गोलघरमा चेस र बाघचाल प्रतिस्पर्धा गर्दै शोभराज र गोरे

विशेष सुरक्षा फोर्स माग्दै अस्पताल जान मानेनन् शोभराज, प्रजातन्त्र दिवसमा जेलमुक्त गरिदिन माग

नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ । 

शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् । 

उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ । गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् । 

प्रकाशित मिति: : 2020-02-16 22:46:33

प्रतिकृया दिनुहोस्