आसाम नेपाली साहित्य सभाको विगतका सम्झनाहरु

पूर्वाञ्चलका नेपालीभाषी युवा साहित्यकाहरूलाई कविवर पद्मप्रसाद ढुंगानाबारे त्यति थाहा छैन। उनको जन्म कहाँ भएको थियो र मृत्यु कहिले भयो। मेघालयका विधानसभामा धैरैपल्ट विधायक भएका १०० वर्षमा पाइला टेक्न लागिरहेका शिलांगवासी ध्रुवनाथले मलाई कुनै बेला भनेका थिए पद्मप्रसाद ढुंगाना सन् १९४५ तिर पानीमा डुबेर बितेका हुन्,जो शिलांगका थिए।

ढुंगानाले भानुभक्त आचार्यलेभन्दा अझ सुन्दर ढंगले रामायणका केही काण्डहरू अनुवाद गरेका थिए। यी कुराहरू आजका युवा लेखकहरूले शोध गरे उनीहरूलाई थाहा हुन्छ। 

ढुंगाना गुवाहाटी हाईकोर्टका अधिवक्ता तथा बीजेपीका पूर्वसांसद रामप्रसाद शर्माका मावली बाजे (हजूरबा) हुन्। मैले सन् २००२ मा  रामप्रसाद शर्माको गुवाहाटीस्थित संंगमर्मरीय आवासगृहमा सज्जित उनका हजुरबाको सानो फोटो उनीबाट मागेर ढुंगानाको तैलचित्र चित्रांकित गरेको थिएँ।

उक्त तैलचित्र उनका घरमा फोटोसहित पुऱ्याउन भनेर त्यही वर्ष तिहारको बेला शिलांगबाट गुवाहाटी जान भनेर घरबाट निस्कन खोज्दा घनघोर पानी पर्न थाल्यो। वास्तवमा म दिदीकहाँ भाइटीका मनाउन भनेर निस्कन खोजेको थिएँ अनि यहीँ अवसरमा उक्त तैलचित्र रामप्रसाद शर्मालाई प्रदान गर्न चाहेको थिएँ।

घनघोर पानीले तैलचित्र बिग्रिने डरले गुवाहाटी लगिनँ। फोटो मात्र लिएर गएँ। गुवाहाटीमा उनको आवासगृहमा पुग्दा उनी थिएनन्।  उनकी धर्म पत्नी सुतेकी थिइन्, आफ्ना कोठामा। आवासगृहमा काम गर्ने कामदारलाई मैले ढुंगानाको सानो फोटो हातमा सुम्पे, घरका मालिकलाई दिनू भने।

फोटो रामप्रसाद शर्माको घरमा पुगेपछि उनले निश्चय पनि थाहा पाएको हुनुपर्छ। उनको हजुरबाको तैलचित्र मबाट चित्रांकित भयो भनेर। म दिदीकहाँ भाइटीका मनाएर शिलांग फर्केपछि सोचेँ फेरि भाइटीका मनाउँन जाँदा यो तैलचित्र रामप्रसाद कहाँ पुऱ्याइदिन्छु। 

एक वर्ष बित्न लाग्यो तर रामप्रसादबाट यसको एकपल्ट पनि खोजी भएन। मैले चिट्ठी पनि पठाएको थिएँ। उनले पाएनन् कि उनले कहिल्यै मसँग चिट्ठीको आदानप्रदान गरेनन् यसैकारण मेरो मन मऱ्यो, उनी कहाँ यो तैलचित्र पुऱ्याउन।

सम्झना रहोस् गुवाहाटीमा २००२ भन्दा अघि चोकबहादुर थापा एवम् उनका अन्य मित्रबन्धुबाट नेपाली साहित्य कला निकेतनको जन्म भएको थियो। थापा यस निकेतनका अध्यक्ष थिए। त्यसबेला मैले उक्त तैलचित्र चित्रांकित गरेको थिइनँ। यस निकेतनका संरक्षक थिए रामप्रसाद उनको आर्थिक सहयोगबाट उक्त निकेतनले सेवाभावका लागि पद्मप्रसाद ढुंगाना स्मृति पुरस्कार र उत्कृष्ट पुस्तकका लागि हरिभक्त कटुवाल स्मृति पुरस्कार दिने चलन राख्यो। 

यी पुरस्कार सेवाभावका लागि साहित्यीक,स्वतन्त्र सेनानी विष्णुप्रसाद उपाध्यायलाई अनि उत्कृष्ट पुस्तकका लागि हत्या रातो डायरीको सन्दर्भमा हरिभक्त स्मृति पुरस्कार यो विक्रमलाई प्रदान गरियो। 

सबैलाई जानकारी दिऊँ आसाम (पूर्वाञ्चलमै भनौँ)मा अन्य नेपाली साहित्य सभादिले पुरस्कार दिने परम्परा यहीँ निकेतनपछि थालेका हुन् यसैकारण म निर्धक्क लेख्छु आसाममा कुनै पनि नेपाली साहित्यिक संस्थाबाट सबैभन्दा पहिला पुरस्कार पाउने लेखक यही विक्रम हो। धेरैले मन नपराउने यही विक्रम हो।

अस्तु, ढुंगानाको तैलचित्र नेपाली साहित्य कला निकेतनले राखिदिन्छ कि भनेर यसका अध्यक्ष चोकबहादुर थापासँग कुरा गरेँ। यस निकेतनका सचिव पूर्ण छेत्रीसँग पनि कुरा गरेँ। शिलांगमा मकहाँ  लिन आउँछु भन्ने कुरा गरे तर कहिल्यै यिनीहरू मकहाँ आएनन्। अहिले यी दुवै दिवंगत भइसके।

स्पष्ट छ ढुंगानाको तैलचित्र पूर्वाञ्चल, विशेष आसाममा गोर्खा समाज नभएको, अभिभावक नभएको जस्तो भएर लावारिस भई मेरो थोत्रे कोठामा अलपत्रिएर बस्यो। यो देखेर मलाई दुख लाग्थ्यो यसैकारण यस तैलचित्रलाई संरक्षण गरिदिने कुनै अभिभावक निस्कन्छन् कि भनेर मैले सपरिवारका सम्पादक रोहित गौतम भाइलाई यो कुरा बताएँ।

 उनी मेरो कोठामा गुवाहाटीबाट शिलांग आएको बेला उनले पद्मप्रसाद ढुंगानाबारे सपरिवारमा सूचनात्मक लेख छापिदिए तर पनि यसका लागि गोर्खे समाज निस्केन। मेरो कोठा सानो भएको यसकारण यस तैलचित्रलाई राम्ररी राख्ने ठाउँ दिन नसकेर यसको रंग उडिसकेको छ। 

एकदुई दिन अघि आसमका अनुम शर्मा भाइले फेसबूकमा आसाम नेपाली साहित्य सभाबारे स्मृति ग्रन्थको सम्बन्धमा जानकारी दिएका कुरा पढेँ। उक्त सभाको १५ औँ महाअधिवेशन आगामी फेव्रेरी महिनाको २, ३, ४ र ५ तारिखमा विश्वनाथ चारालिमा,आसाममा हुने भएको छ। 

आसाम नेपाली साहित्य सभाको उक्त समाचार पढ्न पाउँदा आसाम नेपाली साहित्य सभालाई ढुंगानाको तैलचित्र दिनचाहेको सम्झना यसबेला मलाई भइरहेछ्र। जतिबेला साहित्यकार मित्रवर डम्बर दाहाल आसाम नेपाली साहित्य सभामा सचिव अथवा सभापति भएर आसीन थिएँ। त्यतिबेला मैले उनलाई मोबाइलमा सम्पर्क गाँसेर मेरो चाहना राखेको थिएँ। पद्मप्रसाद ढुंगानाको तैलचित्र आसाम नेपाली साहित्य सभालाई दिन।

उनले विनम्र स्वरमा भने अहिले आसाम नेपाली साहित्य सभाको अफिस छैन्रअफिस भएपछि राख्नेछौँ। हेरौँ, कहिले आसाम नेपाली साहित्य सभाको अफिस बन्ने हो। आशा गर्छु, चाँडै बनोस् यही शुभकामना छ। कारण मेरो कोठामा ढुंगानाको तैलचित्र लावारिस भइबसेको छ,लावारिस भई बसेको छ।

प्रकाशित मिति: : 2020-01-24 01:48:00

प्रतिकृया दिनुहोस्