वीरगन्जदेखि पोखरीया जाने बाटोमा पर्ने तिलावे पुल कटेपछि दक्षीणको एउटा गाउँमा गोँढ समुदायकी ६० वर्षीय एक वृद्धा सडक किनारमा घोन्सार चलाएर बसेकी छन्।
घोन्सार भनेको तराई/मधेशमा भुजा भुज्ने ठाउँ हो। जहाँ माटोले बनाएको विशेष प्रकारको चुलोमा माटोकै हडिँया भित्र बालुवा राखेर तताईन्छ। सोही बालुवामा चामल, मकैं भटमासलगायतका अन्न भुट्ने गरिन्छ।
घर तथा मेसिनमा भुटेको भुजा भन्दा यसको स्वाद फरक भएकाले घोन्सारीमा भुजेको भुजा खान मधेशका मानिस ललायीत हुन्छन्।
विशेष गरी यसमा आनन्दी चामलको भुजा खान मानिसहरू मन पराउँछन्। आनन्दी चामल अन्य भन्दा फरक र लावा (फूल) जस्तै फुट्ने भएकाले ग्रामिण भेगका किसान भुजा खानकै लागि छुट्टै उब्जाउ गरि भण्डारण गर्छन्।
पर्साको पकहामैनपुर गाउँपालिका वडा नं ४ लहावर थकरीकी ६० वर्षिय मिर्खुना देवी गोंढ जातिकी हुन्।
उनको घोन्सार चुलो छेउमा गाउँका महिला तथा स–साना बालबालिकाहरू चामलको भुजा खानको लागि जम्मा हुन्छन्।
मिर्खुना देवीले सञ्चालन गरेको घोन्सारमा भुजा भुट्ने काममा गाउँका युवति र महिलाले सघाउँदै आएका छन्। जसमा एक सामुदायिक मेलमिलाप झल्किरहेको प्रष्ट देखिन्छ।
एकल महिला भए पनि यो कामका लागि उनी एक्लै थिईनन्। उनी घोन्सारीमा निकै व्यस्तता भए पनि आफूलाई निकै खुशी राखेकी छन्। किनकि, गाउँका महिलाले उनलाई घोन्सारीवाली काकी भनेर बोलाउँछन्।
उनको कपाल फुलेर सेतो छ। तर, जाँगर भने भर्खरकी युवति जत्तिकै छ।
आफू यो पेशामा बाल्यकालदेखि नै लागेको उनले बिएल नेपाली सेवालाई बताइन्। ‘यो पेशा मैले आफ्नो आमाबाट सिकेकी हुँ, म होस सम्हालेदेखि आमालाई सघाउँदै आए’, उनले भनिन्।
आमाबाट सिकेको सिपले उनलाई श्रीमान बितेपछि पनि जिविकोपार्जन गर्न सघायो।
घोन्सार गोँढ जातिको परम्परागत पेशा भएकाले विवाह पछि पनि यो पेशामा उनी निरन्तर लागिरहिन्। उनको सासुआमा पनि घोन्सार नै चालाउँथिन्। सासु बितेपछि घोन्सारीको सबै जिम्मा उनैले लिइन्।
निरक्षर उनी आफ्नो पालामा शिक्षा पाउन मुश्किल भएको गुनासो गरिन्। आफ्नो कति वर्षको उमेरमा विवाह भएकोसमेत थाहा नभएकी उनले घोन्सारीमा आएकी एक १२ वर्षिय बालिकातर्फ इंगित गर्दै भन्छिन्,‘मेरो विवाह यो नानीको उमेरमै भएको थियो।’
बालविवाहमा परेकि उननले कम उमेरमै २ सन्तानकी आमा भईन् । आफू शिक्षाबाट बञ्चित भए पनि उनले आर्थिक अवस्था कमजोर हुँदा हुँदै छोरालाई जसोतसो कक्षा ८ सम्म पढाइन्। तर, छोरीलाई चाहेर पनि पढाउन सकिनन्। अहिले छोरी बिहे गरेर गइसकेकी छन् भने छोरा अटो चलाउँछन्।
‘श्रीमान बितेको १० वर्ष भयो’, मिर्खुना देवीले भनिन्, ‘श्रीमान हुँदा उनले खेती किसानी गर्थे म श्रीमानसँगै अरूको खेतमा मजदुरी र फुर्सतको समयमा घोन्सार चलाउने गर्थेँ’, यति भन्दै उनी भुट्दै गरेको आनन्दीको चामल चाल्नोमा चाल्न थालिन्।
चिसो मौसममा गाउँघरतिर तातो भुजा खान मन पराउने भएकाले दिउँसोदेखि घाम नअस्ताउन्जेलसम्म काकीको घोन्सारीको चुलो निरन्तर जलिरहन्छ।
‘घोन्सारीमा चाहिने सामानको जोहो आफैं गर्छु, हप्ताको एक दिन नदिको बालुवा ल्याउँछु र हरेक बिहान उखुको पगार (उखुँको पात, जसलाई सुकाएर घोन्सरीको चुलोमा दाउराको रूपमा प्रयोग गरिन्छ) लिन खेताला जान्छु। उनी साहुको उखुको पात हटाएको ज्यालाको रूपमा पात नै लिने गर्छिन्।
यता बजारको व्यवसायीक पसलभन्दा घोन्सारीको नियम फरक हुन्छ। हातमा पैसा छैन भने चामल साटेर भुजा भुजाउन पनि सकिन्छ। जुन हरेक घोन्सारीको नियम नै हो।
यता साना केटाकेटी लागि त झनै रमाईलो-बिना पैसा चामल साटेर भुजा खान पाईने।
अधिकांश ग्रामिणवासीको दिवा खाजा घोनसारीको भुजा भएकाले उनको यो समय राम्रो आम्दानी हुन्छ।
मेर्खुना देवीले ४ किलो चामलको भुजा भुटेवापत १ किलो चामल लिने गर्छिन्। यस्तै १ किलो चामल वापत आधा किलो चामल लिन्छिन्।
यदि पैसा दिएर भुजा लिन चाहनेले १ किलो चामल बराबर ३० रूपैया दिने गरेको उनले बताईन्। यसरी दिनको उनले ५ किलो देखि १० किलोसम्म चामलको भुजा भुटने गर्छिन् र सो वापत भार र पैसा लिने गर्छिन्।
बितेको माघे संक्रान्तिका बेला लगातार ६ दिनसम्म १ दिनमा ३० किलोसम्म चामको भार परेको बताउँछिन्। ६ दिनमा लगभग २ क्वीन्टल जति चामल भारको रुपमा आएको उनले बताइन्।
यहाँबाट आएको रूपैया पहिले छोराको कमाई नहुँदा घर खर्चमा लगाउँथिन भने अहिले आफ्नो औषधि उपचारमा खर्च गर्ने गर्छिन्।
भुजा भुटेको भारको रुपमा आएको चामलले घर खर्चमा सहयोग पुगेको छ। यसरी आमा र छोराको कमाईबाट अहिले ७ जनाको परिवार चलिरहेको छ।
सडक किनारमै उनको घोन्सार भएकाले आवतजावत गर्ने यात्रुले पनि उनको भुजा लिएर जान्छन्। पहिले हरेक गाउँमा एउटा घोन्सार सहजै भेटिन्थ्यो। तर, अहिले यो पेशा लोप हुँदै गएको छ।
उनी कहाँ खेस्राहा, भेलाहा मधुवनि सुज्राहालगायतका गाउँवासी भुजाको लागि आउँछन्। उनी आफ्नो यो पेशाबाट निकै खुशी छिन्। ‘अहिलेको महंगीमा एक जना छोराको कमाईले ७ जनाको परिवार चलाउन कठिन छ, फुर्सतको समय घरमा बिताउनुभन्दा जाँगर चलेसम्म घोन्सारीलाई निरन्तरता दिन्छु’, उनले भनिन्।