तिमी शब्द आफैंमा नराम्रो होइन, तर बोल्नेले कसरी बोल्यो भन्ने महत्वपूर्ण हुन्छ।
कुरा कालिकोट जिल्लाको एक स्थानीय तहको हो। त्यहाँका वरिष्ठ व्यक्तिहरूसँग कुराकानीको अवसर मिलेको थियो।
मैले सबैलाई नमस्कार गरेँ। ब्याग राखेर बस्न नपाउँदै कतैबाट आएको आवाज सिधै कानमा ठोक्कियो, ‘ओहो तिमी! यता कता आयौ?’
ब्याग राखेर पछाडि फर्कें।
उनीसँग आजभन्दा चार वर्षअघि कामकै सिलसिलामा चिनजान भएको थियो। त्यस बेला ‘तिमी’ सम्बोधन थिएन।
मैले आफ्नो सबै परिचय दिन नपाउँदै अर्को वरिष्ठ व्यक्तिबाट प्रश्न आयो, ‘नानी तिम्रो घर कता?’
मैले सबै प्रश्नको जवाफ दिन उचित ठानिनँ। म आफ्नो कामको कुरातिर लागेँ।
म त्यहाँ जनप्रतिनिधिहरूलाई तीनदिने तालिम दिने प्रशिक्षकका रूपमा पुगेको थिएँ। त्यो पनि बाल विवाह र बाल अधिकारका सवालमा।