जबरजस्ती करणीको अभियोग लागेका एसएसपी राणाविरुद्द पक्राउ पुर्जी

जिल्ला अदालत सुनसरीले जबरजस्ती करणीको अभियोग लागेका एसएसपी सौरभ राणाविरुद्द पक्राउ पुर्जी जारी गरेको छ।  

स्रोतका अनुसार एसएसपी राणले जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि विर्तामोडकी लिम्बू थरकी विवाहित महिलाले १५ वर्षदेखि डरधम्की दिएर जबरजस्ती करणी गरेको  भन्दै गृह मन्त्रालयमा उजुरी गरेकी थिइन्।

राणा जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदा समेत डरधम्की दिएर आफूलाई जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छन्। पीडित महिलाले राणाले आफूलाई डरधम्की दिएर इटहरीको एक होटलमा लगि जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन्। 

सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले पीडित महिलाको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गरिएको बताए। उनले राणालाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट आदेश लिने तयारी भइरहेको बताएका छन्। 

प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको थियो। 

गृह मन्त्रालयले शुक्रबारदेखि लागु हुनेगरी एसएसपी राणालाई निलम्बन गरिएको गृह प्रवक्ता नारायण शर्माले जानकारी दिएका छन्। उनले राणामाथि लागेको आरोपको छानविन गर्न तीन सदस्य छानविन समिति समेत गठन गरिएको बताए। गृहमन्त्रालयले छानविन समितिको नाम गोप्य राखेको छ। 

राणाले भने आफूलाई गृहमन्त्रालयले निलम्बन गरेको विषयमा औपचारिक जानकारी नआएको बताएका छन्।

प्रकाशित मिति: : 2020-02-01 04:51:18

प्रतिकृया दिनुहोस्