सरकारकाे काममा कुनै आशङ्का नगर्नू: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारकाे काममा कुनै आशङ्का नगर्न  आग्रह गरेका छन्। उनले राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाे बताए। 

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाे बताए।

‘अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेको छ।’ उनले भने ‘सरकारले गरेको कुनै काममा द्विविधा राख्न जरुरी छैन् ।’

उनले नयाँ कानून निर्माण भइरहेको, सङ्घीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय सङ्घीयता कार्यान्वयनमा ल्याइएको र  भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराए।

प्रधानमन्त्री ओलीले अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको जानकारी गराए। ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता देउवा जीकै पालामा भएको हो।’ उनले भने ‘सम्झैता अनुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न हुँदैन्। 

उनले नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको बताए। ‘पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको छ, हामीले उताबाट जवाफ आउने बितिकै वार्ता गर्नेछौं ।’ उनले भने। 

उनले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको समेत बताए। उनले भने ‘हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको छ।’

यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताए।

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गरे। 

प्रकाशित मिति: : 2020-01-30 04:46:41

प्रतिकृया दिनुहोस्