बागलुङमा व्यावसायिक कागती खेती

बागलुङ जिल्लाको  गलकोट नगरपालिका–११ रिघामा एक व्यक्तिले व्यावसायिक कागती खेती शुरु गरेका छन्। २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन्।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेती गरेको उनले बताए। कागती खेतीसंगै बाख्रा पालन गरेको बताउदैं उनले भने, 'कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालन गर्न थाले।'

कागती खेती गर्न र बाख्रा पालन गर्नका लागि जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै रु २३ लाख लगानी गरिसकेको उनको भनाई छ।

गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको उनी बताउछन।

श्रीषको फार्मलाई कृषि ज्ञान केन्द्र परिवर्तनले रु दुई लाख र गलकोट नगरपालिकाले रु ५० हजार उपलब्ध गराएको गलकोट नगरपालिका–१० का अध्यक्ष डम्मर श्रीषले जानकारी दिए।

नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको वडाध्यक्ष श्रीषको भनाई छ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष नगरपालिकाभर छ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको गलकोट नगरपालिका कृषि तथा पशु शाखा संयोजक हरिदत्त सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-06 01:17:45

प्रतिकृया दिनुहोस्