डा. अनूप सुवेदी
विगत १०–११ दिनमा नयाँ कोरोना भाइरसको संक्रमणको विश्व परिदृश्य फेरिएको छ । सुरुदेखि नै जनस्वास्थ्यविद्लाई चीन र अन्तर्राष्ट्रिय समुदायका अनेकन् प्रयासका बाबजुद १७ वर्षअघिको सार्स कोरोना भाइरसलाई झैँ नयाँ कोरोना भाइरसमाथि काबु पाउन सकिँदैन कि, कतै यो विश्वव्यापी महामारी हुने हो कि भन्ने शंका थियो । अब आएर त्यो शंका वास्तविकतामा परिणत भएको छ । यो विषाणु दक्षिण कोरिया, इटली, जापान र थुप्रै नयाँ देश र नयाँ महादेशमा केही दिनमै आश्चर्यजनक गतिले फैलिएको छ । अमेरिकामा पनि संक्रमण फैलिएका कुनै देशबाट नआएका वा तिनको सम्पर्कमा नआएका व्यक्तिमै ‘स्थानिक’ संक्रमण भेटिएको छ । चार महिनामा ओलम्पिक खेल आयोजना गर्ने तयारी गर्दै गरेको जापानले त विद्यालय नै बन्द गरिसक्यो ।
नेपालका लागि सबैभन्दा सान्दर्भिक उदाहरण भने इरान हो । पहिले यो विषाणुको संक्रमणको एउटा पनि समाचार नआएको इरानमा एक्कासि दुईजनाको मृत्यु भएको खबर आयो । शनिबार बिहानसम्म इरानमा ३४ जनाको मृत्यु भइसकेको छ र तीन सय ८८ जनामा संक्रमण भइसकेको जनाइएको छ । अनि इरानीलाई आश्वस्त पार्न बोलाइएको पत्रकार सम्मेलनमै सहायक स्वास्थ्यमन्त्री यही संक्रमणले नराम्ररी बिरामी भएको देखिएको र अब त उपराष्ट्रपति नै बिरामी देखिएपछि परिस्थितिको गम्भीरता आकलन गर्न गाह्रो छैन । विषाणुबारे हालसम्म उपलब्ध जानकारीका आधारमा अनुमान गर्न गाह्रो छैन कि इरानमा सम्भवतः दशौँ हजारमा यो संक्रमण फैलिइसकेको छ ।