भक्तपुर सानो व्यासीस्थित भक्तपुर नगरपालिका कार्यालयअघिल्तिर एक पुरानो फल्चामा गोपाल कोजू दौँतरीसँग घाम तापिरहेका भेटिए । उमेरले ७० नाघेका उनको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । नित्यकर्मपछि मठमन्दिर धाउँछन् । स्थानीय भजन मण्डलीको सदस्य बनेका छन् । बिहानको खानापछि साँझ ५ बजेसम्म फल्चामा घाम ताप्दै दौँतरीहरूसँग गफिन्छन् ।
‘दिउँसो छोरा–बुहारी काममा र नाति–नातिना स्कुल जान्छन्, घरमा कोही साथी हुँदैन,’ उनी भन्छन्, ‘यही फल्चामा आयो, गफ गरेरै दिन कट्छ ।’ त्यसो भन्दै गर्दा तीन दशकअघिको सामाजिक परिवेश सम्झिए, कोजूले । त्यतिवेला कृषि नै मुख्य पेसा थियो, बालबालिकादेखि वृद्धवृद्धासम्म खेत, बारीमा भेटिन्थे । समय फेरिएको छ, खेतीपातीको स्थान जागिरले लिएको छ । ‘हामी बुढापाका भने घरमा एक्लिएका छौँ,’ उनी भन्छन् । उदयपुरको पञ्चवतीका शंकरबहादुर श्रेष्ठ (७६ वर्ष) छोरी–ज्वाइँसँग बस्न काठमाडौं आए । तर, केही दिनमै उनी सहरी वातावरणबाट विरक्तिए । र, छोरीलाई घर फर्किने बताए । ‘सहरमा खुला ठाउँ हुँदा रहेनछन्,’ उनी भन्छन्, ‘गाउँमा जस्तो दौँतरी भेटिँदारहेनछन् । साह्रै उकुसमुकुस हुँदोरहेछ ।’