तपस्वी बम्जनलाई पक्राउ गर्न गएको प्रहरी टोली रित्तो हात फर्किए

एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ। सिन्धुलीको सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिपालिका–८, पहिरे आश्रममा शुक्रबार विहान पुगेको प्रहरी टोली उनलाई नभेटेपछि फर्किएको हो।

आश्रममा बमजन नभेटिएको र उनी बस्ने गरेको भवनमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपसी श्यामबहादुर केसीले बताए।

‘यहीँको आश्रममा भएको आशंकामा हाम्रो टोली पुगेको थियो, तर उनी आश्रममा रहेनछन्।’ केसीले भने ‘उनी नभेटिएपछि हामी फर्कियौं।’ उनका अनुयायीहरुले गुरु कहाँ भएको आफूलाई थाहा नभएको बताएको उनले जानकारी दिए।

बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको उजुरी परेको छ। उनको आश्रममा गएका ४ जनाको अभिभावकले आफ्ना सन्तान बेपत्ता भएको भनी प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले उनलाई खोजी गरे पनि अहिलेसम्म नभेटिएको बताइरहेको छ।

बिहीबार जिल्ला अदालत सिन्धुलीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। त्यसलगत्तै उनी आश्रमबाट भागेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

यसअघि पनि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविन गरेको थियो। त्यसबेला पनि प्रहरीले पैरे आश्रममा खोजबिन गरेको थियो। त्यो बेलमा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।
 

प्रकाशित मिति: : 2020-02-08 02:08:08

प्रतिकृया दिनुहोस्