जङ्गलमा जसरी बाघले आफ्नो भोजनका निम्ति सिकार वा आखेट गर्छ, के कुनै मांसाहारी मानवले पनि त्यसरी नै आफ्नो क्षुधा एवं स्वाद पूर्तिहेतु सिकार गर्छ? प्रश्न जटिल होइन, तपाईको सोच दूषित एवं भर्त्सनायोग्य छ। कल्पना गर्नुस्, कुनै हातहतियार नलिइकन मानिसले प्रत्यक्ष जम्का भेट हुँदा कति किसिमका जनावरलाई आखेट बनाई आफ्नो उदरपोषण गर्न सक्छ? बन्धु, सहरका ‘फार्महरू’मा अर्थोपार्जन एवं मांसभक्षणको रहर पूरा गर्न पालिएका जनावरको कुरा होइन। ती जनावरका प्रकृतिजन्य आवासमा मानव र तिनको प्रत्यक्ष मुठभेडको परिदृश्य कल्पना गर्नुस्।
गाईको त कुरा छाड्नुस्, मानिसले बाख्रोलाई पनि उसको स्वाभाविक आवासमा जित्न सक्दैन। राँगोको कुरै नगर्नुस्। शक्ति र बलका आधारमा मानिसले कुखुरा र बट्टाईजस्ता केही चराचुरुङ्गीलाई मार्नसक्छ। तर, मार्नु त पछिको कुरा हो, पहिला तिनलाई समाएर देखाउनुपर्यो। नदी तलाउका माछा हातले फुत्त झिकेर देखाउनुपर्यो।