपू’ लाई रोल्पा सदरमुकाम लिवाङमा बाजा गाजासहित बजार परिक्रमा गरि टुडिँखेलमा भव्य स्वागत गरिएको हो।

कमेडी च्याम्पियनको उपाधि नजिक रहेका खबपूलाई देश विदेशमा रहेका रोल्पालीले सक्दो सहयोग गरेको लिवाङका समाजसेवी चन्द्रबहादुर बुढाले बिएल नेपाली सेवालाई जानकारी दिए।

बुढाका अनुसार खबपुलाई युकेमा रहेका गोर्खा लाहुरे राजेन्द्र बुढामगरले भोटका लागि १२ सय पाउण्डसहित युकेमा रहेका रोल्पालीबाट २ लाख २५ हजार रूपैयाँ पठाएका छन्। यस्तै जेलवाङमा स्थानीयले ५० हजार, सुलिचोरका रोल्पालीले साढे २ लाख रकम खबपु जिताउ अभियानलाई पठाएका छन्।

शुक्रबार सदरमुकाम लिबाङमा भएको स्वागत कार्यक्रमा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण के.सीले सम्बोधन गर्दै समग्र मध्यपश्चिम क्षेत्रको प्रतिष्ठानसँग जोडिएको खबपुलाई विजय बनाउन सबै लागिपर्नु पर्ने बताए।

साथै उनले नगरवासी, जिल्लाबासी सबैलाई भोट गर्न समेत आग्रह गरेका थिए।

कार्यक्रममा कलाकार गन बहादुर पेस्तोल, टप ३ का प्रतिस्पर्धी खबपु चञ्चलले हाँस्य व्यग्य कला प्रस्तुत गरेका थिए।

खबपु जिताउ अभियान कार्यक्रममा उपस्थित भएका सहभागीले आर्थिक रकम समेत सहयोग गरेका थिए।

त्यस्तै शुक्रबार नै खबपुलाई सुलीचौरमा भव्य स्वागत गरिएको छ। साथै फागुन १७ गते रूकुमको सदरमुकाम खलङ्गामा र फागुन १९ गते आफ्नै गाउँ जेलवाङमा भोट माग्ने र भेटघाट गर्ने कार्यक्रम थियो।

त्यसैगरि फागुन २० गते रोल्पाकै सुनछहरी गाउँपालिकामा, फागुन २१ गते प्युठानमा र फागुन २२ गते बुटवलमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ।

यस्तै फागुन २३ गते पाल्पामा, फागुन २४ गते पोखरामा र फागुन २५ गते काठमाडौँमा भोट अपिल गर्ने कार्यक्रम रहेको छ।

वाइल्ड कार्ड इन्ट्रीबाट फाइनलसम्म पुगेका खबपु अर्गानिक उपमा पाएका कमेडीयन हुन्। उनले टप ४ बाट ग्राण्ड फिनालेमा प्रवेश गर्दा पनि सबैभन्दा धेरै भोट प्राप्त गरेका छन्।

कमेडी च्याम्पियनको ग्राण्ड फिनाले चैत १ गते हुने आयोजक समितिले जनाएको छ।

खवपुलाई भोट गर्न नेपालबाट E-sewa को App Download  गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ।

प्रकाशित मिति: : 2020-03-04 01:32:16

प्रतिकृया दिनुहोस्