अक्षर आरम्भीय व्यापार

जुम्लाको चर्चित ब्रान्ड मार्सी धानको खेती प्रारम्भ पनि यसै दिन सुरु हुन्छ। मार्सी धानको क्यालेन्डरमा बसन्त पञ्चमी र श्रीपञ्चमी एक विशेष दिनकाे रुपमा दर्ज छ।

बसन्त पञ्चमी र श्रीपञ्चमी जुम्लीको लागि विशेष छ। विद्यार्थी र धर्मशास्त्रका लागि झन् विशेष। श्रीपञ्चमीलाई विशेषत: खिचडी खाने दिन भनेर चिनिन्छ। मार्सी चामल, सिमीको दाल, घ्यू, मरमसला मिसाएर बनाउने विशेष परिकार खिचडी सपरिवार मिलेर खाने मात्र नभइ कागलाई समेत पाहुना मानेर बोलाइने हुनाले बेग्लै महत्त्व छ। 

जुम्लाको चर्चित ब्रान्ड मार्सी धानको खेती प्रारम्भ पनि यसै दिन सुरु हुन्छ। मार्सी धानको क्यालेन्डरमा बसन्त पञ्चमी र श्रीपञ्चमी एक विशेष दिनकाे रुपमा दर्ज छ। किनभने जुम्लीले यसै दिनलाई शुभ साइत भन्दै धानको बेर्ना तय गर्छन्। कसैको बीउ राख्ने बेर्नो छैन भने छिमेकीसँग सरसल्लाह गरि बेर्नाको कुरा मिलाइन्छ। बेर्नो तयार भइसकेपछि सफा गर्ने काम पनि उही दिनबाट सुरु हुने बताउँछन् जुम्ली संस्कृतिका जानकार रमानन्द आचार्य।

याे पनि: ‘हाम्रा विरुद्व डरलाग्दो प्रचारयुद्व छेडिएको छ’ 

धर्मशास्त्रले विद्याकी देवी भनेर सरस्वतीको पुजा पनि उही दिन गर्ने भएकाले विद्यार्थीका लागि विशेष महत्त्वको दिन हाे। धेरैले सरस्वती पुजालाई अक्षर आरम्भ गर्ने दिनको रुपमा लिन्छन्। 

सुरुमा घर नजिक रहेका सरस्वतीका मन्दिरमा केहीले पुजा गर्ने भए पनि विस्तारै सरस्वती पुजालाई सामुहिक पुजाकाे रुपमा ग्रहण गर्न थालिएको छ। 

यसलाई देशका अधिकांश विद्यालयले उत्सवको रुपमा मनाइरहेका छन्। तर बसन्त पञ्चमीको तिथि माघ महिनाभित्र मिल्ने हुनाले जुम्लामा सरस्वती पुजाको संयोग जुर्दैन। किनभने पुस, माघमा जाडो विदा हुन्छ। विदामा स्कुलले उत्सव मनाउने झमेला गर्दैनन्। यसकारण जुम्लामा स्कुलदेखि क्याम्पससम्म पुजाको कार्यक्रम हुँदैनथ्यो। 

याे पनि: दृष्टिविहीनको सरकारसँग आग्रह, ‘कि बाँच्ने विकल्प देऊ कि गोली ठोक’ 

जाडो विदा नहुने ठाउँमा भने तामझामका साथ सरस्वती पुजा मनाइन्छ। क्याम्पसमा स्ववियु देखि विद्यार्थी संगठनसम्मले यस्ता कार्यक्रम गरिरहेका हुन्छन्। कतिपय क्याम्पसमा यहि विषयलाई लिएर विद्यार्थी संगठन आपसमा भिडेको पनि देखिन्छन्।

पछिल्लो समय जुम्लामा पनि सरस्वती पुजाको तामझाम विस्तारै बढ्न थालेको छ। सरकारी स्कुल सुनसान भएपनि ट्युसन सेन्टर र निजी विद्यालयले पुजा गरिरहेका छन्। चन्दननाथ नगरपालिकामा संचालित ७ वटा ट्युसन सेन्टर र ६ वटा निजी स्कुल सबैमा सरस्वती पुजा भइरहँदा १७ वटा सरकारी स्कुलमध्ये अशोक नमुना प्राथमिक विद्यालयले मात्र सरस्वती पुजा गरिरहेको थियो।

याे पनि: नेकपा केन्द्रीय कमिटी बैठक: एमसीसीमा मध्यमार्ग, निर्वाचन प्रणाली बारे नयाँ बहस 

अब सरस्वती पुजामा जसले जति ठूलो कार्यक्रम गर्न सक्यो उती बढी ख्याति कमाउनु हो। ट्युसन सेन्टरले यसो गर्न सके अर्को वर्षको लागि विद्यार्थी सुरक्षित गर्नु हो भने निजी स्कुलले नयाँ विद्यार्थी थप्नु हो।

‘कम्पनी ऐन २०६३ अनुसार दर्ता हुने ट्युसन सेन्टर र निजी विद्यालय पसल जस्तै हुन। यिनको प्रमुख उद्धेश्य नाफा कमाउने  हुन्छ। त्यसैले उनीहरुले सकेजतिको प्रचारप्रसार र उपाय लगाएर नाफा बढाउने कोसिस गरिरहेका छन्’, अशोक नमुना प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्की भन्छन्, ‘व्यापार विस्तारका विभिन्न उपाय मध्ये सरस्वती पुजा पनि एक हो। व्यापारीले धर्म, रितिरिवाज, चालचलन सबैलाई व्यापार विस्तारको अस्त्र बनाए। त्यसैको प्रतिफल हो अक्षर आरम्भ।’

सरस्वती पुजाको दिन अक्षर आरम्भ गर्‍यो भने बालबालिका पढ्नमा तेज हुन्छन् भन्ने अविभावकिय मानसिकतालाई शिक्षाका व्यापारीले टपक्क टिपेका छन्। अब अविभावकले घरमा पण्डित बोलाएर वा अरथोक गरेर अक्षर आरम्भ गर्ने झन्झट बेहोर्नु पर्दैन। त्यो सब झमेला उनीहरुकै हो। यसरी निजी स्कुलले औपचारिक रुपमै अक्षर आरम्भ गरिसकेपछि भर्ना अभियान पनि सुरु हुन्छ।

याे पनि: बत्ती निभेको पल

साविकको कर्णालीमा फागुन महिनाबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने माघ महिनामा भर्ना अभियान चलिरहेको हुन्छ। यसरी भर्ना अभियानमा निजी विद्यालयको तामझाम बढिरहेको छ। पोष्टर टाँस्ने, रेडियो, पत्रिकामा सूचना प्रसारण र प्रकाशन गर्ने, फेल्क्स झुण्ड्याउने तथा घरदैलो गर्ने भइरहेको छ। 

प्रचारप्रसारको कुनै सीमा छैन। जति सक्दो खर्चिलो र भड्किलो प्रचार सुरु भएको बताउँछन् लेखक रामसिंह रावल। ‘संसदको चुनाव प्रचारप्रसार बरु कम भड्किलो हुन्छ जति निजी शिक्षण संस्थाले गरिरहेका छन्। चुनावमा कम्तिमा आचरसंहिता त हुन्छ। तर शिक्षाको व्यापार प्रचारमा कुनै सीमा छैन,’ उनले भने।

याे पनि: असमका लिम्बू जाति 

निजी स्कुलले कक्षा सञ्चालन गरिसक्दा पनि सरकारी स्कुल भने कुम्भकर्णीय निद्रामै छन्। अपवाद बाहेक अधिकांस सरकारी स्कुलले भर्ना अभियानको नाममा रेडियोमा सूचना प्रसारण बाहेक माखो मारेका छैनन्। परिणाम सरकारी स्कुलमा विद्यार्थी घटिरहेका छन् भने निजी स्कुलमा बढिरहेका छन्।

 

प्रकाशित मिति: : 2020-02-04 02:06:05

प्रतिकृया दिनुहोस्