डेढ दशकअघि मिठु थापामगर आफूलाई संसारकै सबैभन्दा भाग्यमानी महिला ठान्थिन्। सबै कुराले सम्पन्न। एक छोरी र छोराकी आमा।
छोरीबाट नातिनी। छोराबाट नाति। आफैं महिला हवल्दारबाट अवकाश प्राप्त। श्रीमान डोमबहादुर थापा पनि आर्मीका अवकाश प्राप्त जागिरे।
दुबैको इच्छा थियो, छोरा र छोरीलाई पढाएर ठूलो मान्छे बनाउने। यसका लागि मिठुले मिहिनेत नगरेकी पनि होइनन्। तर, श्रीमानको निधन भएपछि उनको जिन्दगीले बेग्लै मोड लियो।
छोराको पनि निधन भयो। छोरी पक्षघातका कारण बेसहारा बनेकी छिन्। ज्वाई ७ वर्षअघि अर्को केटी लिएर भागे। २ वर्षअघि छोरीलाई पक्षघात भयो। अहिले छोरीको एकमात्र सहारा उनै आमा बनेकी छिन्।
छोराको गत माघमा निधन भएको थियो। बुहारी वैदेशिक रोजगारीका लागि बहरान गएपछि नातिको पनि यही असोजमा निधन भयो।
अहिले छोरीतर्फको नातिनीले कहिले काहीँ पठाउने पैसा तथा आफ्नो पेन्सनबाट आउने केही रकमले मिठु आफ्नो रुग्न ज्यान मात्र होइन, ४१ वर्षीय अपाङ्ग छोरीको समेत उपचार गराइरहेकी छिन्।
७४ वर्षको उमेरमा उनलाई पहाडले थिचेझैं भएको छ। तर, उनीसँग कुनै उपाय छैन। २ वर्षअघि ललितपुरको खोकनाबाट बसाई सरेर काठमाडौं आरुवारी नजिकै माइत छेउ आएकी मिठु पैसा अभावका कारण चाँड पर्वमा पनि आफ्नै डेरामा खुम्चिएर बस्छिन्। भन्छिन्, ‘मेरो दुःख मसँग छ। मैले जस्तो दुःख अरु कसैले नपाओस्।’
मिठुले २१ वर्षको उमेरमा २०२३ सालमा महिला प्रहरीमा काम सुरु गरेकी थिइन। कामकै सिलसिलामा गुल्मीका डोमबहादुरसँग २०३१ सालमा उनको प्रेम विवाह भएको थियो। पहिले छोरी र त्यसपछि छोराको जन्म भएपछि उनीहरूले थुप्रै योजना बनाएका थिए।
तर,छोरीले सानै उमेरमा ड्राइभरसँग प्रेम विवाह गरेपछि र छोरा जाँडको लतमा डुबेपछि मिठुको सपना चकनाचुर भयो।
छोरा पनि पहिले नेपाल आर्मीको जागिरे थियो। तर, माओवादी जनयुद्धको बेला मर्छु भन्ने डरले जागिर छोडेर फर्किएपछि रक्सीको लतमा डुबेको थियो। ‘मलाई त भनेर हेला गर्थ्यो,’ उनले भनिन्, ‘आमाको दर्जा कहिल्यै दिएन। रक्सी पानी पिएझै् पिउँथ्यो।’
मिठुले ३६ वर्षको उमेरमा छोरा रजेन्द्र थापामगरलाई गुमाएकी थिइन। छोराको वैवाहिक सम्बन्ध राम्रो नभएको बताउँदै उनले भनिन्, ‘सन्तानको नाममा एउटा नाति थियो। त्यो पनि संसार छोडेर गयो।’
मिठु आफ्नो ज्वाईको व्यवहारबाट निकै दुःखी छिन्। ‘छोरी अपाङ भएको कारण ज्वाई नै हो,’ उनले भनिन्, ‘भेटे भने खुट्टा भाचिदिन्छु।’
छोरी बबितालाई ३९ वर्षको उमेरमा पक्षघात भएको थियो। ‘विवाहित छोरी अपाङ भएर आफूसँग बस्दा नमज्जा लाग्दो रहेछ। दुई वर्षदेखि हेरविचार गरिरहेको छु,’ उनले दुःखेसो पोखिन्–‘म आफै बिरामी। छोरीको दिशापिसाब सोर्नुपर्छ।’
उनले नातिनी हाल ओमानमा काम गरिरहेको बताइन्। र भनिन्, ‘उसले बरु केही सहयोग गरिरहेकी छ।’
उनले आफ्नो श्रीमानको ४ दाजुभाई रहेको र त्यसमध्ये आफ्नो श्रीमान माइलो भएको बताइन्। ‘देवरले गुल्मीमै बोलाएका थिए। तर, बुढे्सकालमा उकालो र ओरालो गर्न नसक्ने कारण जान सकिन’, उनले बताइन।
उनले पेन्सनबापत आउने १० हजार रुपैयाँले आफ्नो र छोरीको गुजारा भइरहेको बताइन। ‘श्रीमान भएको भए यस्तो दुःख हुदैन्थ्यो,’ भावुक स्वरमा उनले भनिन्– ‘म मरे पश्चात मेरो छोरीको हालत के होला? कसले स्याहार गर्ला?’
अहिले उनको चिन्ता त्यति छ।