उल्झनमा मातृभाषी चलचित्र !

महेश राई

काठमाडौँ

केही महिनाअघि सम्पन्न भएको ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’को सेरोफेरोमा गुरुङ, तामाङ, नेवार, थारू र लिम्बू भाषाका प्रतिनिधि फिचर चलचित्रहरू हेरेँ । यी समुदायमा सबैभन्दा बढी भाषिक चलचित्र बनेका छन् । ती चलचित्र कतिपय समीक्षात्मक रूपमा तारिफ बटुलेका र कतिपय व्यावसायिक रूपमा सफल मानिएका चलचित्र थिए । 

अनुसन्धाता अनुभव अजितको मातृभाषी चलचित्रसम्बन्धी एक अध्ययनको निष्कर्ष थियो– मातृभाषी चलचित्र जनजाति आन्दोलनको पूरकका रूपमा सुरु भएको थियो । सबै चलचित्रकर्मी यही सोचले चलचित्र निर्माणमा लागेका हुन् भनेर भन्न नसकिए पनि यो एक हदसम्म सत्य देखिन्छ । जेजस्ता कारणबाट प्रेरित भएर मातृभाषी चलचित्र बनिरहे पनि चलचित्रकर्मीले आफ्नो समुदायमा रहेको मिथ, मुद्दा, परम्परा, सांस्कृतिक बिम्ब र कलालाई उजागर गर्ने प्रयत्न गरेको देखिन्छ । तर, चलचित्रकर्मीको यस्तो प्रयत्नले सही दिशा समाउन सकिरहेको देखिँदैन । ‘चलचित्र उत्पादन होइन, सिर्जना हो’, यो भनाइप्रति सबैको सहमति छ । प्रत्येक सिर्जनामा ‘क्राफ्ट’ र ‘आर्ट’को संयोजन हुन्छ । माक्र्सवादले आधार संरचना (उत्पादन प्रणाली)का आधारमा उपरीसंरचना (मूल्यमान्यता)को निर्माण हुन्छ भनेजस्तै ‘क्राफ्ट’ र ‘आर्ट’ पनि चलचित्रकर्मीको सिर्जनात्मक व्यक्तित्वको आधारले प्रभाव पारिरहेको हुन्छ । जसको पृष्ठभूमिमा उसको ‘आइडियोलोजी’ वा विश्वदृष्टि हुन्छ । तर, मातृभाषी चलचित्रकर्मीको यही आइडियोलोजीमा अस्पष्टता देखिन्छ । 

प्रकाशित मिति: : 2020-02-09 02:28:16

प्रतिकृया दिनुहोस्