नेपालमा पाँच देशका लागि मात्र अन-अराइभल भिसा रोक्का

सरकारले अन-अराइभल भिसामा रोक लगाउन गरेको निर्णय लागु हुने निकायसम्म आइपुग्दा सच्चिएको छ। 

अध्यागमन विभागले पाँच मुलुको अन-अराइभल भिसामा मात्र रोक लगाउने सूचना सार्वजनिक गरेर त्यसलाई सच्चाइदिएको हो।

विभागका अनुसार कोरोना भाइरस प्रभावित  पाँच देश चीन, इरान, इटाली, कोरिया र जापानको अन-अराइभल भिसामा रोक लगाइएको  छ। 

यसअघि आइतबार बसेको ओली मन्त्रिपरिषद्को बैठकले अन-अराइभल भिसामा रोक लगाउने निर्णय गरेको थियो । तर, त्यसलाई पछि सच्चाएर  कोरोना संक्रमणबाट प्रभावित मुलुकको भिसा जारी गर्न कडाइ गर्न निर्देशन दिएकाे बनाइयो ।

त्यही निर्देशनका आधारमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर गृहमन्त्रालयले हाललाई पाँच देशका लागि मात्र अनअराइभल भिसामा रोक लगाउने निर्णय गर्यो।सुरूमा मार्च ७ देखि लागु गर्ने भनिएको थियो त्यसलाई पनि सारेर मार्च १० बनाइएको छ । 

यसैगरी अध्यागमन विभागले ती देशबाट नेपाल भ्रमण गर्न चाहनेले स्वास्थ्य परीक्षणको रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली नियोगमा भिसाका लागि आवेदन दिन आग्रह गरेको छ। स्वास्थ्य परीक्षणको रिपोर्टको आधारमा भिसा जारी गर्ने नगर्ने सम्बन्धित नियोगका अधिकारीले नै निर्णय गर्ने पनि जनाएको छ।

प्रकाशित मिति: : 2020-03-03 21:28:10

प्रतिकृया दिनुहोस्