एनसेल टावरमा विष्फोट गराएकै ठाउँमा भेटियो बम जस्तै वस्तु

मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएकै ठाउँमा बम जस्तै अर्को वस्तु फेला परेको छ । 

तारले घेराबारा गरेर बनाइएको मुख्य गेटमा पहेंलो झोलामा झुन्ड्याएको अवस्थामा अज्ञात वस्तु भेटिएपछि त्यस स्थानलाई नेपाल र सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् । बाहिरबाट ‘बम छ’ भन्ने लेखेर झुन्ड्याइएको झोलाबाट प्वाल पारेर तार बाहिर निकाल्दै गेटमा झुन्ड्याएको अवस्थामा बम जस्तै वस्तु भेटिएको र उक्त वस्तु सुतली बम भएको हुन सक्ने आशंका गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएपसी लोकदर्शन थापाले बताए । उक्त वस्तु डिस्पोज गर्न भन्दै खटिएको नेपाली सेनाको टोली यो समाचार तयार पार्दासम्म घटनास्थलमा पुगिसकेको छैन । 

ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा आइतबार साँझ अज्ञात समूहले विष्फोट गराएर क्षति पुर्‍याइएको छ । डीएसपी थापाले विष्फोटपछि आगजनी गरेर टावरको जेनेरेटर, पावर प्लान्ट, एलटी पेनल र केवल वायरमा क्षति पुर्‍याइएको छ । स्थानीय बासिन्दाले तीन पटकसम्म विष्फोटका ठूल्ठूला आवाज आएको र १०÷१२ जनाको संख्यामा रहेको समूह घटनापछि त्यहाँबाट भागेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । प्रहरीका अनुसार सुगम जिल्ला मोरङको दुर्गम र विकट क्षेत्र भनेर चिनिने सिंहदेवी केराबारी गाउँपालिका केन्द्रबाट लगभग ३५ किलोमिटर उत्तरमा पर्छ । 

घटना कसले गराएको हो भन्ने खुलेको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको प्रतिबन्धित नेकपाले विष्फोट गराएको हुन सक्ने आशंका प्रहरीको छ । गत शुक्रबारराति केराबारी गाउँपालिका कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटना गराउने समूहको पहिचान नहुँदै फेरि एनसेल टावरमा विष्फोटको अर्को घटना गराइएको हो ।

यही माघ ५ गते आइतबारराति मिक्लाजुङ गाउँपालिका–१ रमितेमा विष्फोट गराएर सडक निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा आगजनी पनि गरिएको थियो । आगजनीपछि मोरङको किसान चोक–रमिते–आइतबारे १८.५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम अवरुद्ध बनेको छ । 

एक साताको अवधिमा मोरङमा बम विष्फोटबाट क्षति पुर्‍याइएका तीनवटा ठूला घटना भए पनि घटना कसले गराएको भन्ने यकिन भएको छैन । घटनामा संलग्नको पहिचान हुन सकेको छैन । उत्तरी मोरङमा पछिल्लो समय विप्लव समूहको गतिविधि धेरै भइरहेको सूचना प्रहरीलाई छ । तर प्रहरीले प्रतिबन्धित नेकपाको गतिविधी नियन्त्रणमा लिन सकेको छैन ।

उत्तरी मोरङ तत्कालिन सशस्त्र युद्धमा पनि माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । उत्तरी मोरङमा बम विष्फोटका घटना हुन थालेपछि त्यसमा संलग्नको खोजी र पहिचानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मानबहादुर राईको नेत्रृत्वमा केही दिनदेखि विशेष टोली परिचालित छ ।  
 

प्रकाशित मिति: : 2020-01-28 00:37:47

प्रतिकृया दिनुहोस्