वास्तवमा को हुन् शेर्पा- के पाए हिमाल चढेर?

तस्बिरः बिएल

 सगरमाथा आरोही महिला पत्रकारहरुसँगको कुराकानी

सन् २०१८ मे २३ को बिहानै प्रथम महिला पत्रकार समूहले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको खबर आयो।

रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, प्रियालक्ष्मी कार्की र कल्पना महर्जन आरोहण टिममा थिए। खुशीले बुर्कुस्सी मार्दै सबैभन्दा पहिले घरमा मैले बुवालाई यो समाचार सुनाएँ र उफ्रेर घरको दलिन छुने कोशिस गरेँ।

यो आरोहणमा मेरो ढुकढुकी पनि कसरी यति नजिक भएर बसिरहेको थियो भन्ने कुरा मैले त्यतिबेला थाहा पाएँ, जतिबेला यी केटीहरू (मैले यसै भन्ने गरेकी छु) सगरमाथा आरोहण यात्रा सफल बनाउने जटिल र जोखिमपूर्ण स्टेपमा पुग्दैथिए।

उनीहरूमध्ये केही दिनयता कसैको फोन लाग्दै लागेन, लायजो अफिसर ज्ञानेन्द्र श्रेष्ठ सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको पनि फोन लागेन, न त त्यताबाट कसैको फोन नै आयो।

बिनासम्पर्कको त्यो सन्नाटा समय अहिले पनि सम्झन्छु कस्तो कस्तो परिकल्पनाले ढुकढुकी उथलपुथल भएर बढ्ने-घट्ने गरिरहन्थ्यो।

जब यो समूहले सफल आरोहण गरेर फर्कियो, त्यसपछिको भेट र दिलाएको खुसीले उत्साह, प्रेरणा यति बढ्यो कि, लाग्यो अब यिनीहरूसँग सोध्नुपर्ने केही पनि छैन, सबै पाइसकेँ, बुझिसकेँ। तर, समयसँगै यी जाँगरिला केटीहरूको भर्भराउँदो उत्साह, आगे सपनाहरू, सगरमाथा आरोहणको क्रममै भोगेका दुःख, संघर्ष र हिनताबोधको समयले दिलाएका पीडा र मुर्च्छना बनेका समयका केही पाटालाई जिस्काउने हुटहुटी चलेपछि आरोहण समूहका नेता रोजिता बुद्धाचार्यलाई टिम र टिमलाई सफल आरोहण गराउने शेर्पा दाजुभाइसँग सामुहिक कुराकानी गर्न मन भएको विषय एक भेटमै राखेँ।

उनी हौसलाले जुरूक्कै उठिन् र दुवै हात उठाएर ‘एस’ गरिन् मानौं हामी कुनै जीतको नजिक छौं अर्थात् केही जितेका छौं।

***

एउटा फराकिलो कोठा, हिमाल र हिमाल आरोहणसँग सम्बन्धित तस्बिरहरू र सामग्रीको सजावट, बौद्ध धर्म गुरूका तस्वीर तथा बौद्ध दर्शनका सुशान्त सज्जाले निकै आकर्षक छ कोठा। बीचमा फराकिलो लाम्चो टेबल अनि टेबलमा आम्नेसाम्ने प्रथम महिला सगरमाथा आरोहण दलका सरदार फुर्बा शेर्पा र आरोहण दलका महिला पत्रकारहरू।

झण्डै डेढमाना अट्ने ठूलो मगमा फुर्बा शेर्पाको लाम्चो हातले ग्रीन टीको स्वागत भयो बस्नासाथ। मनभरि शेर्पा दाजुभाइप्रतिको माया, सम्मानको यति धेरै सम्मोहन त्यतिबेलादेखि गढेको थियो मलाई, जतिबेला सगरमाथाबाट सफल आरोहण गरेर फर्केपछि यी केटीले माया, सद्भाव र सम्मानको सगरमाथा ठडाएर आफ्नो सफलताको हकदार शेर्पा सरदारप्रति दर्शाएर कञ्चन हिमाली आँसु बगाइरहेका थिए प्रत्येकपटक आफ्ना अनुभूतिसँग।

मैले विषय प्रवेश गराएँ। – शेर्पा के हो? जसरी हिमाल आरोहणका लागि अक्सिजन माक्र्स, सिलिण्डर, जुत्ता, मोजा, पोशाक वा अत्यावश्यक वस्तुहरूको संकलन र तयारी गरिन्छ त्यसरी नै प्रत्येक आरोहीका लागि शेर्पा अझ आरोहीका शारीरिक बल र मानसिक क्षमता अनुसारको थप शेर्पा संख्या (शक्ति) दिनुपर्ने भन्ने जति पनि सुनियो र तपाईं आरोहीहरूले प्रत्यक्ष भोग्नु पनि भयो। वास्तवमा के हो त शेर्पा?

देउराली-हिमालको माझी हो भन्नुहुन्थ्यो बैरागी काइलाज्यूले। म त्यही शब्द सापटी लिन्छु। किनभने हिमाल चढ्दा मैले यस्तो गरेँ, उस्तो गरेँ भनेर फूर्ति लाइन्छ अनि कति दुःख, कष्ट व्यहोरेँ भनेर भन्छौं हामी आफैं, हामीले के गरेका छौं सप्पै उहाँहरूले गर्ने हो र हामीले गरेको पनि उहाँहरू हामीसँग भएको कारणले हो। मसँग उहाँहरुको सम्मानमा बोल्ने शब्द नै छैन।

रोसा – अदृश्य भगवान हो। आरोहण सफल होस् भनेर हामी भगवानको प्रार्थना गरिरहेका हुन्छौं, तर, वास्तवमा हाम्रो आरोहण सपना पूरा गर्नको लागि शेर्पाहरूले उचित अवस्था र अवसर खोज्दै हरजोखिमबाट बचाउँदै हामीलाई डोर्‍याइरहनुभएको हुन्छ।म आस्था राख्छु भगवानमा तर यो आरोहणपछि अर्को भगवान आरोही शेर्पा सरदारहरू हुन् भनेर मानेकी छु।

रोजिता – हिमाललाई बुझ्ने र हिमाललाई पढेको एउटा शाहसिक मान्छे। उहाँहरूलाई मान्छे नै देख्दैन। एउटा आरोहीको सगरमाथा आरोहण सपना पूरा नहुञ्जेल सम्पूर्ण आधार खम्बा शेर्पा हुने, हुनुपर्ने।

आरोहण सफल भएपछि ऊ सर्वत्र चर्चा, प्रशंसा, पुरस्कृत हुने, आफ्नै ज्यान हत्केलामा राखेर अर्को ज्यान बचाउने शेर्पा चाहिं गुमनाम हुने, अघि तपाईंले भन्नुभए जस्तै ‘वस्तु’ हुने। उपयोग गर्‍यो, सकियो बस्।

शेर्पाहरूलाई मान्छे नै नठान्ने। त्यसैले शेर्पा हिमाललाई राम्ररी बुझेको एउटा मान्छे हो र मान्छेकै स्वरूपमा उभ्याउनु हामी अन्य मान्छेको जिम्मेवारी हो।

फुर्बाले कालो स्वादिलो चिया पकाएर हामी सबैलाई ल्याउनुभयो।यो स्थान हामी जहाँ कुराकानीमा थियौं यो फुर्बाको अफिस ‘ड्रिमर डेस्टिनेसन ट्रेक्स एण्ड एक्सि्पडिसन’ रहेछ। म फुर्बातिरै फर्केँ – १३ पटक सगरमाथा आरोहण गरिसक्नुभयो। यस्तो इनर्जी कसरी आउँछ? यो हिमालसँग खेल्ने जोखिम अब नलिउँ भन्ने लाग्दैन?

फुर्बा – असाध्यै दुःखमा जन्मेँ। दुःखैले हुर्केँ। दुःख नै इनर्जी भयो मेरो लागि। जति पनि मानिसहरू लिएर सगरमाथा जान्छु, त्यति नै धेरै दुर्घटनामा पनि म उद्धार गर्न गएको छु। मानिस घटना हुँदा अत्तालिने गर्छन्। धैर्य नै देखाउँदैनन्। म धैर्यले काम गर्छु। शक्ति मात्र भएर हुँदैन, सहने र धैर्य गर्ने शाहस पनि पर्वतारोहीमा उत्तिकै चाहिन्छ। त्यसैले त रिस्क गेम हो जहाँ जीत मात्रै हुँदैन, म यो पेसेन्स लिएर हिँडीरहेको हुन्छु र इनर्जी पनि यहीँबाटै पाउँछु।

तपाईं त कम्पनी राम्रो चलाएर राम्रा राम्रा पर्वतारोही प्रशिक्षकहरू बनाएर बस्नुभए हुन्न र?

फुर्बा – मनले दिँदैन। आरोहीहरूलाई लिएर आफू पनि जाँदा सन्तुष्ट हुन्छु। मप्रतिको विश्वास पनि हो। एकसेएक निपुण मभन्दा पनि निपुण शेर्पा मसँग छन्, म खटाउन, पठाउन सक्छु तर अर्को कुरा के भने दुःख गर्ने बानी परिसक्यो, दुःखमै रमाउँछु पनि। गिनिज वल्र्ड रेकर्ड पनि कायम गरेँ। एउटा ‘रेपुटेसन’ हुँदोरहेछ र यहाँ आउनुहुने ग्रुपले मलाई नै खोज्नुहुन्छ यो हौसला म आफैंले पनि कायम राखिरहन आरोहणमा जान्छु, जानैपर्छ।

फुर्बासँग मैले कुरा गरिरहँदा सगरमाथा आरोहणका क्रममा आफ्नो अक्सिजन सकिएपछि रोइरहेकी देउरालीलाई उनको शेर्पा सरदारले अक्सिजन दिएर आफ्नो ज्यानको समर्पण गरेको, रोशाले आइसफलमा चिप्लिएर खस्नेबित्तिकै आफूसँग भएको शेर्पा सरदारले तुरुन्तै बचाउ गरेको र रोजिताले फिजिकल मात्र नभई आरोही टीमका प्रत्येक सदस्यको मनोविज्ञान अनुसारको स्याहारसम्भार, खानपिन र ममताका साथ शेर्पा समुदायले गरेको समर्पण एक एक सम्झिरहेका थिए।

फुर्बा घरी उत्साहित त कहिले भावुक बन्दै भनिरहेका थिए जब मैले यो प्रथम महिला पत्रकार समुहको बारेमा अनुभव सोधेकी थिएँ –

यो टीम ‘इनर्जेटिक’ थियो, शुरुमा रोसा भेटेदेखि नै लागेको मलाई। रोसाको ‘कन्सेप्ट’ भएकोले उनैले ‘लिडिङ’ गरेकी थिइन्। मैले ‘क्लाइम्बिङ’ को मात्रै ‘प्लानिङ’ गरेँ। ‘कन्सेप्ट’ सहित आएको हुनाले रोसा नै लिडर भएको ठीकै थियो। तर, टिममा पछि कल्पनाको सकृयता बढ्यो।

उनले पहिला पनि एभरेष्ट समिट गर्न जाँदा नसकेर रेस्क्यू गरेर ल्याएको भनेर सुनाएको थियो। एक्सपिडिसनसँग सम्बन्धित विषयमा जानकार होला भन्ने भयो साथै टीममा रोसाको अलिकति निस्क्रियता पनि भयो त्यतिखेर, कल्पनाले रहर पनि गरेकोले कल्पनालाई नै टीम लिडर तोक्यौं। तर, जब आरोहणका लागि विभिन्न तयारी, प्रायोजक खोज्ने, विभिन्न प्रशासनिक काम, प्रक्रिया पूरा गर्ने बेलामा कल्पनाबाट प्रभावकारी काम हुन सकेन, टिम परिचालनको हिसाबले कामप्रतिको लगाव, धैर्यता र मेहेनतसमेत राम्रो देखिएपछि रोजितालाई नै टिम लिडर बनाएर कामलाई अगाडि बढायौं।

रोसा प्लानर हो, उ दृढ छ त्यसैले उनको ब्याक सपोर्ट भइरहन प्रियालाई भनेँ। एकदमै उत्साहित मेम्बर हो प्रिया, तर स्वास्थ्यमा अलिक कमजोरी रहेछ, ट्रेनिङहरू त मज्जाले गरेको थियो। सबैजनासँग मिल्ने उनको स्वभाव राम्रो छ। तर, फोकस केमा गर्नुपर्छ भनेर छुट्याउन नसक्ने उनको कमजोरी हो।

रोजिता टीममा सबैभन्दा मेन्टल्ली बलियो। मेनेज्मेन्ट राम्रो। देउराली सबैमा उचित सल्लाह दिने। सबैको अभिभावक। तर दुःख लाग्छ प्रियाले एभरेष्ट समिट पूरा गर्न सकेन, फर्कनुपर्‍यो। कति नराम्रो लागिराको होला उनलाई। हामीलाई अहिले पनि धेरै नराम्रो लाग्छ।

अहिले पछिल्लो केही समययता समय दिन गाह्रो भयो उनलाई त्यसैले सल्लाहले नै प्रिया यो टिमसँग छैन, त्यसमा ‘नो कमेन्ट’। तर, कल्पना एभरेष्ट समिट सफल भएर आउनेबित्तिकै ऊ अर्कै भयो। टीमसँग नभेट्ने, कुरा नगर्ने, बोलाउँदा नआउने। पूरै जानु अघिको र गएर फर्केपछिको व्यवहार उल्टो भयो। मैले त अफिसियल डिल गर्ने हो।

एउटाले गरेर यो टिमका सबैलाई र मेरो अफिसलाई पनि तनाव हुन्छ भने सल्लाह गर र हिसाबकिताब गरेर टिमबाट छुट भनेर सल्लाह दिएँ कल्पना र पूरै टिमलाई। यति भन्न पनि त समूहमा त आउ भनेर आएपछि टिमसँग आफ्नो बाँकि जिम्मेवारी गर्छु भन्ने प्रतिवद्धतासहितको निर्णय गरेर टिमबाट अलग भयो।

यो टिमलाई मैले अहिले पनि भनिरहेकी छु कसैले कसैको बारेमा नराम्रो कुरा नगर, धैर्य राख। निराश नबन। एउट मिशन लिएपछि त्यसमा अडिरहनुपर्‍यो पूरा नहुन्जेल। अहिले टिमका यी तिनैजनामा आशा छ, केही गर्ला भनेर। मैले आशा गरेको चाहिँ खालि हाम्रो देशमा हिमाल छ हिमाल छ भनेर भएन। हिमाल हेर्न जाउन्, त्यसको बारेमा बोलुन्, लेखुन्। मैले पढिन, लेखिनँ। मलाई आउँदैन। तर, जानेको कुरा बताउँछु, हिमाल र राष्ट्रियता अनि हिमालको जिन्दगीको बारेमा जानुन् सबैले भन्ने रहर छ।

आफ्नै भेष, भाषा, संस्कृति र प्रचलन रहेको नेपालको शेर्पा समुदाय विशेषगरी नेपालको पूर्वी भूभागको उच्चहिमाली क्षेत्रमा बसोबास गर्ने हिमाली जाति हो। हिमाल आरोहणको निर्विकल्प शक्ति र प्रेरणा बनेर बसेको शेर्पा समुदाय हिमाल तथा हिमालको आसपासमा यससँगै प्रत्यक्ष अप्रत्यक्ष रूपमा आधारित बन्दव्यापार गर्ने गर्छ। साहस, धैर्य, सरलता, निर्भिकता र सत्यता यिनीहरूको साँचो पहिचान हो।त्यही पहिचानले सज्जित थियो फुर्बाको। फुर्बा कुराकानीकै बीचमा आफ्नो भान्सामा ‘ब्रेकफास्ट’ पनि कति ‘फास्ट’ बनाउँदै थियो।

मैले विषयान्तर गरें – महिला पत्रकार समूहको आरोहण समूह बन्नु अघि एकले अर्कोलाई कहिल्यै नभेटेको, नदेखेका तपाईंहरूबीच कति छिटै सगरमाथा आरोहण नै साझा सपना र साझा उद्देश्य बन्न पुग्यो? यसका लागि तपाईहरुसँग भएको के, कस्तो पृष्ठभूमिले तपाईंहरुलाई सगरमाथा चढ्नुपर्छ भन्ने मिशनमा पुग्न सहयोग गर्‍यो ? कस्तो–कस्तो प्रयत्न भयो ? तपाईंहरूबीचको भेटघाटको प्रसङ्ग पनि राखिदिनुस् न।

रोशा – मैले यो सगरमाथा आरोहणको योजना किन बनाएँ ठ्याक्कै कारण छैन तर पनि मैले केही गरेर देखाउनुपर्छ, जो कमैले मात्रै गरेको होस् र त्यसमा देशले पनि गर्व गरोस् भन्ने भोक म भित्रभित्रै थियो तर के गर्ने भन्ने यकिन योजना थिएन। घरायसी त्यस्तो कुनै पृष्ठभूमि छैन तर बुवाले मलाई भन्न नसक्नुभएको र आफूले रहर गर्नुभएको थियो कि भन्ने मलाई परिरहेको छ।

मैले कलिलैमा घर छाडेर काठमाडौमा एक्लै संघर्ष गर्दै पढें। हामी पाँच दिदीबहिनीको एउटा भाइ। शायद समाज पितृप्रधान भएर होला, छोराप्रतिको असाध्यै माया, ममता र चाकरीपन तर छोरीप्रतिको जिम्मेवारीमा नसुहाउँदो बेवास्ता जसरी समाजका छोरीहरूले भोगे, मैले पनि त्यही भोगेकी रहिछु भन्ने मलाई पछि थाहा भयो। आफ्नो रहर, ईच्छा खुलेर प्रकट गर्न पनि नसकिनेगरी परिवार, समाजले हालेको छेको सम्झिइन् रोशाले।

कसरी छोराका लागि टपक्क टिपेरै ल्याइदिने हरेक मौकाहरू र पूरा गराइदिने प्रत्येक माग र रहर अनि कसरी आफूले सक्षम हुनका लागि मागेका अवसर र सहयोगलाई अस्वीकृत गरिदिँदा दबाएर बस्नुपरेको हिनताको पीडाबोध समय सम्झिइन् रोसाले र हिक्का छाडेर बगाइरहिन् आँसु केहीबेर र घोषणा गरिन् – ‘जेण्डरबायस’ मैले पनि कति धेरै भोगेकी रहिछु।

(मेरो शरीर सिरीङ्ग भयो, हामीले सहेको र बहन गरेको यस्तै हिनताका समयहरूमा कसरी मुर्झाए हाम्रा दाजुभाइ, अनि कसरी शसक्त शासक भए परिवारको, समाजको ? के हामी प्रत्येक छोरीले भोगेका छैनौं र हिँसा ? को मुक्त छ यहाँ हिँसाबाट ? रोसाले रूने अवसर पनि नपाइरहेको रहेछ, यही मेसोमा रोजिता बोलिन् – दिदी हाम्रो टीममै सबैभन्दा शाहसिलो, दृढ कुरा राख्नसक्ने, रिसाइहाले पनि क्षणभरमै सामान्य हुनसक्ने रोसाको रूपमा आजै मात्र देख्न पाइयो यस्तो कोमलता,भावुकता। साँच्चै हिँसा जोसुकैबाट होस् त्यो असह्य नै हुनेरहेछ)  

रोसाले क्रमशः बोल्न शुरु गरिन् ।

मैले काठमाडौ छाडिन् र अध्ययनसँगसँगै विविध चुनौतिसँग रमाउन सिकें । शायद यही समाजलाई हुनसक्छ अथवा परिवारभित्रै पनि हुनसक्छ केही गरेर देखाउनुछ भन्ने शब्दले मलाई घोत्लाइरह्यो।

सन् २००५ मा मोरङ घरबाट काठमाडौ आउँदा घरमा बुबाले संकलन गर्नभएका केही पुस्तक छानेर लिएर आएकी थिएँ। त्यसमा An Auto biography या Tenjing Norge भन्ने पुस्तक पनि थियो। मैले त्यो पुस्तक सन् २०१५ मा मात्रै पढें। त्यही पुस्तकले मलाई हिमालप्रतिको मोह जगाइदियो।

एक्सपीडिसनको समय थियो, हामी एभरेष्ट क्याम्पमै थियौं। Dream Aomtrue भन्ने च्याप्टर पढ्दा आङ सिरिङ्ग भयो, जब कि हामी पनि सपनालाई सत्य बनाउने यात्रामै थियौं। मैले त्यतिखेर पनि यो अमूल्य पुस्तक बुवाले मेरै लागि राखिदिनुभएको भन्ने लाग्यो, बुवा सम्झें।

सन् २००८ मा बुवा बित्नुहुँदा म लुक्लामा थिएँ, पर्यटकसँग घुम्न गएको अवस्था थियो। बुवाको लाश देख्न पनि पाइनँ। त्यसैले बुवा यतै कतै हुनुहुन्छ र हिमालसँग गाँसिएको यो पौरख हेरिरहनुभएको छ भन्ने भान भैरहन्छ। शायद बुवाले नै मलाई यो सपनाको लालसी बनाइदिनुभो कि भन्ने लाग्छ अहिले।

सन् २०१६ का डिसेम्बर ८ मा माउन्टेन फेस्टिबलमा गएका थियौं साथी सृष्टि काफ्लेसँग। मैले त्यहीँ नै उनलाई पहिलोपटक आफूभित्रको सगरमाथा चढ्ने भोक यसरी प्रस्ताव गरेकी थिएँ – हामी हिमाल र हिमाल आरोहणसँग सम्बन्धित समाचार लेखिरहन्छौं, हामी आफै नै अब यस्तो समाचार किन नबन्ने ?

एभरेष्ट एउटा सिम्बोलिक र रिस्क दुवै यात्रा हो। ख्यालख्यालैमा मनबाट निस्केको त्यही प्रस्ताव मनैमनभित्र योजना बनीसकेछ।

देउराली – मैले बञ्जिजम्प गरेको भिडियो बिप्लव प्रतीक दाइले हेर्नुभएकोरहेछ। बिप्लव दाइले एउटा टिम बन्दैछ सगरमाथा आरोहणको, तिमीले सक्छौं जाउ भनेर सम्पर्क नम्बर दिनुभयो, त्यो नम्बर रोसाको रहेछ। पहिलोचोटि भृकुटीमण्डपमा भेट्यौं रोसासँग। साथमा रोजिता पनि थियो। पासाङ ल्हामु बितेको समाचार पढेपछि घरमा आमाले पासाङलाई सम्झँदै भन्नुभएथ्यो– ‘कोही पनि अजम्बरी हुँदैन, तर यो शेर्पिनी अजम्बरी भयो’।

मलाई आमाले सम्मानपूर्वक भन्नुभएको त्यो वाक्य याद आयो र जिन्दगीमा एकपल्ट मर्नैपर्छ भने के को डर ? कि त मरिन्छ, कि सफल भइन्छ भन्ने भयो र टिममा साथ दिने वचन प्रकट गरें पहिलो भेटमै। पत्रपत्रिका पढ्ने, त्यसमा भएको फोटो देखेर आफ्नै समाचार, रचना छापिएको कल्पना गर्ने गर्थें, त्यही रहरले पछि पत्रकारिता नै गरें। पत्रकार भएकैले होला सगरमाथा आरोहणका लागि महिला पत्रकार खोज्ने क्रममा विप्लव दाइले सम्झनुभयो र यो टिममा भेट भयो। यही अवसरले हामीलाई सामुहिक रूपमा एभरेष्ट मिसनलाई सफलताका साथ पूरा गर्ने दुर्लभ अवसर दिलाई दियो।

रोजिता –थाहा छैन मैले देखेको सपना प्रायः विपना बन्दोरहेछ। सोच जे लिएँ, त्यो सार्थक पनि हुँदोरहेछ। घरको सानो फल्याक जस्तो कौसीमा उत्तानो परेर जब आकाश हेर्थें, मैले सम्झिहाल्ने भनेको मेरी आमा हो, जसको रूपरङ्ग मलाई केही थाहा छैन, २ वर्षमै गुमाएकी हुँ आमालाई।

आकाशमा जब हेरिरहन्थें। बारम्बार देखिने आमाको स्वरूप र हजुरबाले बताउनुभएको आकाशगंगा अर्थात् ताराहरू नै हुन् । तिम्री आमा भन्नुको संयोग होला मलाई त्यो आकाशगंगा पुगेर आमा भेट्ने ठूलो रहर थियो। म पछि मेरो भाइ जन्मिएको हो। तर मलाई आमा टोकुवा, आमा खाएर हुर्केकी भनेर छरछिमेकबाट ठुलो अपवाद लगाएको थियो।

अरु बच्चासँग सरोबर खेल्न पाउँदैन थियौं। अलच्छिन भनिन्थ्यो। मैले छोएको भनेर कतिपटक पानी समेत फ्याँकिदिन्थ्यो। (रोजिताको गला अवरूद्ध हुन्छ र बर्षन्छ आँसुका हुलहरू, सामाजिक असहिष्णुताका यी कुराहरू कहाँ सह्य हुनसक्छ र ? हामी सबै मौन रहन्छौं केहीबेर)

यस्तो सामाजिक कुरीतिका बीच पनि मलाई मेरा दिदीले आमाले दिनुहुने माया, स्याहार दिएर हुर्काउनुभयो र मलाई के सजिलो भयो भने भाइसँग व्यक्तिगत रूपमा कुनै पनि कोणबाट लैङ्गिक हिनताबोध गर्नुपर्ने समय नै आएन। दिदीहरूले बराबर माया र अवसर दिएर हुर्काउनुभयो।

आकाशगंगामा पुगेर आमा भेट्ने सानोदेखिको रहरले होला विज्ञानको विद्यार्थी बनें। तर्कसङ्गत बोल्न मनलाग्ने मलाई त्यसैले हाजिरीजवाफ, वादविवाद प्रतियोगितामा स्कूलदेखि नै प्रथम भइरहें। एसएलसीपछि एमबीवीएस. पढ्नुपर्छ भन्ने सुझावहरु थियो, तर इन्ट्रान्स परीक्षा दिने पैसा समेत नभएकोले दिन सकिनं।

त्यसपछि पत्रकारिता गर्छु भन्ने सोच थियो, सोचले साथ दियो। चित्रकला, मूर्तिकला, शीलालेख बनाउने हजुरबुबाको पुस्तेनी कर्म हो। अनि परम्परागत लोकनृत्य गर्ने घरेलु माहौल आदिको कारणले होला ममा अभिनयको राग पनि रहेछ, पछि नाट्य अभिनयमा पनि लागें। तर यो सगरमाथा यात्रा एउटा बिल्कुलै भिन्न क्षेत्र र सपना यति चाँडै यसरी पूरा भयो भन्नेमा म पनि अचम्म पर्छु। एउटा संयोग भनौं मेरो बुबा बित्नुभएको भर्खर ५ दिन भएको थियो।

मसँग भएका साथीहरूसँग प्लेनभित्रै मैले भनेको थिएँ – ऊ त्यो हिमालको टुप्पामा एउटा मान्छेको आकृति छ, मलाई त त्यसले बोलाइरहेछ। केहीबेरमा काठमाडौ ल्याण्ड भयो। मैले मोबाइल अन गरें, तुरुन्तै फोन आयो, उठाएको रोसाको रहेछ, सगरमाथा आरोहणको लागि टिम बनाउँदैछौं, तपाई ईच्छुक हुनुहुन्छ?

अरु विविध क्षेत्रहरूमा थोरैथोरै संलग्न भएपनि हिमालको विषयमा कहिल्यै कुनैबेला पनि सोधखोज नगरेको र कुनै सम्पर्क सूत्र पनि नभएको मैले रोसाको त्यो फोन संवादमा एकै शब्दमा भनें ‘एस’।

सगरमाथाको चुचुरोमा पुगेपछि मैले पहिलोपटक आमालाई नै भेटेको महशुस गरें, अन्तरमनमै कुराकानी गरें। त्यसैले कहीँ न कहीँ, कतै न कतै आमाले बाटा देखाइरहनुभएको छ भन्ने महशुस भइरहन्छ मलाई।

टीममा सबै साथीसँगको भेट रोसाले नै जुराइदिएको हो ?

रोसा – हो दिदी। शुरुमा मैले अघि नै भनें नि सृष्टि काफ्लेसँग सेयर गरेपछि सरस्वती कटुवाल, शैली बस्नेतसँग बसेर हिमालको विषयमा कुराकानी गरें। शैली बस्नेतले कल्पना महर्जनसँग भेट भन्नुभयो र भेटें। त्यसपछि प्रियालाई सृष्टिले सम्पर्कमा ल्याउनुभयो।

प्रिया शुरुमै भेट्दा एकदमै सक्रिय लागेको। अलिकति छुच्ची जस्तो तर भिजन भएको र केही गरौं, काम गरेर छाउनुपर्छ भन्ने स्वभावको सजिलो मान्छे लागेको थियो। कल्पना त्यति नबोल्ने। टिमसँगै जाउँ–जाउँ जस्तो ईच्छा देखाएको जस्तो पनि लाग्ने तर खुलेर नबोल्ने स्वभावको।

कुरा सुन्दा एउटा अनुभवी मान्छे टिममा हुँदा राम्रो हुन्छ भन्ने लाग्यो। रोजितालाई भेट्नुको संयोग अर्कै छ।

त्यहाँ जब नाटकको शुरुवाती म्युजीक बजेको मात्रै थियो, नाटक रोकियो। केहीबेरमै एउटा एनाउन्स भयो – ‘नाटकको लिड आर्टिस्ट रोजिता बुद्धाचार्यको बुबा बित्नुभएको खबर आयो। नाटक सो गर्ने कि नगर्ने भन्ने छलफलमा वहाँले नाटक गर्छु भन्नुभएकोले हामीले नाटक केही क्षण ढिला भएपनि शुरु गर्नलागेका छौं।’ नाटकभरि रोजिताको अभिनय जस्तै उनको शाहस, संयमतालाई मुटु बाँधेर हेरेपछि नाटक समापन हुनासाथ धाप मारेर फर्केका थियौं। पछि उनी पत्रकार हो भन्ने थाहा पाउनेबित्तिकै उनलाई अभियानमा जोडिन प्रस्ताव गरें मैले।

देउराली – प्रियाको एउटा कुरा असाध्यै सम्झिन्छु म। जब हाम्रो टिम भर्खरभर्खर बनेको थियो, उनले भनेकी थिई कि हामीसँग भनेको बेला पैसा हुँदैन, मोबाइलमा ब्यालेन्स पनि हुँदैन, सँधै नेट पनि हुँदैन, त्यसैले फोनमा महत्वपूर्ण कुरा गर्ने एक एक मिनेटमा सकाउने गरौं।

रोसा – अनि प्रियाको एउटा मीठो कुरा नोटेड छ मलाई – हामी एकले अर्कालाई राम्ररी अझै चिनेका छैनौं त्यसैले एकले अर्कोलाई माया गरौं, हेरविचार पनि गर्ने गरौं।

रोजिता – हो नि। त्यसो गर्दा एकअर्कासँग अझ वढी नजिक हुनसकियोस् भन्ने धारणा थियो त्यो प्रियाको। सबैलाई घुलमिल गराउने प्रयत्न हुन्थ्यो प्रियाबाट।

शायद प्रिया अहिले टीममा नभएको र कुराकानीमा साथ नभएकोले रोसा, रोजिता, देउराली उनको चञ्चलतालाई वढी नै सम्झिरहेका थिए भने कल्पनाको विषयमा भने उनीहरू त्यति खुलेर बोल्न चाहेनन्।

कल्पनाको विषयमा उनीहरूको एउटै मत थियो कि कल्पनालाई सगरमाथा आरोहण सफल गर्न एउटा बलियो माध्यम चाहिएको रहेछ, त्यो भनेको सशक्त टिम रहेछ। जब टिमको उपयोग गर्न सफल भयो, त्यसपछि उनलाई अब टिम चाहिएन। सबै मैले गरेको हो भन्ने भ्रममा रमाइरहेको छ। अघि हामीले शेर्पाको कुरा गरेजस्तै हो।

मैले कुराको बिट मोडेर समापनतिर लागें।

तपाइहरूले हिमाल चढेर के भो ?

सबैको समान उत्तर – चाह्यो भने हुँदोरहेछ भन्ने प्रमाणित भयो। लगावका साथ लाग्यो भने हरसम्भावना सफल हुनेरहेछ भन्ने भयो। कलम चलाउने हातहरू आइस फोड्न जाने भन्थ्यौं। अब प्रमाणित गरेका छौं। अनि अर्को कुरा हामी हिमालसँग युद्ध गरेर बिजय प्राप्त गर्न गएका होइनौं।

हिमाल हिमाल नै हो हिमाल नै भएर रहिरहनुपर्छ, यसका लागि हिमाल के हो ? भन्ने थाहा पाउँन जरुरी छ, हामी त्यो थाहा पाउँन गएका हौं तर गएर आइसकेपछि झन् धेरै थाहा पाउन बाँकी रहेको केही पनि थाहा नभएको भन्ने बोध गरेर आएका छौं। यस अर्थमा हिमाललाई चिन्नु, चिनाउनु, बुझ्नु, बुझाउनु हाम्रो नयाँ जिम्मेवारी हो भन्ने सोच बनाउँन पाएका छौं र यही सोचलाई सही कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनेगरी योजना बनाउन लागिपरेका छौं।

बहादुर शेर्पाहरूको हिमालसँगै समर्पित जीवनका विषयमा धेरै अध्ययन, अनुसन्धान गर्नुपर्ने आवश्यकता महशुस गरेका छौं।

अब यही टिमले फेरि कुनै सामुहिक योजना वा सपना बनाएको छ ?

रोसा – देशैभरि रहेका भर्जिन पीकहरू चढ्ने र जहाँ जहाँ चढ्दै गयौं, त्यसको चर्चा, परिचर्चा गर्ने र नयाँ नयाँ नाम दिँदै जाने भन्ने विषयारम्भ गरेका छौं।

रोजिता – हिमाल के हो ? भन्ने विषयमा बल्ल हामी प्रवेश गरेका छौं। जन्मेदेखि नमरेसम्म त्यही हिमालसँग खेलिरहने शेर्पाहरूको दुःखकष्ट बल्ल हामीले बुझ्दैछौं। जहिले पनि फुर्बाले के भनिरहन्छ भने हिमाल र हिमाल आरोहणको विषयमा एउटा राम्रो किताब लेख। मैले पढेको छैन भन्छ बारम्बार तर हिमाललाई ऊ र ऊजस्तै शेर्पाहरूले जति कस्ले पढेको छ ? त्यसैले ऊ भनिरहन्छ, ‘कत्तिलाई भनें लेखेन, तिमीहरूले लेख’।

कति सामान्य आग्रह छ, तर त्यसैमा गाँसिएको कति ठूलो सपना छ। पुस्तक त लेखौंला तर खालि आफै हिँडेको, डुलेको कुरा लेख्ने कि फुर्बाले भनेजस्तो हिमाल र हिमालको विविधताको विषय लेख्ने ? म यतिबेला हाम्रो यात्राको पूर्ण डकुमेन्टेसन त्यसपछि फुर्बाको आग्रह बमोजिम पुस्तकको फ्रेमिङ पनि गरौं भन्नेमा छु।

त्यसपछि रोसाले भनेजस्तो भर्जिन पिकहरू र सगरमाथा सरसफाई तथा हिमालसँग सम्बन्धित जनचेतना कार्यक्रमहरू क्रमश सामुहिक योजना बनाएर जाउँ भन्नेमा छु।

देउराली – जे गरेपनि अब हामी यतिजना सामुहिक उद्देश्यबाट अलग हुनेछैनौं। सँगसँगै छौं।

शेर्पा समुदायको दुःख, मेहेनत हिमालप्रतिको लगावलाई लिएर राज्यसँग तपाईको के अपेक्षा छ ?

फुर्बा – खुशीले र रहरले हिमाल हेर्न होइन, दुःखले हिँडेका छन् शेर्पाहरू। घरबार छाडेर निस्केका छन्। गाउँमा दुःख नै दुःख छ। बालबच्चालाई पढाइदिए हुन्थ्यो सरकारले।

हामी त यस्तै भयौं, हाम्रा बच्चाहरू लेखपढ गर्नसके हुन्थ्यो र गर्व लाग्थ्यो। अहिले त अर्को कुनै ठुलो ईच्छा छैन, मेरो त्यही दुःखी गाउँमा स्वास्थ्य चौकी र शिक्षाको प्रबन्ध गर्नसके हुन्थ्यो भनेर म आफै पनि लागिरहेको छु।

आफैं दुःखजिलो गरेर पढे-लेखेका शेर्पाहरू बाबु, बाजे र दाजुहरुले गरेको पुस्तेनी हिमाल चढ्ने पेशा गर्न रुचाउँन छोडेका छन्।यो क्रम बढ्दै जाँदा कुनै दिन यस्तो पनि आउँन सक्छ जुन दिन हिमाल चढ्ने शेर्पा नै पाउँन गाह्रो  हुन्छ।

सरकारबाटै व्यवस्थापन हुनसक्यो भने राम्रो राम्रो ट्रेनिङ दिएर दक्ष प्रशिक्षक उत्पादन गर्ने क्षमता छ हामीसँग।

“फुर्बा शेर्पाको गाउँ बेदिङ हो। दोलखाको रोल्वालिङस्थित अत्यन्तै विकट उनको गाउँबाट नजिकैको स्वास्थ्यचौकी भएको ठाउँ सिमीगाउँ आइपुग्न हिँडेरै आउनुपर्छ र कम्तिमा ३/४ दिन लाग्छ। त्यहाँबाट गाडी लाग्ने ठाउँ गोंगल खोला भन्ने स्थान पुग्न एक दिन लाग्छ।

त्यो विकटताबाट १३औं पटकसम्म सगरमाथा आरोहण गरिसकेका फुर्बाको सपना छ- बेदिङमा कमसेकम सिटामोल बाँड्न एउटा हेल्थपोष्ट होस्। उनले आफ्नो व्यक्तिगत पहलमा सरकारको प्रशासनिक झमेलासमेत झेल्दै सिफारिशको पत्रेपत्रे कागज तयार त गरेका छन् तर काम बेसक्याम्पबाट अघि बढ्नै सकेको छैन। तैपनि रसिलो उही हिमाली हाँसो उनको अनुहारमा छँदैछ।”

प्रकाशित मिति: : 2019-03-22 00:42:26

प्रतिकृया दिनुहोस्