सधै जसो चार बज्ने बित्तिकै राजको फोन आउँथ्यो। राज पेसाले डक्टर हो। चार बजेसम्म राज सरकारी हस्पिटलमा व्यस्त हुन्थ्यो। अरु समय ऊ मेडिकलमा हुन्थ्यो। प्राय रातिसम्म पनि उतै बस्थ्याे। उस्लाई सधै जसो भ्याई नभ्याई हुन्थ्यो तर एकछिन् समय पायो कि ऊ मसँग बोल्न हतार गर्थ्याे।
एक दिन चार बज्ने बित्तिकै राजले फोन गरेछ। त्यो दिन मेरो फोन बिजी थियो। मेरो फोन बिजी हुने बित्तिकै उसकाे म्यासेज आउन थाले। 'दिउसो फोन किन अफ? ओई! अहिले कोसँग बिजी? हाेइन तिम्रो म भन्दा नजिकको मान्छे को छ हँ ? बिहान पनि फोन गरे केहि रेस्पोन्स नै छैन। गुड मर्निङ म्यासेजसम्म गर्न सकेनउ है ? म आज दिन भरि टोलाएर बसेछु। हस्पिलमा केहि काम गर्न सकिन।'
राजको म्यासेज देख्ने बित्तिकै मैले फोन काटे र हतारिदै कल ब्याक गरिहाले। यताबाट हेलो भन्नसम्म के भ्याएकी थिए ऊ त डाको छोडेर रोयो ........। म पनि भक्कानिएर रोए केहि बोल्न सकिन। एकै छिन दुबै मोन बस्याैं। एक मनले साेचिहाले उस्लाई जसरी पनि आज भेट्छु । एकछिन् पछि फोन गरेर भने ललितपुको लविम महल आउ है म पनि त्यहि आउछु। आज्ञाकारी बच्चाले जस्तै हस् भन्दै फोन राख्यो। राजको सबै भन्दा मनपर्ने ठाउँ लविम महल नै हो। म पनि त्यहाँ जान भनेपछि हुरुक्कै हुन्छु। राज कफि भनेपछि मरिहत्ते गर्छ। मलाई पनि कफि एकदमै मनपर्छ।
प्रायजसो हम्रो भेट्ने ठाउँ लविम महल नै हो। म हतारिदै कोठाबाट निस्किहाले। भक्तपुरको पेप्सिकोलामा आएर २० मिनेट कुरेपछि नेपाल यातायात आयो। सहचालकले बानेश्वर, जावलाखेल, ..... भनिरहेको थियो। बस त आयो तर खुट्टासम्म राख्ने ठाँउ थिएन। जेनतेन बसमा चढें। बिस्तारै बस अघि बढ्दै थियो। एक घण्टा लाएर म लविम महल पुगे। त्यहाँ आएर राज घोप्टो मुन्टो लगाएर बसिरहेको थियो। डराउँदै सोधे कति बेला आयौ ? भुँइतिर हेरेरै रुन्चे स्वरमा जवाफ दियो, 'यस्तै आधा घण्टा भयो। म बोलौ कि नबौलौ मेरो मनमा आन्तरिक द्वन्द्व चलिरहेको थियो। मलाई देख्ने बित्तिकै खुशीले नाच्ने ति नयन आज एकाएक मलिन् र निरास छन्। यस्तो ठुलो अपराध के नै गरेकी छु ? एक मनले सोचे उसकाे मायालाई बुझिनछु।
फेरी उस्को अनुहारतिर हेरे धपक्क निभेको बत्ति जस्तो । मैले अमेरीकन कफि मगाए। सरी ल, गाँउ देखि आमाले फोन गर्नु भएको थियो। उसलाई मसँगबोल्न पटक्कै मन थिएन।
मैले जिस्किदै भने, 'कल डिटेल हेर्ने हो।'
'नाई पर्दैन।'
'अनि किन त अहिलेसम्म रिसाको ?'
'खै मलाई नै थाहा छैन।'
यत्तिकै मा कफि आयो। दुबै जनाले कफि लियाैं। किन किन ऊ मसंग खुल्नै सकेको थिएन्। झमक्क साँझ परेको हुनाले हामी अा-आफ्नो कोठामा गयाैं।
समय बित्दै गयो। म २२ वर्षकी थिए। घरमा चलेको बिहेको कुराले म पागल जस्तै हुन्थे। सधै जसो मनमा एक किसिमको डर भइरहन्थ्यो। तर राजलाई भन्ने हिम्मत कहिले आएन। राजको जन्म दिन भदौ १५ मा हामी पशुपति मन्दिरमा थियाैं। त्यहि समय मेरो अङ्ककले फोनमा भन्नु भयो। मेरो साथिको छोरा अष्ट्रेलियाबाट आउँदै छ। बिहेको लागि केटि हेर्ने रे भाेली भेट है। बाँकी कुरा पछि गर्छु। मैले केहि कुरा बोल्न नपाउँदै फोन काटिन्छ। मेरो अनुहारको रङ्ग नै फेरियो। उसले भन्यो, 'कस्लाई के भयो ?' तर म केहि बोल्न सकिन। राजले फेरी सोध्यो, 'के भयो हँ ?' उसलाई दिने उत्तर नै थिएन, मसँग। केहि बेर पछि हामी त्यहाँबाट छुट्टियौं।
कोठामा पुग्दा रातिको आठ बजेको थियो। कोठामा पुगेपछि के गरुम कसो करुम, छट्पटि भयो। यता राज सम्झन्छु। उता अङ्कले भनेको कुरा। केही खान मन लागेन। ओछ्यानमा पल्टिए। झन् छटपटि भयो। घडी हेरे रातको दश बजेको थियो। केहि समयपछि राजको फोन आयो काटिदिए। फेरि कल आयो उठाए अनि भने अङ्कलको फोन आएपछि मलाई के भयो भयो एकदमै छट्पटि मात्र भको छ। राजले सोध्यो, 'तेस्तो के कुरा हो ? भनन् पिलिज्।' गहभरी अाँशु भयो। म बोल्नै सकिन। फोन अफ गरेर फेरि ओछ्नमा पल्टिए। राजलाई सम्झिए। उसले के सोचेको होला ?? अब उ रात भरि कसरी सुत्छ होला ? भोलि अष्ट्रेलियाबाट आउने केटालाई भेट्नु कसरी ? फेरी नभेटे पनि उता घरबाट किचकिच गर्छन् होला।
उफ!!! के दिन आइलाग्याे।
फेरी कोल्टे फेर्छु यता राजको हालत के होला म बिना उ कसरी बाँच्छ फेरी उसकाे चोखो मायालाई लत्याएर म कसरी अर्कै केटासँग बिहे गर्ने ?
मनमा कुरा खेलाउँदा खेलाउँदै रातको २ बजिसकेको थियो। कति बेला निदाए थाहै भएन्। बिहान उठ्दा ७ बजेको थियाे। मोवाइल अन गरे। राजको म्यासेज आएको रहेछ। 'गुड मर्निङ्घ सानु। हिजो चार्ज सिकिएर होला है तिम्राे फोन अफ भको ? म केहि दिनको लागि थाइल्याण्ड जानु पर्ने भयो। वाँया हात दुखेको वर्षौं भयो। उतै चेकअप गराएर आउँछु। अनि मम्मि र बाबा पनि थाइल्यान्ड जानु हुन्छ मसँग। उता गएपछि त्यति बोल्न पाउदिन होला। तिमी आफ्नो ख्याल गर ल। बाई सि यु।'
'हस, शुभ यात्रा।' भन्ने म्यासेज पठाए र फोन अफ गरी बसे।
तीन दिन पछि मात्र फोन अन गरे त्यसपछि घरमा फोन गरे सबै जना ठिकै रहेछन्। एक छिन् पछि अङ्कलको फोन आयो हिजो अस्ति किन फोन अफ गरेकी, साथीको छोरा आउछ भेट्न भनेको होइन तलाई ? अङ्कलले ठुलठुलो स्वरमा भन्नु भयो। म डरले केहि बोल्न सकिन। अङ्कल एकछिन् फत्फताउनु भयो र रिसमै फोन काट्नु भयो। मनमा एक किसिमको तनाब भयो। ओहो आज तीन दिन भइसक्यो। झट्ट सम्झिए राज कहाँ होला ? के गर्दै होला ? हतारीदै फेसबुक खोले दुई घण्टा पहिले नै म्यासेज छोडेको रहेछ।
'सानु, मसँग एउटा ड्रिम थियो। धेरै इच्छा चाहानाहरु थिए। एउटा छुट्टै रङ्घिन संसार थियो। त्यो सबै चकनाचुर भयो। लेखेको हुन्छ देखेको हुदैन भन्थे हो रहेछ। थाईल्याण्डको गल्लि गल्लिमा म आँशु बगाउदै हिडिरहेको छु। यो झिलिमिलि सहर मेरो लागि नौलो र एक्लो छ। मेरो मन त नेपालमा छ। केहि दिनपछि म नेपाल आउँछु अनि सबै कुरा भेटेर भन्छु। आफ्नो किएर गर्नु। बाई सि यु।'
सानो सानो कुरामा पनि धेरै तनाब लिने र मलाई भन्न हतार गर्ने राजले आज किन एकाएक यस्ताे गुम्सिएकाे म्यासेज पठायो ? मनमा एक किसिमको त्रास र छट्पटि भयो। नत दिनमा भोक लाग्छ नत रातमा निन्द्रा नै लाग्छ। कोठामा रोएरै दिन बिताए। समय बित्दै गयो। झमम्क साँझ पर्दै थियो राजको फोन आयो। हेलो भन्न नपाउदै राजले भन्यो, 'भोलि भेट है तिमीसँग धेरै कुरा गर्नुछ। तर रुन पाउने छैनाै नी।' भोलि बिहान दश बजे भेट्ने बाचा सहित फोन राखे। बिहान उठ्दा ७ बजेको थियो। एकछिन् पछि कफि खाए।
राजलाइ भेट्न हतार थियो, यो मन। मनमा एकातिर खुशि थियो भने अर्कोतिर एक किसिमको डर थियो। के कुरा होला तेस्तो भेटेरै भन्नु पर्ने कि मेरो बारेमा कसैले केहि नराम्रोे कुरा पो गर्याे कि ? मनमा कुरा खेलाउँदै लविम महल पुगे।
एकछिन पछि राज मलिन अनुहार गराउँदै आयो। एक टकले एकै छिन् हेरिरहे मलाई। ऊ केहि बोलेन मैले सोधे के भयो तिमीलाई ? मेरो हातमा उसले हस्पिटलको रिपोर्ट थम्मायो। मलाई रिपोर्ट हेर्न आउदैन तिमीलाई के भयो त्यो ? भनन् पिलिज्।
उस्ले एक गिलास चिसो पानि खायो र लामो स्वाश तान्यो। मलिन अनुहार बनाउँदै भन्यो, 'मेरो मृत्यु मलाई थाहा भइसक्यो। मेरो हातमा क्यान्सरको रिपाेर्ट छ। जन्मको अर्थ मृत्यु हो म मृत्यु स्वीकार्न तयार छु। तर ........ कति दिन बाच्छु थाहा छैन्।' राजले यसो भनिराख्दा मैले पुलुक्क उसकाे अनुहारतिर हेरे। दुबै मौन भयौ। एकछिन् सन्नाटा छायो। राजको कुरा सुनिराख्दा मेरो शरीरबाट चिट्चिट्ती पसिना आइरहेको थियो। हात खुट्टा फत्तकै गलेर भुइमा ढलुला जस्तो भयो। मलाई त्यहाँ बस्न मन लागेन्। हामी आ-आफ्नो कोठा तर्फ लाग्यौं। रुम पुगे केही गर्न मन लागेन। राजलाई फोन गरे उस्को फोन अफ थियो। मनमा झन् छट्पटी बढ्यो। रुममा एक्लै थिए। ढोका थुनेर बेस्सरी रोय। केही गर्ने जागर थिएन्।
त्यो दिन् पनि तनाब मै बित्यो। भोलि पल्ट राजलाई फोन गरे फर्मल कुरा गर्याे। अनि फोन काट्यो। मनमा नाना थरिका कुरा खेल्न थाल्यो। फोनमा घण्टौं बोल्ने राज आज किन चेन्ज भयो? फेरी फोन गरे झर्किदै 'ओई कति फोन गरेकी पागल्नि। फोन राख' भन्दै फोन काट्यो। त्यो दिन देखि म कलेज जान छाडे, साथी भाइसँग घुम्न जान छाडे। घरपरिवारबाट पनि टाढा बस्न मन लाग्थ्याे। हरेक पल मरेर बाँचे। समय बित्दै गयो। एक महिना पछि राजलाई फोन गरे। पाँच पटकमा फोन उठायाे। उस्ले हेलो के भनेको थियो आँशुको बलेसी झर्याे। राजले एकाहोरो भनिरहेको थियो, 'तिमी मलाई फोन नगर। पिलिज् आफूलाई माया गर। मलाई माथिबाट मृत्युले हेरिरहेको छ। म तिमीलाई पिडा दिन चाहन्न। हिजो जो तिम्रो प्रेमी थियो, त्यो आज मृत्युसँग लडिराछ।'
ऊ एकाेहाेराे बाेलिरहेकाे थियाे। आजको दिनदेखि मलाई फोन नगर किनकि मलाई मेरो भन्दा पनि धेरै चिन्ता तिम्रो छ। सानु, म त मेरेर गइहाल्छु। त्यसपछि तिम्रो हालत के होला ? म बिना कसरी बाच्छौं होला ? तिम्रो जीवनमा आउने मान्छे कस्तो पर्ला ? त्यसैले मलाई बिर्सिदेऊ। आफूलाई माया गर।' भन्दै फोन काट्यो र फोनमा ब्लक गर्याे।
त्यसपछि म लामाे डिप्प्रेसको शिकार भए। लामाे उपचारपछि केही तिग्रिएकी छु। यहि बेला मलाई थाहा भयाे, राजले विदेशमा गएर आत्मा हत्या गरेछ। राजको आत्मा हत्याको खबर सुन्दा म केही बाेल्न सकिन। केबल टाेलाएर बसे। खास शब्दहरु नै कहाँ छन् र मसँग ?