दुधे छोरीलाई छोडेर विदेश जानु पर्दा कम्ता भावुक भएकी थिइनन् उनी। तर, सबै पीडालाई बिर्सिएर दाम कमाउन विदेश लागिन्। श्रीमानको साथ छदैथियो।
सानोमा आमाको निधनपछि दुःखले उनी हुर्किइन्। बुवा खेती किसानी गर्ने। छोरी हुँर्किएपछि गाउँ समाजमा जोकोहीलाई छिटो बिहे गर्नुपर्ने। यही चेपुवामा दीपा श्रेष्ठ पनि परिन्। १७ वर्षको उमेरमै उनको विवाह गाउँकै हेमसँग भयो। विवाह गर्दा हेमको उमेर पनि १८ वर्ष मात्र थियो।
रामेछापको दुर्गम गाउँ। उनीहरूलाई जीविकोपार्जन गर्न धेरै गाह्रो परिरहेको थियो। हातमा त्यति ठूलो सीप पनि थिएन। त्यही पनि उनीहरू राजधानी काठमाडौं आउने र केही इलम गरेर सुखी जीवन बिताउने धुनमा थिए।
याे पनि: बाच्नलाई काठमाडाैंकाे चिसाेमा मकै बेचिरहेकी ७० वर्षीय आमा (भिडियाे)
संयोग जुर्यो २०५८ सालमा। काठमाडौं प्रवेश गर्दा श्रेष्ठ जोडीलाई लागेको थियो, राजधानीको बसाइँ गाउँभन्दा निकै सहज र सुविधाभोगी होला।
तर, कामको खोजीमा नेपालको चारै कुनाबाट काठमाडौं भित्रिने श्रेष्ठ जस्ता हजारौं जोडीका कारण राजधानी पहिलेदेखि नै भरिभराउँ थियो।
त्यसैले श्रेष्ठ जोडीले जे सोचेका थिए, काठमाडौंमा ठ्याक्कै त्यो भएन। तर, मिहिनेत गर्न नछोड्ने यी परिश्रमिक जोडीका कारण यति बेला उनीहरूको जीवन केही सहज भएको छ। तीन छोरीहरू राम्रो स्कुलमा पढिरहेका छन्। उनीहरूको ध्यान छोरीको भविष्यतर्फ मोडिएको छ।
जेठी छोरी १७ वर्षकी भइन्, अरुणोदय माध्यमिक विधालयमा ९ कक्षामा अध्ययनरत छिन्। माइली र कान्छी क्रमशः १६ र १५ वर्ष भए र दिदी पढेकै स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।
याे पनि: आर्यघाटमा लाश कुरेर बसेका घाटे भन्छन्– जीवनमा खुसीकाे अनुभव कहिल्यै गर्न पाइनँ (भिडियाे)
दीपा काठमाडौंको आरुबारीमा चटपटे बेच्ने काममा व्यस्त छिन्। श्रीमान बैदेशिक रोजगारीमा ६ वर्ष ओमान बसेर भर्खरै फर्किएका छन्। उनीहरूको ‘केमेस्ट्री’ खुब मिलेको छ।
पहिलो पल्ट काठमाडौं भित्रिँदा उनीहरूले ज्यामी काम गरेका थिए। त्यति बेला खानाको नाममा उनीहरूलाई बासी भात र दुनोट मात्र नसिब हुन्थ्यो। लगातार तीन छोरी जन्मिएपछि श्रेष्ठ परिवारको जीवन झन् बढी कष्टकर बन्यो। यति बेला दीपाले विदेश जाने निर्णय गरिन् र २००९ मा लेबनन पुगिन्। उनी बैदेशिक रोजगारीतर्फ लाग्दा कान्छी छोरीको उमेर डेढ वर्ष मात्र थियो।
दुधे छोरीलाई छोडेर विदेश जानु पर्दा कम्ता भावुक भएकी थिइनन् उनी। तर, सबै पीडालाई बिर्सिएर दाम कमाउन विदेश लागिन्। श्रीमानको साथ छदैथियो।
याे पनि: बेलायतकाे घाेषित नीतिका कारण भीसी नपाएका वीर करवीर पुन
‘बिहे हुँदा १७ वर्षकी त थिए। कहाँ मेरो मन्जुरीले हुनु? घरमा छोरीलाई बिदा गर्ने हतारो थियो,’ उनले बिगत सुनाइन्–‘छोरी पनि लगालग भए। पहिले दुई जनाको मात्र पेट पालिरहेका थियौं। अब छोरीहरूको पनि पेट पाल्नु पर्ने भयो। त्यसैले विदेश जानुबाहेक अर्को विकल्प थिएन।’
श्रीमति विदेश लाग्दा श्रीमान हेमले काठमाडौंमा तरकारी पसल खोलेका थिए। दीपा तीन वर्ष लेबननमा काम गरेर फर्किइन्। फर्किएको दिन उनी अहिले पनि याद गर्छिन्। ‘मेरो कान्छी छोरीले मलाई चिनिनन्। यसपछि ममा विदेश जाने रहर र बाध्यता दुबै हरायो। बरु नेपालमै केही गर्छु भन्ने अठोट गरे,’ उनले भनिन्।
छोरीहरू हुर्किदै थिए। उनीहरूलाई राम्रो शिक्षा पनि दिनुथियो। नेपालमा भरपर्दो रोजगारी थिएन। त्यसैले श्रीमति विदेशबाट फर्किएको दुई वर्षपछि श्रीमानलाई बैदेशिक रोजगारीका लागि ओमान पलायन हुनुपर्ने बाध्यता बन्यो।
श्रीमान विदेश गएपछि उनी त्यति कै चुप लागेर बसिनन्। तरकारी र फलफुलको दोकान खोलिन्। श्रीमानले विदेशबाट मासिक ३५ हजार पठाइदिन्थे। यसले छोरीको स्कुल र घर खर्च चल्थ्यो।
‘श्रीमानले पठाएको पैसाले घर चलाउँथे। तरकारी व्यापारबाट राम्रो आम्दानी हुन्थ्यो। तर, फलफूलमा प्रायः घाटा लाग्थ्यो’, उनले विगत सुनाइन्–‘लाफिंगमा फाइदा देखेर चटपटे बेच्न थाले।’
याे पनि: कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)
अहिले उनको मुख्य व्यवसाय नै त्यही बनेको छ। उनी दिनको २–३ हजारसम्मको व्यापार गर्छिन्। श्रीमान यति बेला छुट्टिमा नेपाल आएका छन्। श्रीमतिलाई व्यापारमा खुब सघाईरहेका छन्। आउँदो फेब्रुअरी २८ मा फेरि ओमान फर्किने योजना छ।
विगतको तुलनामा उनीहरूको जीवन अहिले सहज बनेको छ। तर, काठमाडौंमा घर बनाउने इच्छा यो जोडीको पनि छ। हेम भन्छन्, ‘काठमाडौं भित्रिएको डेढ दशक भइसक्यो। जग्गा किन्ने मन छ। तर के गर्नु जग्गाको मुल्य छुइनसक्नु छ?’
जीवनलाई फर्किएर हेर्दा उनीहरूले धेरै दुःख र कस्ट बेहोरेका छन्। तर, यति बेला खुसी नै छन्। ३५ वर्षको उमेरमा साहुनी बन्दा दीपा पनि दंग छिन्। तर, उनको एउटै मात्र ध्येय छ, छोरीहरूको उच्च शिक्षा।