डा. ज्ञवालीको नेतृत्वमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण तयारी, ‘व्याकअप’ मा डा. अनन्तकुमार (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको युरोलोजी विभागका शल्य चिकित्सक डा. प्रेम ज्ञवालीको नेतृत्वमा गर्ने तयारी भएको छ। 

१२ वर्षअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दुवै मिर्गौलाले काम गर्न छाडेपछि दोस्रो प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। उनको पर्सि फागुन २१ गते बुधबार पुनः प्रत्यारोपण हुनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रत्यारोपणको कार्य नेपाली चिकित्सकको नेतृत्वमा हुने छ। ‘व्याकअप सपोर्ट’ का लागि यसअघिको प्रत्यारोपणमा संलग्न चिकित्सक पनि हुनेछन्। 

‘व्याकअपका लागि उहाँको पुरानो शल्यक्रियामा संलग्न चिकित्सकहरू आउनु एउटा कुरा हो। नेपालका अनुभवी चिकित्सक, नेपालको उपकरणमै उहाँको प्रत्यारोपण हुने हो’, प्रेस सल्लाहकार थापाले बिएल नेपाली सेवासँग भने, ‘ब्याकअपका लागि विभिन्न सरसहयोग गर्ने कुरा त हुन्छ नै। डा. प्रेम ज्ञवाली, डा. दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारी लगायतको टोली हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राध्यापक डा. अनन्तकुमारसहित दुई विशेषज्ञ चिकित्सक पनि नेपाल आइसकेका छन्। 

कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण देशमै गर्न पाउनु गौरवको कुरा हो।’ 

अस्पताल स्रोतका अनुसार, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी नातामा भाञ्जी पर्ने समीक्षा संग्रौला ज्ञवाली सोमबार दिउँसै अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएर तयारी अवस्थामा छिन्। 

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीमा डा. ज्ञवालीको नेतृत्वमा डा.उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा सुवाश आचार्यलगायत छन्। डा. अरुण सायमिले पनि आवश्यक सहयोग गर्ने छन्।

उक्त टोलीमा दुई जना एनेस्थेसियासम्बन्धी विशेषज्ञ चिकित्सक र आठ जना परिचारिका तथा स्वास्थ्यकर्मी खटिने बताइएको छ। 

प्रधानमन्त्री ओली उपचारका लागि अस्पताल भर्ना हुने समाचारसँगै सोमबार दिउँसैदेखि शिक्षण अस्पतालमा शुभेच्छुक र सञ्चारकर्मीको भिड लागेको थियो। सुरक्षाका लागि शिक्षण अस्पताल परिसरमा सुरक्षाकर्मी पनि तैनाथ थिए। प्रधानमन्त्री ओली मिर्गाैला प्रत्याराेपणका लागि साँझ सवा ६ बजे अस्पताल परिसरमा प्रवेश गरेका थिए। 

प्रकाशित मिति: : 2020-03-03 08:03:50

प्रतिकृया दिनुहोस्