तरकारीहरूको नाटक

शैली थिएटरद्वारा आयोजित एघारौं राष्ट्रिय बाल नाटक महोत्सवको दोस्रो दिन, रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरमा 'करेसा कन्सर्ट' देखाइएको थियो। बिहीबार मञ्चन भएको 'करेसा कन्सर्ट' का लेखक तथा निर्देशक केदार श्रेष्ठले नाटक मार्फत सामाजिक एवम् राजनीतिक पक्ष उतार्न खोजेका छन्। कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलका कक्षा ७, ८ र ९ का विद्यार्थीले उक्त नाटकमा अभिनय गरेका निर्देशक केदारले जनाए।रामगोपालको करेसाबारीमा फर्सी, मुला, टमाटर, साग, खुर्सानी, धनियाँ, करेला, प्याज, लसुन, लौका लगायत तरकारी छन्। नाटकका यी सबै तरकारी व्यवहारमा उतारिएका छन्। सबै तरकारी पात्रमार्फत् बोल्न, डुल्न, हिँड्न, ठट्टा र झगडा समेत गर्न सक्छन्।

नाटक तरकारीहरूले नै दिएको आ–आफ्नो परिचयबाट सुरू हुन्छ। योसँगै करेसामा सबभन्दा ठूलो र महत्व बोकेको कुन तरकारी हो भन्ने विषयमा आपसी झगडा र इख देखाइन्छ। करेसाले गन्ने–मान्ने फर्सीसँगको सल्लाहपछि करेसामा प्रतियोगिता हुने कुरा चल्छ। हरेक तरकारीको आफ्नै विशेषता हुन्छ। महत्व हुन्छ। त्यसैगरी भिन्न–भिन्न गुण समेत हुनसक्ने कल्पनासँगै करेसाका सम्पूर्ण तरकारीमा गुण मिसाएका छन् केदारले।

प्रकाशित मिति: : 2020-02-09 02:39:37

प्रतिकृया दिनुहोस्