जागिर दाउमा राखेर क्रिकेट खेलियो, न कुनै संघले हेर्‍यो न त सरकारले नै!

जीवन बनिया

काठमाडौं

तालिमका लागि गुणस्तरीय खेल मैदान नहुनु, खेलाडीको उचित मूल्याङ्कन नहुनू, खेलबाट बाच्ने आधार नहुनू र खेलाडीले अवसर नपाउनु शारीरिक अपाङ्ग खेलाडीका प्रमुख समस्याहरु हुन्।

विभिन्न अभावका बावजुत पनि खेलाडीहरू सकेसम्म राष्ट्रका लागि खेलिरहेका हुन्छन् र विश्वसामू मुलुकको प्रतिनिधित्व गरिरहेका हुन्छन्। तर खेलेर बाच्ने आधार नभएपछि नचाहदा नचाहँदै खेल जीवन त्याग्न बाध्य हुन्छन्। त्यसै मध्येका एक हुन् नेपाली नेत्रहीन क्रिकेटका पूर्व-कप्तान किर्तन श्रेष्ठ।

दृष्टिविहिन क्रिकेटमा एक दशकभन्दा बढी समय बिताइसकेका श्रेष्ठ ‘बी थ्री’ बाट क्रिकेट खेल्ने गरेका छन्। नेत्रहिन क्रिकेटमा पूर्ण दृष्टिविहिनलाई ‘बी वान,’ पाँच मिटरसम्म केही हल्लिएको अनुमान गर्न सक्नेलाई ‘बी टु’ र २० मिटर परसम्म केही हल्लिएको कुरालाई अनुभव गर्नसक्ने दृष्टिविहिन क्रिकेट खेलाडीलाई ‘बी थ्री’ भनिन्छ।

बलिङ र फिल्डिङमा अब्बल श्रेष्ठले २०६२ सालदेखि क्रिकेट खेल्न थालेका हुन्।

कीर्तिपुरको ल्याब स्कुलबाट २०६१ सालमा एसएलसी पास गरेका श्रेष्ठले नयाँ वानेश्वरस्थित नोबेल एकेडेमीबाट उच्च शिक्षा हाँशिल गरे।

सानैदेखि क्रिकेटमा रूची भएका श्रेष्ठलाई क्याम्पस पढ्दै गर्दा साथीहरूले दृष्टिविहिनले पनि क्रिकेट खेल्न सक्छन् भन्ने सुनाएपछि उनी पनि क्रिकेट खेल्न हतारिए।

मानविकी विषय लिएर आमसञ्चार र पत्रकारितामा स्नातक गरेका श्रेष्ठले काठमाडौंमै रहेका कही साथीहरू भेला पारेर क्रिकेट सिक्न थाले।

पाकिस्तानी सहयोगमा सञ्चालित अभ्यासमा उनले थुप्रै नयाँ कुराहरू सिक्न पाए। उनलाई पूर्ण क्रिकेट खेलाडी बन्न केही समय लाग्यो। लामो समयसम्म उनले क्रिकेटका टेक्निकल शब्दहरू बुझेनन्। पछि बिस्तारै बुझ्दै गए पछि उनलाई क्रिकेट खेल्न सहज हुन थाल्यो।

काठमाडौं दृष्टिविहिन क्रिकेट क्लबबाट क्रिकेट खेल्न सुरू गरेका उनले राष्ट्रिय लेभलमा विभिन्न क्रिकेट प्रतियोगिताहरू खेल्न थाले। सन् २००६ मा राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले नेपालमै पहिलो पटक भएको दृष्टिविहिन राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिपुर क्रिकेट क्लवको नेतृत्व गर्दै सतकीय इनिङ्स खेले।

अलराउण्ड प्रदर्शन गर्ने श्रेष्ठ नेपालकै पहिलो सतक प्रहार गर्ने खेलाडी हुन्।

नेपालले सन् २००८ र २०१० मा गरी दुईपटक पाकिस्तान भ्रमण गरेको थियो। पाकिस्तान नेत्रहीन क्रिकेटको उद्गमस्थल हो। त्यहाँको प्रदर्शनका आधारमा नेपाललाई विश्व नेत्रहीन क्रिकेटले पूर्ण सदस्यता राष्ट्र प्रदान गरिएको थियो। त्यही आधारमा नेपालले बेङ्लोरको ट्वान्टी-२० विश्वकप खेल्ने मौका पायो।

सन् २०१२ मा विश्वकप खेलको अभ्यासकै क्रममा उनको बायाँ खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि विश्वकप गुमाएका उनी करिब ५ महिना मैदान बाहिरै रहे।

खुट्टामा रड राख्नुपरेपछि लामो समय मैदान बाहिर रहेका उनले त्यसपछि फिल्डिङमा भन्दा ब्याटिङतिर बढी ध्यान दिन थाले।

त्यसपछि लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका उनले सन् २०१५ मा एसिया कप खेले। त्यसपछि सन् २०१६ मा दोस्रो दृष्टिविहिन टी-ट्वान्टी विश्वकप र सन् २०१७ मा पाँचौ एक दिवसीय क्रिकेट खेले।

यस क्रममा श्रेष्ठकै नेतृत्वमा रहेको नेपाली दृष्टिविहिन क्रिकेटले टेष्ट राष्ट्रहरू बङ्लादेश, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलियाजस्ता देशलाईसमेत हरायो।

क्रिकेट खेल्ने क्रममा उनी भारत, पाकिस्तान, युएईलगायतका देशको भ्रमण गरिसकेका छन्।

क्रिकेट खेलेसँगै उनले आफूजस्तै दृष्टिविहिनलाई पनि क्रिकेट सिकाउन थाले। काठमाडौंमा मात्र नभएर देशभरका अधिकांश स्थानमा गएर क्रिकेट खेलाडी उत्पादन गराउन थाले।

यस क्रममा उनी पोखरा, कपिलबस्तु, रुपन्देही, नेपालगन्ज, धनगढीलगायतका जिल्लामा गएर दृष्टिविहिनलाई क्रिकेट खेल्न सिकाए। यस क्रममा उनले आफूसँगै क्रिकेट खेलेका साथीलाईसमेत लिएर गएका थिए।

दृष्टिविहिन भएका व्यक्तिले खेल्ने क्रिकेट सामान्य व्यक्तिहरुले खेल्ने भन्दा नितान्त भिन्न हुन्छ । आवाजको आधारमा खेलीने भएको कारण बल भित्र आवाज आउने बस्तु राखिएको छ । गुड्दै गएर बल ब्याट्समेनको नजिक पुग्छ अनि व्याट्सले बल हिर्काउछन् र बल टाढा जान्छ र खेलाडीले रन लिन्छन्।

खेल्ने बलमा छर्रा राखिएको हुन्छ। ‘बलिङ्ग बलिङ्ग’, ब्याट्समेन रेडि, किपर रेडी,–एस एस एस’ भनेपछि बलिङ्ग हुन्छ। त्यो पनि हावामा होईन भुईँमा गुडाएर। बल भुईँमा घिसारिँदै खल्र्याङ्ग, खुर्लुङ्ग गर्दै ब्याटसमेनकहाँ पुग्छ, अनि व्याडम्यनले बललाई व्याटको सहायताले हिर्काउछन्। बल टाढा जान्छ। आवाज कै BC_1आधारमा किपरहरुले बल समात्न दौडन्छन् । यता ब्याट्स मेनले रन लिन दौडिन्छन्।

दृष्टिविहिन क्रिकेटमा पनि ११ जना खेलाडी हुन्छन्। फिल्डिङ गर्ने खेलाडीहरूले बलको आवाज पछ्याउँदै गएर क्याच गर्नुपर्ने हुन्छ।

दुई दाजु, आमा-बुबा, श्रीमती र छोरासहित काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका श्रेष्ठले क्रिकेट खेल्नुअघि उनले काठमाण्डौं पोस्टमा पत्रकारितासमेत गरे। क्रिकेट खेल्नकै लागि भनेर उनले पत्रकारिता छोडे।

शारीरिक रूपमा पूर्ण क्षमता भएका खेलाडीले एक पटक मात्र विश्वकप खेले पनि दृष्टिविहिन क्रिकेटले धेरै पटक विश्वकप खेलिसकेको छ।

खेलाडी बन्न भन्दा पनि खेलाडी उत्पादन गराउन निकै गाह्रो हुने उनको अनुभव छ।

‍खेलाडीहरूलाई विकेट किपिङ, ब्याटिङ र बलिङ गर्दा प्रयोग हुने टेक्निकल शब्दहरू सिकाउन समय लाग्ने उनी बताउँछन्।

नेपालमा सन् २००६ मा भित्रिएको दृष्टिविहिन क्रिकेटले पछिल्लो समय निकै उचाई लिएको श्रेष्ठको भनाई छ।

प्रयाप्त स्रोत र साधन नहुँदा पनि ज्यानको बाजी थापेर आफूहरूले खेलेको भन्दै उनले आगामी दिनमा नेपाली दृष्टिविहिन क्रिकेटको भविश्य राम्रो भएकाले यसमा लगानी बढाउन सरकारसँग उनको आग्रह छ।

राष्ट्रियय पुनर्स्थापना समाज, काठमाडौंमा कम्प्युटर शिक्षकमा काम गर्नुका साथै राष्ट्रिय अपाङ्ग महासंघ, कोशीसलगायत विभिन्न संघसंस्थामा काम गरिसकेका बेला उनले क्रिकेट खेल्नकै लागि भनेर सबै काम छोडिदिए। तर, श्रेष्ठले क्रिकेट खेलेरै नेपालमा बाँच्ने आधार भेटाएनन्।

आफ्नो क्रिकेटप्रति अत्यान्त लगाव रहे पनि बाच्नकै लागि आफूलाई अन्यत्र मोडेको उनले बताए।

सन् २०१७ सालमा क्रिकेटबाट सन्यास लिएका उनले आफूलाई क्रिकेट छोड्दा अत्यान्तै पीडा भएको बताए।

‘मैले क्रिकेटबाटै आफ्नो भविश्य बनाउँछु भनेर सोचेको थिएँ। तर क्रिकेट खेलेर जीवन चल्न सकेन। दृष्टिविहिन क्रिकेटलाई न त सरकारले चासो देखायो नत क्रिकेटसँग सम्बन्धित संघ संस्थाले। जागिरलाई दाउमा राखेर क्रिकेट खेलेको मैले बाच्नकै लागि क्रिकेट छोड्नुपर्दा साह्रै नरमाइलो लाग्यो’, उनले भने।

उनी क्रिकेटरबाबाट बिदा भए पनि क्रिकेटबाट बिदा भएका छैनन्। यसबाट बाँच्ने आधार नभए पनि आफूजस्तै दृष्टिविहिनलाई क्रिकेटको तालिम दिएका उनले नयाँ भाइ बहिनीले गरेको प्रगितिबाट दंग छन्।

नेपालमा पुरूष मात्र नभएर महिला दृष्टिविहिन क्रिकेटरले पनि राम्रै सफलतथा पाइरहेका छन्। पछिल्लो वर्ष पाकिस्तानमै गएर घरेलु टोलीलाई तीन खेलको सिरिजमा नेपालले हराएको थियो।

अब सरकारले नियमित रूपमा प्रतियोगिता गर्न सके नेपालले राम्रा खेलाडी उत्पादन गर्नेछ र अरू राष्ट्रलाई टक्कर दिनेछ।

जसरी सन्दीप लामिछानेले राष्ट्रको नाम संसारभर चिनाएका छन्। सरकार र सम्बन्धित निकायले यसरीनै दृष्टिविहिन क्रिकेटलाई पनि स्थान दियो भने उनीहरूले पनि सन्दीप जतिकै देशको नाम चम्काउनेछन्।

साधारण खेलाडीलाई जस्तै दृष्टिविहिनलाई पनि सेवा सुविधा दिने हो भने दृष्टिविहिन विश्वकप जित्न नेपाल सक्षम रहेको श्रेष्ठको धारणा छ।

हाल नेपाल  राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशको सचिव भएर काम गरिरहेका श्रेष्ठले पहिलेको तुलनामा अहिले नेपाली दृष्टिविहिन क्रिकेटमा धेरै सुविधा भएकाले नयाँ आउने खेलाडीलाई विदेश घुम्न पाइन्छ भन्दा पनि राष्ट्रलाई खेलकुदको माध्यमबाट कसरी अझ माथि पुर्‍याउन सकिन्छ भन्ने सोचले खेल्न आग्रह गरे।

प्रकाशित मिति: : 2020-02-01 02:50:04

प्रतिकृया दिनुहोस्