सुदूर पश्चिमको विकट दार्चुलाको हति गाउँ। जहाँ आजभन्दा ३० वर्षअघि म यस्तै ८–९ वर्षको हुँदो हुँ। अन्य दौतरीसँग गाईबस्तु चराउन दाम्दाकोट डाँडो पुग्थे। घरबाट ठाडो उकालो। त्यो पनि घुमाउँरो। बाल्यकालको समय दाम्दाकोटमा गाईबस्तु चराउन पाउँदा हामी आफूलाई भाग्यमानी महसुस गर्थ्याै। अझ भन्नु पर्दा स्कुल हापेर दाम्दाकोट पुग्दा निकै रमाइलो लाग्थ्यो।
कुनै दिन आमाले आज घरमा काम थियो भन्नु भयो भने त्यो दिन जति आमालाई कहिलै माया गरिन्न्थ्यो। स्कुल जानु भनेको हामीलाई आमाबुबाले साह्रै दुःख दिए जस्तो लाग्ने। बाल्यकालमा गाईबस्तु चराउन पाउँदा जति खुशी अन्य केही कुरामा लाग्दैन्थ्यो।
दाम्दाकोटको त्यो डाँडॊ, जुन बर्खायाममा हरियो तन्नाले छोपे झैं लाग्थ्यो। हिउ परेको बेला भने सेतो रंगले पोते झैं आभाष हुन्थ्यो। ब्यास गाउँपालिका र दुहु गाउँपालिकाको सिमानामा पर्ने दाम्दाकोटको चुचुरोबाट भाडी खोला र नेपाल–भारत छुट्याउने महाकाली नदीलाई हेर्दा आफ्नो खुट्टाको पैताला मुनिबाट यी नदीहरू बगे सरह महसुस हुन्थ्यो।
चुचुरोबाट देखिने खुला आकाश र तल बेशीमा बसेका गाउँ हति, विनहिकिला, फारा पोक्से, ब्रहमदेव, खलङ्गा, धौलकोट र भारतीय गाउँ राथीले मनै लोभ्याउने गर्दछ।
यहाँको रमणीय अपि हिमालपछि पहिलो घामको झुल्को ले टेक्ने ठाउँ नै हो, दाम्दाकोट। दाम्दाकोट दार्चुला जिल्लाको सदरमुकामबाट उत्तरपूर्वमा ठिङ्ग उभिएको छ। सबै दौतरी आ–आफ्ना गाईबस्तु गोठबाट निकालेर वन जाने तयारीमा हुँदा हामी आफूलाई गाईबस्तुको बथानमा गोठाले होइन, कृष्णजी भएको महसुस गर्थ्याै।
घर माथिको रानी गैरीवन हुँदै दाम्दाकोट नपुगुन्जेल वनमा सुनिने ठाडी भाकाले कलिलो मस्तिस्कलाई पनि छुन्थ्यो।
‘गोरु धौला बाकरा। धौला पाताल हरिका।
यसै दिनापो जाने हुन् कि जनमै भरिका।।’
गरिबीले थिलिएको ग्रामिण भेगमा वास्तविकता जोडिएका यस्ता गीत, जो वनको बीचमा चरीको चिरबिरसँगै गाइने ठाडी भाकामा पिडानै पिडा हुन्थ्यो। तर, हामी रमाइलो मानि सुनिरहन्थ्यौं।
आमाले हामीलाई घरको काम गराउन छोडेर स्कुल जान भन्नुको कारण धेरैपछि यी र यस्तै गीत सुनेपछि पत्तो पायौं। दाम्दाकोट हजारौ वर्ष अगाडि कुनै राजाको कोट भएको भनाई छ। तर, यस पवित्र स्थानको धार्मिक महत्व भने अलिक पृथक छ।
दुहु र ब्यास गाउँपालिका देखि महाकाली नगरपालिका खलङ्गा सम्म जन्मिने मानिसको जन्मकुण्डली बनाउँदा दुहु दाम्दाकोट भनि सम्बोधन गर्ने गरिन्छ। यसको अर्थ हो, यहाँ जन्मिने जो कोही दाम्दाकोटसँगको धार्मिक पहिचानसँग जोडिएका हुन्छन्।
दाम्दाकोटको सिरानीमा रहेको मलिकार्जुं मन्दिर, त्यो भन्दा माथि रहेको सिद्दकटोपी र दाहिने र देब्रे स्थानहरु, गाउँमा अवस्थित ब्रहम देवताको मन्दिरले दुहु–ब्यास क्षेत्र एक पवित्र र देव भुमि रहेको पुष्टी हुन्छ।
विश्वभरिका हिन्दुको पवित्र धर्मस्थल कैलाश मानसरोबरको सिमाना सदरमुकाम खलङ्गा बाटै प्रारम्भ हुने गर्दछ। त्यसैले दुहु–ब्यासको धर्तीमा खुट्टा टेक्ने मानिस जिवनमा गरेका सबै पापबाट मुक्त हुने स्थानीयको भनाइ छ। देवीदेवता अग्लो ठाउँमा बस्ने गर्छन भन्ने भनाइलाई मान्ने हो भने पनि दाम्दाकोट देवीदेवताको क्रिडास्थल हो भन्दा अन्यथा नहाेला। किनभने दाम्दाकोट दुहु र ब्यासको बीचमा रहेको उच्च भागमा फैलिएको छ। यहाँका मानिस पुजाआजाको सामान ल्याई रुखको हाँगा र ढुङ्गामा चढाउने गर्छन।
भर्खरै गाउँ गएको बेला मलाई फेरि बाल्यकालको थुप्रै स्मरण ताजा गर्ने इच्छा जाग्यो। यसका लागि हामी चार जना साथी दिउँसोको खाना खाएर दाम्दाकोट उक्लियौं। त्यहाँ पुग्न करिब दुई घण्टा लाग्यो। मध्यान्न पछिको समय चकमन्न भयो। डाँडामा चलेको हावाको बेगले कानै उडाउला जस्तो भयो। सल्लाका रुख पनि सुसेल्दै थिए। मनमा अनेकौं तिर्सना जाग्यो। एक प्रकारले भन्नु पर्दा डर पैदा भयो। मौसम अनुकुल थिएन। आकाशमा मेघ गर्जिदै थियो। चकमन्न डाँडोमा हामीबाहेक अरु कोही थिएनन्– गाउँले साथी बिपिन, प्रकाश, सिकेन्द्र र म अनि उही पुरानो सम्झना मात्र।
३० वर्ष अगाडी दाम्दाकोट हरियो घासले छोपिएको फाटमा सिमित थियो। समयसँगै स्थानीयले सल्लाको बिरुवा रोपे। अहिले यसले ठूलो घना जंगलको रुप धारण गरेको छ। हामीसँगै हुर्किएका ती सल्लाका रुखले अचेल हामीलाई पनि डर देखाउँछ। कुनै बेला हामी यही रुखको झ्याङमा हाम्फालेर लुकामारी खेल्थ्यौं।
समय परिवर्तनशील छ। हामी जीवनको चार दशकमा प्रवेश गरिरहँदा हामीसँग खेल्ने ती बिरुवा हामीलाई नै तर्साउने भइसकेछन्। साँझ पर्दा नपर्दै मौसमले साथ नदिएका कारण त्यो हरियो सुन्दर स्थान उराठ लाग्दो कालो डाँडोमा परिणत भयो। हामी हावाहुरी छल्ने प्रयास गरिरहेका थियौं। जंगलको बीचबाट गीतको एउटा आवाज कानमा ठोक्कियो–
हपुरका काला डाँडा सिरसिरे बतास।
झुक दगडि मुइले झानु के भयो अतास?
गीत सुनेर पछाडि फर्किएका हामी त्यति बेला चकित पर्यौं, जब हाम्रो अगाडी पल्लो गाउँको साथी उभिएको थियो। उसले भन्यो–‘वनमा एक्लै थिए। डर लाग्यो। मान्छेको गाइगुइ सुनेपछि बोलाउन खोजेको मात्र हो। आखिर चिनेकै परेछौ।’
उनलाई देखेर हामी पनि गदगद भयाै। हामीलाई देखेर उनी पनि। दुबैकाे कुरा मिल्याे। राति खुसी हुँदै गाउँ फर्कियौं।