चित्रकला बन्यो पुरानो र नयाँ पुस्तालाई जोड्ने माध्यम

भोला आचार्य

टेक्सास,अमेरिका

४ बर्षिय सरिना श्रेष्ठले वनाएको चित्रकला हेरेर उनकी आमा सृर्जना श्रेष्ठ दंग परिन्। छोरीले वनाएको चित्रकलाको फोटो आफ्नो आइफोनमा कैद गरिन्। आफूले बनाएको चित्रकला रहेको ठाउँमा उभ्याएर आमाले फोटो खिचेपछि सरिना पनि निकै खुशी हुँदै चिज भनेर फोटो खिचाइरहेकी थिइन्। त्यसैगरि आफ्नी नातिनी सानवी मुल र नाति कुशल मुलले बनाएको चित्रकला हेरेर उनीहरुका हजुरबुवा कृष्ण मुल निकै घोरिएर हेरिरहेका थिए।

त्यस्तै खुशीहुनेहरुको भीडमा थिइन् ७६ बर्षिया बसुन्धरी अधिकारी। आफ्ना नातीनि लोकश्री आचार्य र आयाम आचार्यले बनाएको चित्रकला हेरेर उनी खुशीले गदगद भईन्।

आफुले सृजना गरेको कलालाई आफ्ना अभिभावकहरुलाई देखाउदै र अभिभावकहरु पनि आफ्ना  बालबालिकाहरुले बनाएका चित्रकलालाई हेरेर निकै हर्षित देखिन्थे। सबैले आ–आफ्नो फोनले फोटो र भिडियो खिचेर साटीरहेका थिए। 

अमेरिकामै जन्मेकादेखी पछिल्लो समयमा अमेरिकामा हुर्केका ४ बर्षदेखी १६ बर्षमुनिका बालबालिकाहरुबीच चित्रकला प्रतियोगिता गराएर यहाँस्थित लवक नेपाली समाजले यो खुशीको सृजना गरेको हो। यो प्रतियोगिताले बालबालिकाहरुको सृजनालाई प्रोत्साहन मात्र गरेन नेपालबाट अमेरिकामा आएर बालबालिकाको लागि संघर्ष गरिरहेको आफ्ना बुवाआमाको पुस्तालाई जोड्ने काम गर्यो। अझै भन्नेहो भने अमेरिकामा घुम्न आउने हजुरआमावुवाको अघिल्लो पुस्तालाई समेत जोड्ने माध्यम वन्यो यो चित्रकला प्रतियोगिता। 

त्यसो त अमेरिकामा बसेर यहाँको टेक्सास टेक नामक विश्व विद्यालयमा झण्डै दुईदशक प्राध्यापन गरिरहेका प्रो‍.डा मेघनाथ पराजुली र चित्रकलाको अनुभव बटुलेकी रेमशा श्रेष्ठ निर्णायक कमिटिमा रहेका थिए, उनीहरुस्वयं दुई पुस्तालाई प्रतिनिधित्व गर्दछन्। २ घण्टालामो चित्रकला प्रतियोगितामा १९ जना प्रतियोगिहरुले भागलिएका थिए।

८ बर्षमुनि, ९ देखी १२ बर्षभित्र पर्ने र १३ देखी १६ बर्षका बालबालिकाहरुबीच गरि ३ उमेरसमुहका बालबालिकाहरुबीच उक्त प्रतियोगिता गरिएको थियो। जसमा ८ बर्षमुनिकामध्येबाट ग्रिप्सन बजगााँई पहिलो, प्रदयूत श्रेष्ठ दोस्रो र अनुस्का तिवारी तेस्रो भएका थिए। त्यसैगरि ९ देखी १२ बर्ष उमेरसमुहमा दिबाशिष श्रेष्ठ प्रथम, लोकश्री आचार्य दोस्रो र शुभेक्षा जोशी तेस्रो भएका थिए। अन्तिम अर्थात १३ देखी १६ बर्ष उमेरकाहरुको प्रतिश्पर्धामा असेरा ढुंगाना प्रथम, निता घर्ति दोस्रो र अनन्त वडेल तेस्रो भएका थिए। 

नतिजा घोषणा गर्दै प्रो.डा पराजुलीले यसलाई समुदायकै उदाहरणीय काम भएको बताउदै यसमा आफ्नो सहभागिता जनाउन पाएकोमा गर्वको अनुभव गरे। आयोजक संस्थाको वर्षगाँठ मनाउने क्रममा हिजो शनिबार बालबालिकाहरुबीच चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो। यसका साथै रक्तदान र भलिबल खेलको पनि आयोजना गरिएको थियो।

बालबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा दशक भन्दा लामो अनुभव भएका आयोजक संस्थाका उपाध्यक्ष हरि बन्जाराले संयोजन गरेको उक्त प्रतियोगिता अमेरिकामा जन्मिएको पछिल्लो पुस्तासँग पुरानो नेपाली पुस्ता जोड्ने एउटा बलियो कडि बन्ने विश्वास सबैले गरेका थिए। 

आयोजक संस्थाका अध्यक्ष डा.प्रकाश श्रेष्ठले संख्यात्मक हिसावले सानो देखिएपनि यहाँको समुदायले उदाहरणिय काममा हात हालेको बताए। बर्षगाँठको कार्यक्रमले नेपाली अभिभावक र नेपाली अमेरिकन पुस्तालाई एकआपसमा जोड्ने विश्वास व्यक्त गरे। अघिल्लो र पछिल्लो पुस्ताको दुरी बढिरहेको हाम्रो समाजमा यसप्रकारका कार्यहरुले सकारात्मक भूमिका खेल्ने अभिभावकहरुको अपेक्षा रहेको छ।

प्रकाशित मिति: : 2020-01-28 06:45:48

प्रतिकृया दिनुहोस्