सुन्दास पाँच दिदीबहिनीले बेदको ऋचा पढे। सबै दलित गैर दलित रोमान्चित बने। राणा र विश्वकर्माद्धारा परम्परागत मागी बिहे सम्पन्न भयाे।
आधुनिक समाजमा भित्रिएको यस्ता केही संयोग देख्न सुन्न पाएर मनुस्मृतिको त्यो समाज आज फड्को मारेर यहाँ सम्म आइपुगेको गर्भानुभूति हुँदै गर्दा यस्ता समाचार र घटना दुर्घटनाले आङ सिरिङ गराउँछ–पानी छोएको निहुँमा मना सार्की मारिइन्। बोक्सी आरोपमा, लक्ष्मी परियार शिक्षकद्धारा पिटाइ खाएर मृत्यु वरण गर्न पुगिन्। छाउ बसेकी अम्बा बोहोरा छाउगोठमा सर्पदंशको कारण मृत फेला परिन्। दहेज नपाएको झोकमा डाक्टर गुप्ताले श्रीमतीको हत्या गरे।
अरु कति घटना र दुर्घटना हाम्रो समाजमा घटिरहन्छ। यस्तो बेला यो समाजको एक सदस्य हुनुको नाताले लज्जाबोध र अमानवीय हर्कतको साझेदार जस्तै बन्नु पर्दा हाम्रो असभ्यताप्रति चरम घृणा पैदा हुन्छ। झन् भूक्तभोगी र अत्याचारको दलनमा सँधै पिसिएर इसा पूर्व २ सय वर्षअघि राजा मनुले स्थापना गरेको विभेदको नीति पचाएर, भोगेर आजको दिनसम्म उस्तै र सोही रित कायम हुँदा कति विद्रोह र घृणा जाग्दो हो?
याे पनि: अमेरिकाले यस कारण खोजेको हो, संसदबाट एमसीसीको अनुमोदन (भिडियोसहित)
यो पंक्तिकार केवल अनुभूति गर्न सक्छ। मान्छेलाई पशुभन्दा तल सम्झेर अति अमानवीय व्यबहार गर्ने मनुको सोच निन्दनीय छ। भलै तत्कालिन चेतना त्यस्तै थियो। पीडा र मर्मले आक्रान्त समुदाय आज पनि मान्छे हुन नपाउनुको दर्दले आक्रान्त छ। संसारमा जात, मान्छे र धर्म मानवता भन्दा ठूलो र महत्त्वपूर्ण कुरा अरु छैन। तथापि १९१० मा जंगबहादुरले राज्यको तर्फबाट तहगत वर्गीकरण गरेर छुवाछूतलाई कडाइका साथ अबलम्बन गरे।
औपचारिक रूपमा संस्थागत गरेको विभेदको नीति दलित अर्थात कथित शास्त्रमा वर्नित सुद्र जातिलाई पशुभन्दा तलको स्थानमा राखेर आफूलाई आधुनिक मानव र विज्ञानको विद्यार्थी र शोधकर्ता भन्न रुचाउछौं। समाज विकास क्रममा प्रचीनकाल, लिच्छविकाल हुँदै मल्ल कालमा राजा जयस्थिती मल्लले समाज सुधारको नाममा समाजमा मानवीय कलंकलाई अरु संस्थागत गरे भने जंगबहादुरले मानव सभ्यतामा कुठाराघात गरे।
मनुको वर्ण व्यवस्थादेखि १९१० सालमा मुलुकी ऐन नै बनाएर दलितलाई राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा शोषण र अपमानपूर्ण जीवन जिउन बाध्य पारिएको कुरालाई २०२० सालमा राजा महेन्द्रले छुवाछूत र विभेदविरुद्ध कानुन ल्याएर सम्बोधन गर्ने प्रयास गरेका थिए। तर आज गणतन्त्र प्राप्त भएको १२ वर्षपछि पनि समाजमा छुवाछूत कायम छ। दुर दराजको गाउँको कुरा अलग्गै छ तर देशको राजधानी काठमाडौंमा सांसद र न्यायाधीश दलित भएको कारण कोठा पाउन सक्दैनन्।
यो भन्दा ठुलो बिडम्बना दुर दराजका गाउँहरुमा छ। जहाँ सार्वजनिक धारा, पँधेरा , इनार र मन्दिर छोएको बहानामा मान्छे अपमानित बन्नुपर्छ, कुटाइ खानु पर्छ , कालोमसो, जुत्ताको माला लगाउनु र मर्नु पर्छ। यो देशमा विध्यमान सामाजिक विभेदविरुद्ध समाजको बौद्धिक वर्ग, प्राज्ञिक समूह, संस्कृतिविद्, लगायत राजनीति कर्मीको मौनता कुरिती मलजल हुने कटुु सत्य हो। राज्य आज पनि दलितको समस्याप्रति गम्भीर र संवेदनशील छैन।
त्यो नहुनुको कारण नै छुवाछूत र विभेदविरुद्ध कानुन बनेको यतिका वर्षपछि पनि समाज अझै बर्बर र बीभत्स हत्याहिंसामा उद्दत छ। दलित जातिले छुट्टै र विशिस्ट अधिकारको खोजी गरेका छैनन् बरु अरु मनुष्य बराबर समता र मर्यादा, स्वतन्त्रता र निर्बाध कानुनको पालना चाहेका हुन। मर्यादा र समताका भारतीय अगुवा डाक्टर भीमराव अम्बेडकरले भने झै हर मान्छेको परिचय केवल मान्छे हो। मान्छे मात्रै समता र मर्यादाको लागि काफी हुन्छ।
मान्छेहरु चरम विभेद र अन्यायको जाँतोमा पिसिएका छन्। देशमा थुप्रै पार्टी छन्, तिनको नेतृत्वमा कथित तल्लो जाति र उच्च जाति अनि पुरुषहरुको बाहुल्यता छ। सायद यही भएर पनि होला देशमा रहेका कुप्रथा र कुसंस्कारको सिकार दलित, निमुखा र महिला हुनु परेको छ। कस्तो बिडम्बना जो कमजोर छ, अनुहारमा पनि कथित परिभाषा अनुसार कुरुप छ, उही बोक्सा र बोक्सीको आरोपमा प्रताडित छन्। कालो मोसो लगाइन्छ, जुत्ताको माला पहिर्याइन्छ, गाउँ निकाला गरिन्छ र ज्यानसम्म हरण गर्न समाजको एक पक्ष तयार रहन्छ।
याे पनि: मेरो जन्म चित्रगुप्तले लेखे, मृत्य चै अदालतले लेख्नेभो- चन्द्रदेव
गरिब हुनु, अशिक्षित रहनु, कुरुप देखिनु अझ दलित हुनु बोक्सा, बोक्सी हुने योग्यता हो र ? कस्तो अन्यायपूर्ण मानसिकता बोकेर समाज विभेद र दलनमा उत्रन्छ र?के यी यावत समस्या राज्यको आफ्नो समस्या होइन? आधुनिक मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको दर्शन बोक्नेले आजसम्म बाँकी रहेको विभेद र अन्यायको हिस्सा आफ्नो हो भनेर स्वीकार अब गर्ने कि नगर्ने? एकलौटी शासन सत्तामा प्रगतिवादी चेत हुने हावी भएको दुई वर्ष पूरा भै सक्यो। यसबीच सरकारले कुन कार्यक्रम ल्यायो, जसले जातीय भेद लगायत अरु सामाजिक कुरिती अन्त्यको लागि प्रभावकारी कार्य गरेको होस्। राजा महेन्द्रले घोषणा गरेको मुलुकी ऎन देखि २०७५ भदौ १ मा लागु भएको नयाँ संहितामा कहाँ उल्लेख छैन र समानता, स्वतन्त्रता र अधिकारको कुरा ?
आज पनि लक्ष्मी, अम्बा, सुनिता, मना, अजित, मनिता दलित, छाउ, बोक्सीको आरोप र प्रताडना झेलेर मृत्युवरण गर्नुपर्छ।
मुलुकी ऐन २०२० ले जातीय भेदभावलाई दण्डनीय मानेको छ। नयाँ संविधानको धारा ४० मा मौलिक हक भनी दलितको हक र जातीय छुवाछुत र भेदभावविरुद्दको हक भनी धारा २४ मा लिपिबद्ध गरेको छ। हाम्रो संविधानले राष्ट्रिय दलित आयोगलाई संवैधानिक अंग बनाएको छ। जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ ले पनि कुनैपनि प्रथा, परम्परा, धर्म संस्कृति, रितिरिवाज या अन्य कुनैपनि नाममा जात जाति, वंश समुदाय वा पेशाका आधारमा कुनैपनि स्थानमा गरिने छुवाछुत , बहिस्कार, प्रतिबन्ध, निस्कासन, अबहेलना वा त्यस्तै अन्य मानवता बिरोधी भेदभाव जन्य कार्यलाई दण्डनीय मानेर जरिवाना कैद या दुवै सजायको व्यवस्था गरेको छ।
याे पनि: रारा : सके धेरैपटक, नसके पनि एकपटक
संविधान ऐन र कानुनमा लेखेर मात्रै यी समाजिक विकृति र विसंगति मेटिएर जाँदैनन्। यी कुप्रथाको जरो किलो उखेल्न समाजमा रहेको धार्मिक शासनको अन्त्य हुनु जरुरी छ। देशको कानुन भन्दा समाजको धार्मिक कानुन र अनुशासन बढी हावी छ। मनु स्मृति लगायत विभिन्न हिन्दु धर्मका ग्रन्थमा प्रासंगिक निम्न आहनहरु अत्यन्तै आपत्तिजनक र पूर्वाग्रहले भरिएको शोषण दमन र मान्छेलाई मान्छे नसम्झने स्वतन्त्रता र मानवअधिकार विपरित छन्। तसर्थ यिनै धर्म ग्रन्थ सुनेर सुनाएर हुर्केको त्यही सामाजिक अवधारणा बोकेको सामाजिक संरचना जिवित छ। समाजको मनोवैज्ञानिक सिलसिला र निरन्तरता नै यस्तो छ।
–शुद्रहरू अरुका कमारा हुन् र स्वेच्छाले तिनीहरूलाई राख्न र निकाल्न पाइन्छ। (ऐतरेय ब्राम्हण)
–मालिकले त्याग गरेपनि शुद्रजाति दासताबाट छुट्न सक्दैन किनभने कमारो बन्नु नै त्यस्को स्वभाविक कर्म हो त्यो कसरी छुट्न सक्छ ? (मनुस्मृति ८/४१४)
–यदि कुनै शुद्रले लोभमा परेर उच्च जातिले अपनाएको व्यवसाय गर्छ भने सर्वस्वसहित तुरुन्तै देश निकाला गर्नू! (मनुस्मृति १०/९६०)
–गैर आर्यहरूले आफ्ना सन्तान बेच्दा वा बन्धक राख्दा कुनै दोष हुँदैन तर आर्य मूलको मान्छे दास हुन सक्दैन! (कौटिल्य अर्थशास्त्र)
–ब्राम्हणले गर्ने जपहोम आदि काम गर्न खोज्ने शुद्रलाई राजाले मृत्युदण्ड दिनू। किनभने पानीले आगो निभाए झैं जपहोम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नष्ट गर्दछ। (आत्रीसंहिता१९०)
–शुद्रले वेद सुनेमा शिशा र लाह पगालेर उसको कानमा हालिदिनू। वेदको मन्त्र उच्चारण गरेमा जिब्रो काटीदिनू। वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खतम गरिदिनू। उसले आशन, विस्तारा, बाटो आदिमा उच्च जातिसँग टाँसिन खोजेमा १०० पण दण्ड गर्नू। (गौतमशुत्र – १२०)
–शुद्रलाई जुठो अन्न, पुराना कपडा, ओछ्याउनलाई पराल र ओढ्नलाई थोत्रा थाङ्ना दिनू।(मनुस्मृति १०/१२५०)
–शुद्रजातिले ब्राम्हण–क्षेत्री र वैश्यजातिप्रति कडा वचन बोल्छ भने त्यस्को जिब्रो काटीदिनू। किनभने जिब्रो काटिने जघन्य अपराध त्यसले गरेको हो। (मनुस्मृति ८/२७००)
–बाहुनको सेवासुश्रुषा गर्नु र दासत्वमा रहनु नै शुद्रहरुको विशिष्ट काम मानिन्छ। यदि दास र शुद्रले अरुकाम गर्न खोजे भने त्यो विफल हुनेछ। (मनुस्मृति १०/१२३०)
–शुद्रजातिका लागि एउटा मात्र काम निर्धारित गरिएको छ। त्यो इर्ष्यारहित भएर मालिक वर्गको सेवा गर्नु हो। (मनुस्मृति ८–१–९१०
–शुद्र वा दासले बाहुनको कपाल समात्छ भने कुनै किसिमको छानविन वा विचारै नगरी उसका दुबै हात काटी दिनुपर्छ तथा बाहुनका दाह्री, खुट्टा, घाँटी वा अण्डकोष मात्र छुन्छ भने पनि उसका हातहरू पूरै काटीदिनु पर्छ। (मनुस्मृति ८/ २८१०)
– बुद्धि, विवेक र योग्यताले सम्पन्न शुद्रले राज्य शासनका बारेमा कुनै पनि मूर्ख वा अविवेकी राजालाई उचित वा अनुचित सम्बन्धि कुराको विवेचना मात्र गर्छ भने त्यो पुरै राष्ट्र हिलोमा फसेको गाई झैं हुन जान्छ। ( मनुस्मृति ८/२२०)
–अन्ततः खराब आचरण भएको मानिस यदि ब्राम्हण जातिको छ भने त्यो पुजनीय हुन्छ र असल आचरण भएको मानिस यदि शुद्रजातिको छ भने त्यो निन्दनीयनै हुन्छ। किनभने कसैले पनि दुष्ट वा बैगुनी गाई नदुहेर गधीलाई त अवस्य पनि दुहुँदैन। (मनुस्मृति ८/२३०)
–चाहे आफैंले बनाएको धार्मिक नीति अनुसार होस वा अर्कालाई फकाइ फुस्लाई गरेर होस् या छलप्रपन्च जाल्झेल गरेर होस् हरेक तरिकाबाट आफ्नो मतलव पूरा हुने आर्थिक साधनहरू जुटाउन पछि पर्नु हुँदैन। यदि कसैले वा तल्ला जातिका मानुसले ब्राम्हण वा क्षेत्रीयले चाहे अनुसारको सम्पत्ति दिँदैन भने त्यसलाई बाँधेर हुन्छ कि घरमा थुनेर हुन्छ कि पिट्पाट पारेर हुन्छ कि जुनसुकै बल प्रयोग गरेर हुन्छ आफूले भने अनुसारको धन असुल उपर गर्नुपर्छ। (मनुस्मृति ८/४९/५००)
–वेद पढ्न जानेका बाहुनलाई आफूले सकेको धन दिनैपर्छ किनभने बाहुनलाई धन सम्पत्ति दियो भने स्वर्ग जान पाइन्छ । (मनुस्मृति ११/६०)
यस्तो धार्मिक अन्धता र अवैज्ञानिक परम्परा भएको समाजमा छुवाछूत र भेदभावपूर्ण नीति अवलम्बन भइरहन्छ। निम उम्रेको हुर्केको वृक्षमा गुलियोको अपेक्षा फगत अपेक्षा मात्रै हो। यसर्थ अब मान्छेको तत्कालीन चेतनाले स्वीकार गरेको वेद गीता, मनु स्मृति, उपनिषद जस्ता धार्मिक ग्रन्थमा रहेका विभेदी परम्परा सोच र रितलाई अब विस्मृतिमा राखेर समाजमा कानुनी राज र विधि शास्त्रीय नियमको पालना गर्न अग्रसर हुनुपर्छ।
मानव निर्मित कृतिम पुरातन अवैधानिक र अवैज्ञानिक धार्मिक कानुनलाई तिलान्जली दिन बिलम्ब गर्नु हुँदैन। हाम्रा धर्म ग्रन्थको कारण समाजमा विभेद भएको स्वीकार गरेर अग्रजले गरेको भूल र त्रुटीलाई सच्याउन पहल गर्नु बुद्धिमानी हुन्छ। मानव दिमागले रचना गरेको त्यो जातीय भेद मानव व्यवहारले मेटनु पर्छ। मानव मस्तिष्क निर्मित धार्मिकग्रन्थ ईश्वरको रचना होइन। यदि ईश्वर छन् भने उनलाई पनि यो अन्याय मन परेको छैन।
याे पनि: ८ सय माननीयका अंग्रेजी गुरु, जसले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई अंग्रेजी पढाए (भिडियो)
ईश्वर आफैले सृष्टि गरेका सन्तती प्रति पूर्वाग्रह राख्न सक्दैनन्। अत मानव लिखित धर्मग्रन्थ अपरिवर्तित रहन सक्दैन। मानव चेतनाको अभिवृद्धिसँगै यसमा सामयिक सुधार परिस्कार नयाँ यूगको हक हो। मानव सिर्जित धर्मग्रन्थ मानवद्धारा परिमार्जन गर्दा पाप र अपराधको स्थान हुँदैन। मानवलाई अमानव देख्ने मन र मुटु मानवको हुन सक्दैन।
कथित उच्च जातले कथित तल्लो जातिलाई मानव मान्दैन, स्वीकार गर्दैन र सो मुताबिक व्यवहार गर्दैन भने दलितले पनि गैर दलितलाई मानव नमान्न सक्छ। मान्छे भएर सबै बराबर योग्यता लिएर जन्म भए पनि कुनै समुदाय विशेषको कोखको बाँस भएर जन्मनु मानव हुन कसरी अयोग्य हुन्छ? मान्छे नहुनुको आतंक, पीडा अनि दर्द बोकेर कतिन्जेल बस्ने?
यहाँ स्मरणीय कुरा के छ भने यो विभेद, सामाजिक अत्याचार र अनमेल परम्परामा बौद्धिक जमातको मौनताले जातीय भेद कायम राख्न अरु मलजल गरेको तीतो यथार्थ हो। सज्जनको मौनतामा कुनियत र अन्ध परम्परा जिवित रहन बल पुग्छ। समाजमा व्याप्त दु:खका अतिशय अग्ला पहाडहरु उक्कन अविश्वासका गहिरा खाडल पुर्न, मानवीय हातेमालो दलित र गैर दलित अनि दलित भित्रका पनि दलितका बीच आवश्यक छ ।
समाजका लब्ध प्रतिष्ठित, उच्च ओहोदामा आसिन अनि राजनीतिलाई आफ्नो कर्म बनाउनेले मान्छेलाई पशुभन्दा तल राख्ने अमानवीय प्रथाविरुद्ध बुलुन्द भएर निस्कनु अपरिहार्य छ। सबै तह र तप्काको सरोकार र चासोको विषय हो जातीय भेद, छाउ, दहेज र बोक्सी जस्ता कुप्रथा। मानव अधिकारको उल्लंघन, स्वतन्त्रता र समानताको हनन, प्राकृतिक प्रक्रियालाई अछुत सम्झने रित मानवताविरुद्धको अपराध हो।
सरकार खरो र यो भेद पखाल्न कटिबद्द भएर लाग्नुपर्छ। पूर्खाले गरेको गलत परम्परा र अवैज्ञानिक थालनीको प्रायश्चित गर्न नयाँ पुस्ताले मानवीय समतामूलक समाजको निर्माणमा योगदान गरेर समाजलाई विभेद मुक्त बनाउने कृतसंकल्प गर्ने दिन आइसक्यो। अज्ञानता र अन्ध विश्वास तोड्ने दायित्व मुलतः राज्यको हो, राज्यलाई हर तरहले सघाउनु नागरिकको कर्तव्य हुन आउछ।
जातीय विभेदको समाजशास्त्र , धार्मिक मनोवृत्ति, लैङ्गिक विभेदका समाजशास्त्र, मनोवैज्ञानिक मानव शास्त्रीय उपचार विधि र प्रक्रिया सहित कानुन कार्यान्वयन गर्न सरकारको तदारुकता अत्यावश्यक भइसक्यो। राष्ट्रिय लज्जा र असभ्यताको बादल हटाउन देशका बुद्धिजीवी, प्राध्यापक, प्राज्ञ, कानुनी व्यवसायी, साहित्यकार, पत्रकार, राजनीतिज्ञ, सबै तह र तप्काले घातक मौनता चिरेर सामाजिक न्यायको आवाज बुलन्द बनाउनुपर्छ। राष्ट्रिय लज्जा मेटाउनु पर्छ।