प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान

प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ।

इशनाथ नगरपालिका–१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि बुधबार बिहान गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको मोटरसाइकलमा सवार तीन जनाले प्रहरीलाई लक्षित गरी फायर गरेका थिए। 

आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक भारतीय नागरिक घाइते भएका छन्।

भारत बिहार मोतिहारी राजजटौलिया ग्राम पञ्चायत–४ का २१ वर्षीय शेख चान्दली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको छ।

मोटरसाइकलसहित फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-30 02:05:04

प्रतिकृया दिनुहोस्