त्रि. वि. केन्द्रीय क्याम्पसको प्राङ्गणमा जब देख्छु शहीद ईश्वरीदत्त शर्माको अर्धकदको शालिक एकोहोरो हेरिरहन मन लाग्छ। उनका साथीहरुबाट सुनेका २०४६ सालका घटनाहरु श्रृङ्खलावद्ध रुपले आइदिन्छन् दिमागमा। २०२५ साल बैशाख १५ गतेका दिन डोटी जिल्लाको डौड गाविसमा पर्ने गुरेना गाउँ (हाल सायल गाउँपालिका) मा पिता लक्ष्मी शर्मा र माता हिरण्य लक्ष्मी शर्माको माहिला सन्तानका रुपमा देखापरेका थिए उनी। जो यो देशका लागि, प्रजातन्त्रका लागि लागिपरे। जसले प्रजातन्त्रका निम्ति आफ्नो ज्यानको आहूति दिए। सामान्य परिवारमा जन्मेका उनको बाल्यकाल कष्टप्रद थियो। करीव डेढ वर्षको हुदाँ २०२६ पुसमा बुबाको मृत्यु भयो। दुई वर्षको हुँदा २०२७ जेठमा आमाले पनि यस धर्तीबाट विदा लिएपछि पूर्ण रुपले टुहुरो बन्न पुगे। कसैका लागि कति निष्ठुर बनिदिन्छ दैव पनि। आमा बितेको दुई दिनपछि दुई महिनाकी सानी बहिनी नीता शर्माको पनि मृत्यु भयो। दाजु शिवराज शर्मा, काका मुक्तिनाथ शर्मा र फुपू हीरादेवी ओझा लगायत आफन्तजनबाट उनको पालनपोषण हुन गयो। टुहुरो भएपछि बाल्यकाल डोटीको हिन्नेगाणा गाउँस्थित फुपू हीरादेवी ओझाको घरमा नै बित्यो। फुपूले नै उनलाई हुर्काइन्।
सानैदेखि पढाइमा अब्बल र प्रशंसाका पात्र थिए उनी। स्कुले जीवनमा सधै प्रथम हुने गरेको आफन्तले सम्झने गरेका छन्। फुपूका घरमा बसी अध्ययन गरेर नै प्रभात मा.वि. देहीमाडौ, डोटीबाट वि.सं. २०४२ मा प्रथम श्रेणीमा एसएलसी. उत्तीर्ण गरे। एसएलसी. पछि कञ्चनपुरमा शिक्षण पेशामा आवद्ध काका मूत्तिनाथ शर्मासँगै बसेर सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरमा आइ. एस्सी अध्ययन थाले। एसएलसीको नम्बर र प्रभात मा. वि.को सिफारिसले सिद्धनाथ विज्ञान क्याम्पसले छात्रवृत्ति प्रदान ग¥यो र निःशुल्क पढ्ने अवसर प्राप्त भयो। उनका काका मुक्तिनाथ शर्मा भन्नुहुन्छ – “पढाइमा अति नै लगनशील र मेहनती थियो किताबमा भिजेर पढ्थ्यो। लगनशिलता सफलतामा परिणत भयो आइ. एस्सी पनि प्रथम श्रेणीमै उत्तीर्ण गरेको थियो।
आइ एस्सी पछि त्रिभुवन विश्वविद्यालयमा दुईवर्षे वि. एड.मा भर्ना भई अध्ययन गर्न थाले। विज्ञान र गणित दुबै कठिन विषय। दुबैलाई मुख्य विषय बनाई पढ्न थाले। शिष्ट र मिलनसार व्यवहारका कारण साथी तथा गुरुहरूका प्यारा थिए। खाली बस्न नरुचाउने उनको पाठ्यपुस्तकका साथै अन्य विधाका पुस्तक र पत्रपत्रिका पढ्नमा ठूलो रुची थियो। उनका दाइ शिवराज शर्मा भन्छन् –“उसले कसैलाई केही दुःख दिएन, अरुले आर्थिक सहयोग पनि गर्नु परेन, उसले आफ्नो खर्च जुटाउन पढाउने काम समेत ग¥यो।”
तर्क गर्ने शैलीमा माहिर ईश्वरीदत्तको अनावश्यक नबोल्ने र तर्कसँगत कुरा गर्ने बानी भएका उनलाई सम्झिँदै उनका सहपाठी जुनारबाबु बस्नेत भन्छन् – “चाँहिदो बोल्ने, राम्रो बोल्ने, मिलनसार, पढाइमा लगनशील, मेहनति भएका कारण साथीहरूको माझमा प्रिय मात्र थिएनन् कक्षामा अब्बल पनि थिए। उनले आफ्नो बाल्यकालको दुःखको बारेमा कुरा गरेको थाहा भएन तर त्रि.वि. मा साथीहरूसँग आफ्ना दाजु र काकाको प्रंशसा भने समय समयमा गरिरहन्थे। ’
२०४६ सालको जनआन्दोलनमा देशका विभिन्न भागहरूमा प्रर्दशन सुरु भए। देश भरीका क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिए। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पनि ईश्वरीदत्त शर्मा संलग्न रहेको नेपाल विद्यार्थी संघ सहित अन्य विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन सुरु गरे। तत्कालीन त्रि.वि.को माहोल र जनआन्दोलन सम्झिँदै जुनारबाबु बस्नेत सुनाउछन्– “२०४६ फागुन ०८ गतेका दिन त्रि. वि. का सम्पूर्ण विद्यार्थी संगठनहरू संयुक्त रुपमा प्रदर्शन गर्ने तयारीमा थिए। जहाँ इश्वरीजी पनि हुनुहुन्थ्यो। त्यही बेला नै प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार ग¥यो। तिलक रुवाली र म लगायत साथीहरू धरकपडमा परेपछि कीर्तिपुर छाडेर शहरमै बसेका थियौं।”
प्रहरीहरूले ने.वि.संघ. निकटका तत्कालिन विद्यार्थी नेताहरू पुष्करनाथ ओझा, अजय दुवेदी, ईश्वरीदत्त शर्मा लयायतलाई थुनामा राख्यो। अन्य संगठनकाहरू पनि पक्राउ परी प्रहरी हिरासतमा परे। त्रि.वि.का थुप्रै विद्यार्थीहरू फागुन ५ देखि नै भूमिगत भएर बसेका थिए। बबरमहलमा केशव पाण्डेको डेरामा भूमिगत बसिरहेका जुनारबाबु बस्नेत, तिलक रुवाली लयातका विद्यार्थी नेताहरूले त्रि. वि. को सामूहिक गिरफ्तारीको विरोध समेत गरे। ईश्वरीदत्त शर्मा सिद्धान्तमा अडिक अनि प्रजातन्त्रप्रति प्रतिवद्ध भएको बस्नेत सम्झिन्छन्। यसैप्रसङ्गमा मुक्तिनाथ शर्मा थप्छन् –“उनी ने.वि.संघसँग आबद्ध थिए। उनलाई पक्रेछ पुलिसले, पिटेछ पनि तर हामीले पछि थाहा पायौं।”
प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई पक्रेर ट्रकमा राखी लैजादै गर्दा ईश्वरीदत्त शर्माले “निर्दलीय पञ्चायत मुर्दावाद” “बहुदलीय प्रजातन्त्र जिन्दावाद” जस्ता नारा लगाउन शुरु गरी आफूहरूलाई पक्रेकोमा विरोध जनाए। त्यसपछि उनलाई त्रि.वि. केन्द्रीय क्याम्पसकै हाताभित्र ट्रक रोकेर पुलिसले मरणासन्न हुने गरी कुटे। पुलिसले उनलाई जतिजति कुट्थे उति नै उनी निरङ्कुशता विरुद्ध बोल्न थाल्थे। उनलाई ट्रकमै उतानो पारेर छातीमा समेत चोट लाग्ने गरी पिटियो। बाहिरी त्यति साह्रो नदेखिए पनि उनको अवस्था जेल नपुग्दै नाजुक बनिसकेको थियो। थुनामा भएको बेला घटेका घटनाहरू र ईश्वरीदत्तसँग भएको कुरा सम्झिँदै पुष्करनाथ ओझा भन्छन् “उनी लगायत आठ जनाको टोलीलाई मेहन्द्र पुलिस क्लबको थुनामा राखियो। थुनामा समेत निरङ्कुशताको विरोध गर्न नछाडे पछि ईश्वरीदत्त शर्मा, अजय दुवेदी लगायतका व्यक्तिहरूलाई पुलिसले थुनामा पनि निकै नै यातना दिए। बोरामा बाँधी चिसो पानीको खाल्डोमा राखेर पिटाइ समेत गरी अति कष्ट दिइयो उनीहरूलाई। यस्तो बरबरतापूर्ण पिटाइका कारण उनी झन्झन् कमजोर हुँदै गए। हामी बाहिर आन्दोलन गर्छाै, पुष्करदाई, तपाई नेताहरू यतै बस्नोस् भन्दै थुना परेदेखि आफू हिरासतबाट बाहिर निस्किन खोजीरहेका थिए उनी। पहिला त प्रहरीले छोडेन तर पछि उनको स्वास्थ्य अवस्था पनि कमजोर भएकाले उनलाई आठौँ दिनमा कागज गराएर छोड्यो।”
ईश्वरीदत्त हिरासतबाट आएपछि आफू पिटाइका कारण उभिन पनि नसक्ने भइसकेको महसुस गर्न थाले। सहपाठी तिलक रुवालीसँग उनले भनेका थिए – “कस्टडीबाट बाहिर आएदेखि झन दुखाइ भइरहेकोछ पेट र छाती अति दुखीरहेछ म अब मर्छु होला।”
प्रहरी हिरासतबाट छुट्दा आफू पुनः बाहिर आन्दोलन गर्छु भन्ने आँट लिएर उनी निस्के तर त्यो आँट स्वास्थ्य अवस्था बिग्रेसँगै हरायो। उनी आन्दोलनमा जान सकेनन्। थला परे। “त्रि.वि.मा समातेदेखि आठ दिन निरन्तर पिटाई खाइरहेका ईश्वरी मुटु र शरीर दुखिरहेको छ भन्दै उपचार गर्न काठमाडौंका थुप्रै अस्पतालहरू धाइरहे। २०४६ चैत्र २६ गतेका दिन प्रजातन्त्रको पुनः स्थापना भएपछि शायद आफ्नो जीत भएको महसुस गरेर होला, चैत्र महिनाको अन्त्यमा डोटी पुगि हाले। गाउँमा पिटाई खाएछ भनी सान्तवना दिन आउनेलाई प्रजातन्त्रको पुनःस्थापना भएको छ, हामीले जित्यौँ, निरङ्कुशता ढल्यो भन्ने उत्तर दिन्थे।”– विगतको त्यो परिवेश सम्झिदै सुनाए बीर बहादुर बलायरले। ईश्वरीदत्त घरमा पुगेको र शाहदत प्राप्त गरेको अवस्थालाई दाजु शिवराज शर्मा यसरी सम्झिन्छन्– “काठमाडौँमा सञ्चो हुन्न अब घरमै बस्छु भनी चैतको अन्तिमतिर डोटी पुगेको थियो। २०४७ बैशाख, जेठसम्म घेरलु उपचारमा लाग्यौं। तर मुटु र शरीर दुख्न कम भएन। झनझन दुख्न थालेछ। अशैह्य पीडाका कारण उसले आफूलाई उपचारका लागि फेरी काठमाडौँ लैजान आग्रह गरेपछि म र अर्को दाजु (फुपुको छोरा) मिलेर दिपायल पु¥यायौं तर हवाइजहाज नपाए पछि चोपडा मेडिकल हल, दिपायलमा उपचार गराउँदै गर्दा वि.सं. २०४७ असार ५ गते उसले साहदत प्राप्त गर्यो।”
प्रजातन्त्रको पुनः स्थापनाका लागि आवाज उठाउँदै गर्दा प्रहरीको कुटाइ नै उनको मृत्युको कारण बन्यो। प्रहरीको कुटाइको चोटले अस्पताल भर्ना भई सहादत्त प्राप्त गरे, प्रजातन्त्र प्राप्तिका लागि बलिवेदीमा होमिए” (बलायर, २०७२, पृ. १२७)।
असार ५ सम्म भौतिक शरीर मात्र जीवित रह्यो तर ०४६ फागुनमा नै मरेतुल्य रुपमा कमजोर भइसकेका थिए उनी। उनको योगदान कसैले सम्झेनन्, समाचार लेखिएनन्। उनलाई शहीद घोषणा गरिए तापनि परिवारले शहीद परिवारको दर्जा र सम्मान प्राप्त गर्न सकेन। यसरी बहुदलका लागि, प्रजातन्त्रको पुनःस्थापनाका लागि लडेका ईश्वरीदत्तले २१ वर्षको कलिलो उमेरमै आफ्नो भौतिक शरीर गुमाउनु प¥यो। निरंकुश शासकको बरबर दमन नै उनको मृत्युको कारण बन्यो।
सिङ्गो नेपाल, नेपाली र बहुदलीय शासन प्रणालीका लागि लडेका थिए उनी। उनी राष्ट्रका शहीद हुन्, गौरव हुन्। त्रि.वि. का नायक तथा सम्मानित पात्र हुन्। उनको सम्मान र सम्झनामा त्रि. वि. केन्द्रीय क्याम्पसमा उनको अर्धकदको शालिक र शहीद ईश्वरीदत्त उद्यान निर्माण गरिएको छ। उनको बलिदानीको सम्मान यतिले मात्रै पुग्दैँन तत्कालिन समयमा देखाएको उनको शाहस र विद्यार्थी संगठनहरू बीचको एकताबाट अहिलेका विद्यार्थी संगठनहरूले एकताको पाठ सिक्नु आवश्यक छ। देश र जनताको लागि बाँच्छु भन्ने सोच भएका युवाहरूका लागि उनी प्रेरणाका स्रोत हुन्। पारिवारिक रुपमा बोल्न र बुझ्न सक्ने नहुँदै दुःखमा परेका उनले आफू र आफ्नो परिवार भन्दा राष्ट्र, प्रजातन्त्र र बहुदललाई प्यारो ठाने र निरङ्कुशताको विरुद्ध लडे। प्रजातन्त्र र देशभक्तिको पाठ सिक्न ईश्वरीदत्त लगायताका थुप्रै शहीदहरूलाई सम्झनु जरुरी छ।
२००७ साल, २०४६ साल, २०६२÷६३ सालको जनआन्दोलन लगायत अन्य थुप्रै आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूको महानता र योगदान अतुलनीय छ। यी आन्दोलनहरूमा प्रत्यक्ष होमिएका व्यक्तिहरूको तत्कालिन संघर्ष र त्याग सुन्दा छाती चर्किन्छ। त्यो महानता वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत बन्नु पर्ने हो तर पहिला र अहिलेको देशभक्तिमा आकाश पातालको फरक पाइन्छ। अझैसम्म देश र जनहितका लागि लड्दै गर्दा अंगभंग भएका थुप्रै व्यक्तित्वहरू कहाली लाग्दो बेसाहारा जीवन बिताइरहेका छन्। अझ अहिले शहीदहरू माथि पनि राजनीतिकरणको प्रचलन छ। शहीदहरूलाई सम्झिन माघ १६ मा शहीद दिवस बनाइन्छ तर पछिल्ला दिनमा न त सरकारसँग शहीदहरूको एकिन तथ्याङ्क छ, न त वीर सपूत शहीदहरूले देखाएको बाटोमा हामी हिड्न सकिरहेका छौँ। हरेक पार्टी, संगठनहरूले भाषणमा शहीदहरूलाई सम्झदैँ गर्दा तिनीहरूको पार्टी, संगठन शहीदहरूको आदर्श अनुरुप चलेको छ वा छैन ? भन्ने प्रश्न खडा भएको छ।