काठमाडौंको ऐतिहासिक धरोहरलाई बोकेको भीमसेन स्तम्भ अर्थात धरहराको निर्माण कार्य तीब्र रूपमा अगाडि बढेको छ। १८८१ सालमा निर्माण भएको धरहरा २०७२ सालको भुइँचालोमा पूर्णरुपले क्षतिग्रस्त भएको थियो। बीचको केही वर्ष राजनीतिक अस्थिरताका कारण अन्यौलमा परेको धरहरा निर्माण कार्य गत मंसिरदेखि सुरु भएको हो। हाल २२ तलामा निर्माण भइरहेको धरहराको छैटौं तलका ढलान सम्पन्न भइसकेको छ।
राष्ट्रिय पुन निर्माण प्राधिकरणका अनुसार माघ ५ सम्म धरहरा पुननिर्माण कार्य सम्पन्न भइसक्ने लक्ष्य राखिएकाे छ। प्राधिकरण विज्ञ राजुमान मानन्धरले अब बन्ने धरहराले नयाँ मूल्य र मान्यता बोक्ने बताए।
‘हामी भीमसेन स्तम्भकै स्वरुपमा धरहराको निर्माण २२ तलासम्म बनाउने छौं,’ उनले भने। अब बन्ने धरहराको कूल लागत २ अर्ब ५० करोड हुनेछ। ‘धरहरालाई हामीले दुई तरिकाले अवलोकन गर्न सक्ने छौं। पहिलो परम्परागत रूपमा सिडी चढेर र अर्को लिफ्टमार्फत। आठौं तलमा हल हुनेछ। जसमा स्वचालित रूपमा मानिसको प्रवेशसँगै भुकम्पसम्बन्धि कार्यक्रम सञ्चालन हुनेछ,’ मानन्धरले भने।
धरहराको स्वरुप भित्रिरुपमा आधुनिक भएपनि बाहिरबाट हेर्दा १८८८ कै मोडलमा हुनेछ। सिडी पनि गोलाकार हुनेछ। १३ तल्लामा बाल्कोनी हुनेछ भने त्यहीँबाट काठमाडौंको दृश्य नियाल्न सकिने छ। ‘२० औं तल्लामा सिसासहित सुरक्षित सानो कम्पाउन्ड हुनेछ र २२ तलमा गजुर राख्ने छौं,’ उनले बिएल नेपाली सेवालाई बताए।
नयाँ व्यवस्था अनुरुप बनिरहेको धरहराको ग्राउन्ड फ्लोरमा नेपाली कला, संस्कृतिसँग जोडिएको हस्तकला बेच्न राखिदैछ। ‘सुन्धरा वरिपरिको ठाउँ समेटेर टुँडिखेलदेखि खिचापोखरी जाने बाटोमा सानो चौर र प्रवेशद्धारको निर्माण गर्नेछौं। भुइँचालोको कारण आशिंक मात्र रहेको धरहराको भागलाई सिसामा संरक्षित गरेर बाहिरबाट हेर्न मिल्ने बनाइने छ,’ उनले बताए।
धरहरा निर्माणका लागि हाल दैनिक २ सय कामदार बिहान ७ देखि बेलुका ६ सम्म कार्यरत छन्। केही कामदार ओभर टाइम पनि काम गरिरहेका छन्। कामदारले प्रत्येक दिन ७ सयको दरले पारिश्रमिक पाइरहेको सिरहाका राकेश चौधरी बताउँछन्। उनले ओभर टाइमबापत घण्टाको ७० को हिसाबले पैसा पाउने व्यवस्था गरिएको पनि बताए।
‘अहिले यहाँ काम गर्ने नेपाली र भारतीय बढी मात्रामा छौं। रौतहट, सर्लाही र सुनसरीका बढी छौं,’ उनले भने।
भीमसेना थापा प्रधानमन्त्री हुँदा रानी त्रिपुरा सुन्दरीको आदेशमा धरहराको निर्माण भएको थियो। जसमा गोलाकार १ सय १३ वटा भर्याङ थिए। पहिले आठौं तलामा बरण्डा थियो। जहाँबाट काठमाडौंको दृश्यावलोकन गर्ने गरिन्थ्यो। १९९० को भूइँचालोमा धरहराको ११ तलमा चिरा परेपछि तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले धरहराको पुननिर्माण गराएका थिए। त्यति बेला ११ तलाबाट तल झारेर ९ तल्लाको निर्माण गरिएको थियो।