घरघरमा खानेपानीको पहुँच पुर्‍याउने अभियान शुरु

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले घरघरमा खानेपानीको धारा बनाउने अभियान शुरु गरेको छ।

नगरपालिकाभित्रका तीन हजार तिन सय घरधुरीमा खानेपानीको पहुँच पुर्‍याउन अभियान शुरु गरिएको नगरपालिका उपप्रमुख मीमसरा शाही बमले जानकारी दिए।

'नगरभित्र खानेपानी पहुँच पुर्‍याउनका लागि युनिसेफसँगको साझेदारीमा काम अगाडि बढाइएको छ', उनले भने, 'धारा बनाउन नगरपालिकाको ६० र युनिसेफको ४० प्रतिशत लगानी रहेको छ।'

पहिलो चरणमा नगरपालिका २, ६ र ९ वडाका घरमा धारा निर्माण भइरहेको उनले जानकारी दिए।

'पहिलो चरणमा तीन वटा वडामा काम भइरहेको छ', उनले भने, 'दोस्रो चरणमा सबै वडामा घरघरमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य राखेका छौँ।'

पहिलो चरणमा नगरपालिका–२ मा चार लाखमा ४५ घरधुरी, वडा नं ६ मा ११ लाखमा ८१ घरधुरी र वडा नं ९ मा २८ लाख ५० हजारमा १८५ धरधुरीमा खानेपानीको पहुँच पुग्ने उपप्रमुख बमले बताए।

नौवटै वडामा आगामी आर्थिक वर्षमा नै खानेपानी धारा पुर्याउने लक्ष्य राखेर निर्माणको काम भइरहेको नगर प्रमुख काशीचन्द्र बरालले बताए।

'आगामी आर्थिक वर्षभित्र नगरभित्रका सबै वडाका घरधुरीमा खानेपानीका धारा बनाउने छौँ', उनले भने, 'नगरभित्रका कुनै पनि घरधुरीे पानीको पहुँच बाहिर हुने छैनन्।'

खानेपानीका लागि स्थानीयवासी, नगरपालिका र दातृ निकायसँग सहकार्य गर्ने लक्ष्य राखिएको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-02-02 01:05:47

प्रतिकृया दिनुहोस्