विद्यालय छिमेकी गाउँमा छ। बिहान कान्छो भाइ सुमनलाई विद्यालय पु-याउने र बेलुका घर ल्याउने उनको आफू पनि विद्यार्थी बनेर कक्षा कोठामा बस्ने र पढ्ने रहर भने सपनाजस्तै भएको छ। विद्यालय गएर पढ्नुपर्ने उमेरकी उनको बाँकी समय घरधन्दा, मेलापात र गाईबाख्रा चराउन बनपाखा जाँदैमा बित्छ। उनी हुन् तलकोट गाउँपालिका–५ भक्तपुरकी ११ वर्षीया काली विक।
भाइले स्कुल गएर पढ्दा आफू भने घरधन्दा र मेलापातमा सीमित हुनुपरेको गुनासो गर्दै उनले भनिन्, ‘ओखल (ढिकी) मा धान कुट्ने, खाना पकाउन आमालाई सघाउनेदेखि गाईबाख्रा चराउने र मेलापातसम्मका काम गर्छु। विद्यालय जान्छु भन्दा आमाबाबुले छोरीले पढ्ने भन्दा घरधन्दा गर्न जानुपर्छ, घरको काम नजाने ठूलो भएपछि बिहे गरेर पराइ घर जाँदा दुःख पाइन्छ भन्नुहुन्छ। पढ्न पाए ठूलो मान्छे बनेर गाउँको सेवा गर्ने मन थियो। मैले चाहेर पनि विद्यालय पढ्न जान पाइनँ।’ उनका भाइ बोर्डिङ स्कुल सेती साइपाल एकेडेमीमा कक्षा १ मा पढ्छन्।