राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट एमी क्लोबुसर पछि हटिन्

राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट सिनेटर एमी क्लोबुसर पछि हट्ने भएकी छन्। मिनेसोटा सिनेटर एमीले ‘सुपर ट्युसडे’ का रुपमा लिइएको १४ राज्यमा हुने ककस पूर्व उम्मेदवारको होडबाट बाहिरिने निर्णय गरेकी हुन्। 

सिनेटर एमीले चार राज्यमा भएका प्राइमरी ककसमा खासै राम्रो गर्न नसकेपछि होडबाट बाहिरिने निर्णय गरेकी हुन्। शनिबार साउथ क्यारोलाइनामा भएको ककसमा पूर्व उपराष्ट्रपति जो बाइडेन विजयी भएका थिए। मेयर पिट् चौथो स्थानमा आएका थिए। एमी छैटौँ स्थानमा आएकी थिइन्।

५९ वर्षकी सिनेटर एमीले जो बाइडेनलाई आफ्नो समर्थन दिने तयारी गरेकी छ्न। अब एमी टेक्सासको डालासमा हुने र्‍यालीमा उपराष्ट्रपति बाइडेनको समर्थनका लागि सहभागी हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

एमीले इन्डियानाको साउथबेण्डका पूर्व मेयर पिट् बुटजजको मार्ग पछ्याएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ। आइतबार मात्रै मेयर पिटले उम्मेदवार बन्ने होडबाट बाहिरिएको घोषणा गरेका थिए।

मंगलबार डेमोक्र्याटहरुले १४ राज्यमा आफ्नो उम्मेदवार चयनका लागि मतदान गर्दै छन्। 

बाइडेलाई समर्थन गरेर उनीहरु समाजवादी सिनेटर बर्नी सान्डर्सलाई रोक्ने प्रयासमा छन्। पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनका सुरक्षा सल्लाहकार सुसन राइसले बाइडेनलाई समर्थन गरेका छन्।

मेयर पिट् तथा सिनेटर एमी बाहिरिएसँगै आउँदो नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने होडमा डेमोक्र्याटिक पार्टीमा अब पाँच आकांक्षी छन्।

बाइडेन र सान्डर्ससँगै सिनेटर एलिजाबेथ वारेन, न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग तथा सांसद तुलसी गाबर हाल चुनावी होडमा रहेका छन्।

 

प्रकाशित मिति: : 2020-03-03 20:14:31

प्रतिकृया दिनुहोस्