अनलाइन सपिङका नाममा ६९ लाख बढी रकम ठगी, यसरी खुल्यो ठगी धन्दा

अनलाइन सपिङका नाममा ठगी गरेको आरोपमा मोरङ प्रहरीले करिब ६९ लाख नेपाली रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको छ।

‘वेष्ट बाई’ नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य सात जनालाई परिचालन गर्दै आएको खुलेको एसपी अधिकारीले बताए। युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए। चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, मोरङ सुन्दरहरैँचा नगरपालिका– ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद  आचार्य, धरान उपमहानगरपालिका – २० विष्णुपादुका बस्ने २० वर्षीय भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन्। 
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेहरु मध्ये मुख्य नाईके निरञ्जन हुन्।


निरञ्जनको समूहको नेटवर्क भारतमा पनि छ। उनले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका छन्। प्रहरीका अनुसार आचार्यले विभिन्न बैंकमार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन्। उनले अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएको जानकारी एसपी अधिकारीले दिए। 

भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन्। उनले १७ जना व्यक्तिका नाममा ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन्। प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंकखाता छ। वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता छन्। उनीहरुको नाम परिवर्तन गर्दै एउटै बैंकमा तीन वटासम्म खाता खोलेका छन्।
 
पक्राउ पर्ने डरले कारोबार भइसकेपछि भने ती बैंकका खाता बन्द गर्दै हिँड्ने गरेको पाइएको छ। युवतीहरुलाई एक बैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिएर आचार्यले चेक आफू प्रयोग गर्दै आएको एसपी अधिकारीको भनाइ छ। यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाईसकेपछि भने बन्द हुने गरेको अनुसन्धानबाट खुलेको छ। ग्राहकबाट बैंकमा जम्मा भएको रकम निकाल्नका लागि आचार्यले शिवजी खड्का र देवी चौलागाईलगायतलाई प्रयोग गर्दै आएका थिए। 

विशालले भने भारतीय बैंकहरुमा पैसा जम्मा गर्ने गरेका थिए। प्रहरीले खड्काको साथबाट ४२ हजार ५ सय, कोठाबाट ७ लाख १३ हजार रुपैयाँ बरामद गरेको थियो। निरञ्जनको साथबाट २६ हजार नगद र उनका जेठानले जम्मा गरेको ४१ लाख ९८ हजारसहित जम्मा ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो। अनुसन्धानका क्रममा खड्का र आचार्यको घर र कोठाबाट २५ वटा नेपाली र पाँच भारतीय बैंकका सिमकार्ड भेटिएका छन्। ५८ वटा बैंकका चेकबुक र १५ वटा खाली चेकबुक पनि भेटिएको थियो। 


यसरी खुल्यो ठगी धन्दा 
काठमाडौं बसोबास गर्दै आएकी छत्रकुमारी धमलाले सनराइज बैंकमा खाता खोलेको जानकारी छैन्। उनलाई जानकारी नभई खुलेको बैंकखाता बन्द हुँदा पनि थाहा पाइनन्। तर उनको नाममा खुलेको बैंक खाताबाट ठगिएको भन्दै एक व्यक्तिले महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए।

उजुरीपछि अनुसन्धान गरेको प्रहरीले धमलालाई बोलाएर अनुसन्धान गरेको थियो। उनी काठमाडौंमा बसोबास गर्थिन्। तर उनको नाममा विराटनगरबाट बैंक खाता खुलेको थियो। अनुसन्धानका क्रममा उनको नागरिकता अरुले नै लगेर बैंक खाता खोलेको खुलेको थियो। छत्रकुमारीको खाता खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले गिरोहलाई पक्राउ गरेको हो। 

सोही अनुसन्धानका क्रममा सिभिल बैंकको एटिएमबाट खड्का पक्राउ परेपछि ठगी गर्नेहरु पक्राउ परेका हुन्। प्रहरीले भारतमा बसेर नेपालमा गिरोह सञ्चालन गर्नेहरुमा मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्तीहरु संलग्न रहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरुलाई मलुकी अपराधसंहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउन लागिएको अधिकारीले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-01-30 00:22:14

प्रतिकृया दिनुहोस्