गरिब देशका धनी नेताको तामझाम!

हरि थापा

काठमाडौं

नेता, मन्त्री, प्रधानमन्त्रीलाई अब विचरा भन्नुपर्ने दिन आयो। यो सबको पछाडि कारण एउटै छ अनावश्यक तामझाम।

जनताको मन जित्न ठूलै युद्व जित्नु पर्दैन। ग्रामिण भेगका जनतासँगै बसेर प्रधानमन्त्रीले एक छाक खाना खाएदिए पुग्छ। त्यती बेला प्रधानमन्त्रीको फोटो पोलपोलमा होइन घरघरमा टाँसिन्छ।

तर पछिल्लो समय नेताहरूको अनावश्यक तामझाम देखेर जनताहरू वाक्क दिक्क छन्। यस्तो दिन आयो कि कुनै नेताको जन्मउत्सव र मृत्युको कठिन परिस्थितिमा पनि पुष्पगुच्छा र मृत्यको समवेदना दिन मन नहुन थाल्यो।

भोट माग्न चप्पल लगाएर हजुर भन्दै गएकाहरू जितेपछि अगाडि पछाडि लवालस्कर लिएर उस्तै परे हेलिप्याड नभए दर्जनौ गाडी लिएर हिँड्छन्। फेरि पदच्यूत भएको दिनदेखि त सबै सेवा सुविधा सकिन्छ अनि त्यति बेला त थ्रेट पनि हुँदैन रहेछ।

अचम्म यहि हो जब पदमा पुगेर काम देखाउने बेला तामझाम देखाउँदै ठिक्क हुन्छ। यही प्रवृति प्रति जनताको वितृष्णा बढेको हो।

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ जन्म दिनमा पनि आलोचित भए। उनको तामझाम विरूद्ध सामाजिक सञ्जाल तातियो। आफ्नै दलका नेताले समेत देशलाई केक बनाएर टुक्रा टुक्रा बनाएको आरोप लगाए।

आफ्ना प्रिय पात्र गोकुलको ७० करोड वार्गेनिङले विवादमा परेका प्रधानमन्त्रीलाई थप केक प्रकरणले थप विवादित बनायो।

आजकल सामाजिक सञ्जालका खबर नेपालीले मात्र पढ्दैनन् विश्व भरिका मानिसहरुले के लेख्यो भनेर पढ्छन्

हेलिकप्टरबाट चाटर्ड गरि केक ल्याईयो भन्ने समाचार यत्रतत्र सर्वत्र देखियो। जन्म उत्वस मनाउन गाउँ जानु भयो सही हो। तर, हेलिकप्टरमा नै किन केक चाटर्ड गर्नुपर्‍यो? उता कयौं महिलाहरू सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्दासम्म उपचार अभावमा छटपटाइरहेका हुन्छन्, यता देशका अभिभावक आफ्नै तामझाममा व्यस्त रहँदा आलोचित नभएर के हुन्छ त?

नेपाली कति गरिब छन् थाहा छ? सिंहदरवारको आसपास, राजधानीको आसपास र केही जिल्लाका शहरलाई छाडेर हेर्ने हो भने हाम्रो देश अमेरिकाको रफ्तारमा विकास भएको छैन।

प्रतिशतमा भन्न सक्ने परिस्थिति त छैन। केही तथ्याङ्कहरू हेर्ने हो भने मेरो छिमेकी जिल्ला अझ भनौं राजधानीको सबैभन्दा नजिकको जिल्ला सिन्धुपाल्चोकलाई मात्र नियाल्ने हो भने पनि देशको हविगत छर्लङ्ग देखिन्छ। अनि एक वित्ताको टालोले एक मिटरको भ्वाङ छोप्न खोजेर सम्भव हुन्छ?

आजको दिनमा पनि सिन्धुपाल्चोक उजेलीको गाउँका बच्चाहरु स्कुल जान सक्दैनन्। बालबालिका खाली खुट्टा हिड्छन्। मोबाईल के हो? प्रविधि के हो? टेलिभिजन के हो? ईन्टरनेट के हो। मिठो खान के हो? यात्रुवाहक बस् के हो?  मोटरसाईकल के हो? उनिहरुले बाहिरको संसार शहरको रमझम देखेकै छैनन्। गरिवको हालत यस्त‍ो छ।

विजय कुमार पाण्डेले एउटा भिडियो गरेर पोष्ट गर्नुभयो। त्यो ठाउँमा मानिसहरुले पहिलो पटक गाडी देखेका अरे।

यी सबै कुराबाट बन्चित हुनुको पछाडि गरिबी हो। ती गरिव मानिसलाई देशको परिस्थिति राजनीति, कुटनीति कुनै नीतिको वास्ता छैन।

सिर्फ दुई छाकको पिर छ। जनताको अपेक्षा नुनको छ, सरकार नुन बाड्न सक्दैन। तर, सुन बाढ्ने आश्वसन दिन्छ। नुनको आवश्यकता महशुस गरेका जनताले सुन के हो चिन्दैनन् दिए पनि लिदैनन्।

सुचाङ्कले धेरै माथि देखाउँला यथार्थमा मानिसहरुलाई खाना, नाना र छानाको अझै पनि धौधौ छ। उनीहरुलाई न देशको वारेमा थाहा छ। न त प्रधानमन्त्री को छ, राष्टपति, सभामुख, मुख्य सचिव आफ्नो क्षेत्रको जनप्रतिनिधिसमेत चिन्दैनन्।

यति सरल र सोझा टिठ्लाग्दा स्वभावका जनता सायद यो धर्तिले कहिल्यै पाउँदैन। त्यति ज्ञानी छन नेपाली जनता।

उनिहरु सिर्फ दुई छाक टार्नमा व्यस्त छन्। आज खाए भोलि के खाने यस्तो परिस्थितिमा गुज्रिएका जनताको आवाज कसले सुन्दिने। तिनै गरिब जनताको भोट लिएर सत्तामा पुगेकाहरुको तामझाम देख्दा के लाग्दो हो उनीलाई?

मधेसका जनताको जिवनस्तर हेरौ, अनि त्यहाँको नेताको दुई दशक यतालाई नियाल्ने हो भने अहिलेका जति पनि नेता छन् तिनको लवाई खवाई पछाडि फर्केर हेर्दा जीवनस्तर कस्तो थियो कस्तो भएको छ।

मूल्याङकनको मापदण्ड नै नेताको जीवनस्तर, शैली र तामझामले छर्लङ्ग पारेको छ।

करोड, अरब, खरबपति नेताको देशमा एक छाक खान धौधौ परेको दृष्य हेर्नु पर्दा कति लाजमर्दो हुन्छ।

देशमा भ्रष्टचार हुने रकम मात्र गरिबको झुप्रोमा पुग्ने हो भने जनताको स्थर निकै माथि आउने थियो। आज देश निकै विकसित भईसक्यो भन्नेहरुले सिन्धुपाल्चोकको गाउँ, दोलखा रामेछाप गएर बुझे हुन्छ।

उनीहरुको अपेक्षा देश समृद्धि हैन छोरा छोरी कसरी पढाउने, किताव कापी कसरी किन्ने, कसरी छाक टार्ने भन्ने छ।

राजधानी नजिकको यी जिल्लाको हविगत हेरेर देशको समग्र विकास कस्तो छ जनताको अवस्था कस्तो छ उनिहरुको अपेक्षा के छ ऐना जतिकै छर्लङ्ग देखिन्छ।

सुदूरका जिल्लाको हालत के होला राजधानीमा सुनको व्यापार फस्टाउँछ। तर, ती जिल्लामा नुनको व्यापार पनि चकनाचुर छ।

अहिले भएको यस्तै हो। जनताको अपेक्षा नुनको छ नेताहरु सुनको डेलिभर गरिरहेका छन्।

जुन दिन नेपालीको घरमा नुनको अभाव हुँदैन। बालबालिकाहरू कुपोषित हुँदैनन्, दुई छाक टन्न खाएर आनन्दले स्कुल पढ्न जान पाउँछन्। पानी परेको बेला ओत लाग्ने सुत्दा पानी नचुहिने झुपडी जुन दिन आम जनताले बनाउँछन् अनि त्यो घरमा विजुली पुगेर ईन्टरनेट सुविधा टेलिभिजनको व्यवस्था भएको दिन देशका प्रधानमन्त्रीको जन्म दिन परेछ भने आम जनताले उत्सव मनाएर शुभकामना दिने छन्।

अन्तत: सेवा सुविधा अमेरिकाको लिने। तर, जनताको अपेक्षा अनुरुप काम नगर्नेलाई जनताले नै नराम्रोसँग पछार्छन्, पिर नेताको सेवा सुविधाको होइन त्यत्रो सेवा सुविधा लिए वापत जनताको लागि के गरे भन्ने विषय महत्वपूर्ण हो।

जनप्रतिनिधि भईसकेपछि भ्रमण उद्घाटन रमझम  हाईफाई जिन्दगी विताउने सिन्को नभाच्नेलाई जनताले नै पछार्छन् भन्ने कुरा भुल्नु हुदैन्।

यो देशमा नेताले धेरै पटक जिते, जनताले जसोतसो जिताए। अब नेताको जित होइन जनताको हुनुपर्छ। नेताले जिते देश सखाप हुन्छ जनताले जिते समृद्धि।

प्रकाशित मिति: : 2020-02-29 23:56:00

प्रतिकृया दिनुहोस्