अमेरिकामा तीव्रगतिमा फैलिदैं कोरोना भाइरस संक्रमण : एकसय संक्रमित, ६ को मृत्यु

अमेरिकामा कोरोना भाइरस प्रकोपबाट मर्नेको संख्या ६ पुगेको छ। मर्ने सबै वासिङ्टन राज्यको बासिन्दा भएको जनाइएको छ। तीमध्ये पाँचजना किङ काउन्टीअन्तर्गत सियाटलका बासिन्दा हुन् भने एकजना स्नोहोमिस काउन्टीका बासिन्दा भएको पुष्टी गरिएको छ।

शनिबार सियाटलमा कोरोना भाइरसबाट मर्ने पहिलो अमेरिकी पाइएको थियो । त्यसयताका तीन दिनमा अरू पाँचजनाले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म एकसय अमेरिकी नागरिक कोरोना भाइरसका शिकार भएको नयाँ तथ्यांक बाहिरिएको छ। तीमध्ये ४४ जना जापानमा, तीनजना चीनमा संक्रमित भएका थिए भने ५३ जना विरामी अमेरिकामै भेटिएका हुन्। अमेरिकाको क्यालिफर्निर्यामा, वासिङ्टन, एलिनोय, फ्लोरिडा,ओरेगन, रोड आयल्याण्ड, एरिजोना, मासाचुसेट्स, न्युयोर्क र विस्कन्सिन राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

अमेरिकामा योभन्दा धेरै ठूलो संख्यामा कोरोना भाइरसका विरामी भएको हुन सक्ने अनुमान गरिएको छ। 

अहिलेसम्म विश्वका विभिन्न देशमा तीनहजारभन्दा बढी मानिसको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ८८ हजार नाघेको बताइएको छ।

विश्व स्वास्थ्य संघले संसारभर स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । 

प्रकाशित मिति: : 2020-03-03 18:51:33

प्रतिकृया दिनुहोस्