उपहार

कुसुम गौतम

म्यानमार

ख्वाँक्... ख्वाँक.....ख्वाँक  खोक्दै हर्कबहादुर घर भित्र पस्छन्। कोठाको एक कुनामा सानो गुडिया समातेर खेलीरहेकी आफ्नी छोरी दिव्यालाई देख्ने वित्तिकै उनको दिनभरिका थकाइ मेटिन्छ। मुहार उज्यालो बनाउँदै छोरीको छेउमा गएर बस्छन्।

भर्खर पाँच पुगेर ६ मा लागेकी  छोरी बोल्नमा निकै सीपालु छे। कमलीको स्वर्गवास पछि उनको एउटै सहारा र दुःख भुलाउने नै उनकी छोरी दिव्या हो। र कहिलेकाहीँको अर्को साथी पनि छ, रक्सी।

कमलीको वियोग र गरिबीको छालमा लर्खराउँदै  जिन्दगीका पलहरु काट्न पनि उनलाई निकै कठिन थियो। साहुको घरमा बिहानदेखि बेलुकासम्म काम गरेर पाएको थोरै पैसाले हात मुख जोड्न मात्र पुग्थ्यो। दुःखमय यो जिन्दगीमा छोरीको माया र रक्सीको सहारामा बाँचेका हुन्छन्।

अतीतमा डुबेका हर्कबहादुर ‘बाबा...बाबा’ भन्दै छोरीको तोते बोलीले झस्ङ्ग हुन्छन् र अतीतबाट बाहिर आउँछन्, ‘ए...छोरी ....मेरी प्यारी गुडिया ..ख्वाँक...ख्वाँक...’ गर्दै फेरि खोक्छन्। छेउमा बसेकी छोरी दिव्याले ‘छिः......बाबाले आज फेरि त्यही गन्हाउने पानी खाएर आउनु भो हैन? प....र  जानू। म बाबासँग बोल्दिन!’ भन्दै मुन्टो घुमाउँछे।

छोरीको यस्तो अवोध व्यवहार देखेर हर्कबहादुर हाँस्छन्। दुबै हात अगाडि सारेर छोरीलाई आफ्नो काखमा बसाउँछन्। गोजीबाट दुईटा चक्लेट निकालेर दिन्छन् र गालामा मईँ खान्छन्। ‘अब यही वर्ष छोरीलाई पनि स्कुल भर्ना गर्नुछ। के मैले छोरीको भविष्यमा खुसी र उल्लास भरिदिन सक्छु होला?’ मनमा उब्जिएको यस्तो प्रश्नले  उनको अनुहार मलिन हुन्छ।

आफ्नो बुबाको अनुहार मलिन देखेर दिव्याले ‘बाबा! किन यस्तो रून्चे अनुहार बनाउनु भएको नि! मैले त ठट्टा पो गरेकी। म बाबासँग नबोले कोसँग बोल्नु, हैन त!!!’ भन्दै उसले पनि बाबाको गालामा मईँ खाइदिन्छे र भन्छे’, आज बिहान बाबाले भन्नुभएको भोलि मेरो ह्याप्पी वर्थडे रे हो?’ भन्दा हर्कबहादुरले ‘हो त नि छोरी’ भन्छन्। ‘उसो भए म बाबासँग एउटा उपहार माग्छु। के बाबाले दिन सक्नुहुन्छ?’ भनेर सोध्दा हर्कहादुरको मुटु अलि छिटो धड्किन्छ।

‘अब मैले छोरीलाई के उपहार दिने होला? उसले के माग्छे होला?’ मन भित्र अनेक प्रश्न उठ्न थाल्छन्। ‘म त्यो उपहार, बिहान बाबा काममा जानेबेला माग्छु ल!’ भनेर खेल्न जान्छे।

त्यो रात हर्कबहादुरलाई निकैबेरसम्म निन्द्रा लागेन। छोरीलाई उपहार किनिदिनसम्म उसँग पैसा छैन। ‘साहुसँग लिएको उधारो अझै छिन्न सकेकै छैन। फेरि कसरी उधारो पैसा लिन सक्छु म?’ ओछ्यानमा एता र उता पल्टिँदै रात सकिन्छ।

हर्कबहादुर बिहान काममा जान तयार हुन्छन्। त्यति बेला छोरी दिव्या छेउमा आउँछे र  भन्छे "बाबा मैले मागेको उपहार दिनु हुन्छ??  "छोरीको मन नटुटाउनका निम्ति, "हुन्छ मागन। के ल्याइ दिनु, मिठाई, खेलौना...., कि त गुडिया??" भनेर सोध्छन्। दिव्याले "मलाई यो केहि पनि चाहिँदैन। बाबाले आजबाट त्यो गन्हाउने पानी खान्न भन्ने कुरा मात्र चाहिन्छ। मैले बाबासँग मागेको उपहार नै यहि हो।" 

दिव्याको स्वर मलिन हुन्छ। ऊ लगातार बल्दै जान्छे, "पल्लो घरकी बज्यैले भन्दै हुनु हुन्थ्यो ...बाबालाई यो गन्हाउने पानी खाएर नै खोकी लागेको रे, अनि यसरी नै त्यो पानी खाइ रहनु भो भने यस्ले नै एकदिन बाबालाई मबाट टाढा लान्छ रे। मामु पनि मबाट टाढा गइसक्नु भो। के ...बाबा मबाट टाढा भएर बस्न सक्नु हुन्छ??  म त बाबाबाट दूर भएर बस्न सक्दिनँ’ यसबेला आँखा भरी आँशु भरिसकेको हुन्छ।

छोरीको वेदना भरिएको बोली र आँखाका आँशुले हर्कबहादुरको मन भक्कानो फुटेर आउँछ र उनको पनि आँखा भरी आँशु हुन्छ। उनी केही बोल्न सक्दैनन्। छोरीको त्यो सानो जिउलाई अंगालोमा बाँधेर जन्म दिनको अनमोल उपहार दिन्छन्।

प्रकाशित मिति: : 2020-02-13 02:15:00

प्रतिकृया दिनुहोस्