कमेडियनले टेलिभिजन प्रस्तोतालाई ‘कवार्ड’ र ‘नेस्नलिस्ट’ भनेपछि लगाइयाे उडानमा प्रतिबन्ध

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय एक स्ट्यान्डअप कमेडियनले चर्चित टेलिभिजन प्रस्तोतालाई प्रश्न गरेको भन्दै उनलाई चार एयरलाइन्सले उडानमा प्रतिबन्ध लगाएका छन्।

कमेडियन कुनल कमराले मंगलबार ट्वीटरमा २ मिनेट लामो भिडिओ पोस्ट गरेका थिए। जुन भिडिओ उनले मुम्बइबाट लखनउ जाँदै गर्दा खिचेका थिए। भिडिओमा गोस्वामी कालो चस्मा र एयरफोन लगाएर जहाजभित्र सिटमा बसिरहेका देखिन्छन्। सोही क्रममा कमराले भिडिओमै उनलाई ‘कवार्ड’ र ‘नेस्नलिस्ट’ जस्ता शब्दले गाली गरेका हुन्।

भिडिओमा उनले रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नव गोस्वामीप्रति व्यंग्य गरेका थिए। जहाँ उनले दक्षिणपन्थी धारका पत्रकारलाई ‘कायर वा राष्ट्रवादी’ भन्दै प्रश्न गरेका थिए। 

भिडिओको अन्त्यतिर कमरा ‘यो रोहितको आमाको लागि’ भएको भन्दै भावुक सुनिएका थिए। ‘रोहितले लेखेको १० पेज लामो सुसाइट नोट पढ। त्यसपछि तिमीमा केही भावना आउनेछ। मुटु आउनेछ। वा तिमी मानव बन्नेछौ।’ हैदरबाद विश्वविद्यालयका विद्यार्थी रोहित बेमुलाले छात्रवृत्तिको माग गर्दै सरकार विरोधी आन्दोलन गरिरहँदा २०१६ मा आत्महत्या गरेका थिए।

गोस्वामी चर्को वहस गराउने पत्रकारको रुपमा चिनिन्छन्। वहसमा उनी आफैँ प्यानलिस्टसँग चिच्याउँदै आरोप समेत लगाउने गर्छन्।

कमेडियन कमराको भिडिओपछि सामाजिक सञ्जालमा पनि उनको विरोध भएको छ। पत्रकार गोस्वामीको रक्षा गर्दै कमेडियन कमराको कठोर शब्द भएको भन्दै उनलाई आलोचना भएको हो।

प्रकाशित मिति: : 2020-01-31 01:28:39

प्रतिकृया दिनुहोस्