अधिकांश युवा पैसा कमाउने धुनमा विदेशिने गरेका छन्। कहानी आ–आफ्नै हुन सक्छ। कोही रहरले विदेश भासिँने गरेका छन् भने कसैको बाध्यता छ। यिनै युवाहरुको भिडमा स्याङ्जाको बिकट गाउँ उमाकोटमा जन्मिएका टिआर गौडेलको पनि कहानी लुकेको छ।
उनी डेढ दशकअघि आमा–बुबाको खुशीका लागि एकलाख ५० हजार रुपैयाँ गाउँकै एकजना साहुसँग सापटी लिएर दलालमार्फत युनाइटेड अरब इमिरेट्सको दुबई उडेका थिए।
काठमाडाैंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मरुभूमिको देश पुग्दासम्म उनको आँखामा ठूला सपना थियो। तर, त्यहाँ पुगेपछि उनी धेरै कुरा सोच्न बाध्य भए। दलालले भने जस्तो काम दुबईमा नपाएपछि उनी खाली झोला बोकेर पुर्पुरोमा हात राख्दै ४ महिनामै देश फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगर्दासम्म उनलाई घर कतिबेला फर्किने भन्ने ध्याउन्न मात्र थियो।
याे पनि: चीनको बिआरआईलाई काउन्टर दिन एमसीसी आएको हो?
तर, विमानस्थलबाट बाहिर निस्किएपछि अन्योलमा परे। घर फर्किउ भने साहूसँग लिएको डेढ लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता, नजाउ भने खाना राम्रोसँग नखाएकै थुप्रै दिन बितिसक्यो!
यही अन्योलताका बीच उनी बालाजुस्थित एउटा होटलमा साथीसँगै सुत्न गए। गोजीमा सुको थिएन। उनीसँग भएको साथी भोलीपल्ट घर फर्कियो। तर, गौडेलको भारी मनले घर जान मानेन।
उनी काठमाडाैंमा केही साथीसँग सापटी लिँदै गरुङ्गाे मन बनाएर बालाजु बसपार्क हुँदै भारतकाे मुम्बई लागे। मुम्बईमा पनि सुरुवाती दिनमा उनले कसैले नभाेगेकाे दु:ख पाए। तर, गाउँमा साहुसँग लिएकाे ऋणले उनलाई घाेचिरह्याे। केही वर्ष उनले खाना ख्वाउने हाेटलमा काम गरे।
नेपालमा हुँदा उनी स्याङ्जास्थित वालिङ्गमा १२ कक्षा पढ्ने क्रममा राजधानी पत्रिकामा पनि काम गर्थे। पत्रिकामा लेख लेखेकै आधारमा उनलाई तत्कालिन माओवादीले धम्की दिइरहन्थ्याे। वास्तवमा उनी वैदेशिक राेजगारीका लागि ऋण बाेकेर दुबई पलायन हुन खाेज्नुकाे मुख्यकारण पनि यही थियाे। उनले नेपालमा केही समय गरेकाे पत्रकारीता भने मुम्बई पुगेपछि काम लाग्याे।
‘मुम्बईमा अहिले पनि नेपालीमूलका केहीले नेपाली पत्रिका प्रकाशन गर्ने गर्छन्। म मुम्बईमै हुँदा एउटा पत्रिकालाई नेपाली लेख्ने पत्रकारकाे आवश्यकता परेछ। मैले पत्रिकाकाे कार्यालयमा फाेन गरे। आफ्नाे अनुभव सुनाएपछि पत्रिकाले काम दियाे,’ गाैडेल विगतमा फर्किए। उनले पुन: पत्रकारितामा फर्किने निर्णय गर्नुकाे पछाडि–मायानगरी मुम्बईमा फिल्म लाइनमा काम गर्ने बलिउड स्टार कलाकारलाई भेट्ने इच्छा पनि थियाे।
याे पनि: कसरी जन्मियो एमसीसी? किन काम गर्दैछ नेपालको ऊर्जा र सडक क्षेत्रमा ? (भिडियाेसहित)
गाउँमा सानाेमा फिल्म हेर्दै हुर्किएका गाैडेल काँचकाे पर्दामा देखिने बलिउड नायक–नायिकालाई प्रत्यक्ष भेट्न चाहन्थे। यही लाेभले उनले कम पैसामा भएपनि पत्रिकामा काम गर्ने निधाे गरेका थिए। पत्रिकामै काम गर्ने सिलसिलामा उनकाे अभिरुची फिल्मलाइन तर्फ माेडियाे। वास्तवमा उनलाई बलिउडमा काम गर्न उत्प्रेरणा दिने व्यक्ति थिए, गाउँकै लाेकराज पाण्डे। उनी मुम्बईमा जमिसकेका थिए।
‘मलाई फिल्ममा काम गर्ने भए एडिटिङकाे काम सिक। राम्राे हुन्छ भनेपछि सिक्न थाले’, उनले विगत सुनाए। वास्तवमा एडिटिङ सिकेकै कारण उनले बलिउडकाे चर्चित फिल्म प्रोडक्सन हाउस बालाजीमा काम गर्ने अवसर पाए। ‘मुम्बईमै हुँदा मैले बालाजी प्राेडक्सनबाट निर्माण भएका थुप्रै चर्चित टेलिफिल्म र रियालिटी शोमा काम गर्ने अवसर पाएँ,’ उनले भने– ‘यसमा बलिउडका मेगास्टार अमिताभ बच्चनले सञ्चालन गर्ने गरेकाे ‘कौन बनेगा करोडपति’ जस्ता ठूला कार्यक्रम पनि थिए।’
याे पनि: शहीद स्मारक लिग–२०७६ चिरफार: खाली मैदानमा म्याच फिक्सिङदेखि रंगभेद टिप्पणीसम्म
मुम्बईमा पूर्णव्यवसायिक भएपछि कामकै सिलसिलामा उनलाई जापान जाने अवसर प्राप्त भयो। ‘बालाजी प्राेडक्सनमा काम गर्दा कमाएकाे पैसा पनि थियाे। घरकाे ऋण तिरे’, उनले भने।
जापान पुगेकाे केही समयपछि उनी नेपाल फर्किए। जापानकाे छाेटाे बसाईंकै क्रममा उनले बुझिसकेका थिए, व्यवसायका लागि जापान उत्तम ठाउँ हाे। अब उनकाे गन्तब्य माेडियाे। उनले जापान जाने निधाे गरे। आज पनि उनी जापानस्थित ओसाका शहरमा तीनवटा नेपाली रेस्टुरेन्ट चलाएर बसेका छन्। उनले आफ्नाे रेस्टुरेन्टमा नेपालीलाई राेजगारी पनि दिएका छन्।
‘अहिले निकै राम्राे छ’, उनले भने। जापानमा उनकाे व्यवसाय फस्टाएकाे छ। त्यसैले अहिले मुम्बईमा बस्दा सिकेको शीप र अनुभव सदुपयोग गरिरहेका छन्। वर्षमा एक–दुई पटक नेपाल फर्किने उनी हिजाेआज बेलाबेलामा फर्किन्छन्। र देश फर्किएकाे बेला केही नयाँ र नाैलाे काम गरिरहेका हुन्छन्।
याे पनि: कोरोनाले नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलन प्रभावित, ४ सयकाे बुकिङ रद्ध
सामाजिक काममा समेत उनकाे अभिरुची छ। केही समयअगाडी घर फर्किएकाे बेला उनले आफूले पढेको सानाेमा पढेकाे गाउँको बिद्यालयलाई पुस्तकालय लगायतको सहयोग प्रदान गरेका थिए। उनी बलिउडमा सिकेको तर गर्न नभ्याएको रुचिको काम ‘सर्ट मुभी’ मा पनि हात हालिरहेका छन्। हालै उनले निर्माण र निर्देशन गरेको छोटो फिल्म ‘वान हन्ड्रेड रुपिज’ करिव ७ वटा देशकाे फिल्म फेस्टिबलमा छनाेट हुन सफल भएकाे छ।
६ महिनाअघि निर्माण गरिएकाे उक्त फिल्म कोरियास्थित सिओल फेस्टिभल, भारतको जयपुर फिल्म फेस्टिभललगायत हालै अमेरिकाको न्युयाेर्क क्वीन वर्ल्ड फेस्टिभलमा समेत छनाेट भएकाे छ। उनको जीवनको लक्ष्य भनेको निकट भविष्यमा राम्रो नेपाली फिल्म निर्माण तथा निर्देशन गर्ने छ। नेपालमा सुरु भएकाे निफमा पनि उनकाे फिल्म प्रदर्शन गर्न लागिएकाे छ। उनी आफ्नाे आगामी याेजना सुनाउँदै भन्छन्,‘केही समयपछि फिल्म प्रदर्शनको लागि अमेरिका जान्छु हाेला।’