विश्व स्वास्थ्यमा ‘आपतकाल’ घोषणा गर्न आज डब्लुएचओको बैठक बस्दै

डब्लुएचओले व्यक्तिबाट व्यक्तिमा फैलिएको कोरोना संक्रमणलाई गम्भीरताका साथ लिएको छ।

कोरोना भाइरसका कारण चीनमा एक सय ३० भन्दा बढीकाे निधन भइसकेको छ। पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका एकहजार सात सयसय नयाँ विरामी पाइएका छन्  भने हालसम्म सात हजार सात सय ११ घटना पुष्टी भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)  ले जनाएकाे छ। 

कोरोना भाइरसको बढ्दो प्रभावलाई लिएर डब्ल्यूएचओ निकै गम्भीर छ र उसले बिहीबार दोस्रो पल्ट आपतकालिन बैठक बोलाएको छ। आज अन्तर्राष्ट्रिय स्वास्थ्यमा ‘आपतकालिन अवस्था’ को घोषणा गर्ने सम्भावना छ। डब्ल्यूएचओका निर्देशक टेड्रोस एडहोनम गेब्रेसियोसले बुधबार भने, ‘चीनभन्दा बाहिर पनि कारोना भाइरस फैलिँदै गएको छ। यो चिन्ताको विषय हो।’ डब्ल्युएचओले व्यक्तिबाट व्यक्तिमा फैलिएको संक्रमणको घटनालाई गम्भीरताका साथ लिएको छ। उसले बुधबार जेनेभास्थित मुख्यालयमा आपतकालिन बैठक बोलाएको थियो। 

चीनको तुलनामा कोरोना भाइरसको प्रभाव अन्य देशमा नगन्य नै देखिन्छ। त्यसैले डब्ल्यूएचओले यसअघि अन्तर्राष्ट्रिय स्वास्थ्यमा आपतकाल घोषित गरिहाल्नु छिटो हुने बताएको थियो। तर, चीन बाहेक ३० वटा देशमा संक्रमणको उच्च जोखिम देखिएपछि डब्ल्यूएचओ गम्भीर बनेको हो। 

गत डिसेम्बरमा चीनको मध्य शहर वुहानमा कोरोना भाइरसको पहिलो घटना बाहिर आएको थियो। त्यसयता १६ वटा देशमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ। बेलायतस्थित साउथहयाम्पटन विश्वविद्यालयको अध्ययन अनुसार संक्रमणको सबैभन्दा ठूलो खतरा थाइल्यान्डलाई छ। दोस्रो नम्बरमा जापान र तेस्रोमा हङकङ छ। 

बुधबारसम्म थाइल्यान्डमा १४, हङकङमा १०, ताइवानमा ८, जापान–मकाउ–सिङगापुर र मलेसियामा ७–७, फ्रान्स–अस्ट्रेलिया र अमेरिकामा ५–५, दक्षिण कोरिया–युएई र जर्मनीमा ४–४, क्यानडा र भियतनाममा २–२ तथा नेपाल र कम्बोडियामा १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-01-30 22:40:04

प्रतिकृया दिनुहोस्