पुस माघको बेला घरको बार्दलीबाट वरिपरि चिहाउँदा सेताम्मे तुसारो देखिन्थ्यो। तुसारो विस्तारै हिउँ बन्थ्यो। राजेशकाजी श्रेष्ठ त्यही हिउँ खेल्न बाहिर निस्कन्थे। खुला र प्राकृतिक थियो वरिपरिको वातावरण। केटाकेटीको चुलबुले बेला, राति बिस्तारामा जानुअघि कचौरामा पानी भर्थे र बार्दलीमा राख्थे।
बिहान हेर्दा आइस बनिसक्थ्यो। त्यसैमा रमाउँथे उनी। सम्झना पनि कति मिठो। भित्तामा टाँसिएको पेन्टिङको दृश्यजस्तो। पुसको अन्तिम साता लाजिम्पाटको भियतनाम कन्सुलेटको कार्यालयमा राजेशकाजीसँग भलाकुसारी भयो। उनी अहिले भियतनामको अवैतनिक दूत हुन्। पछाडिको कुर्चीमा भियतनाम र नेपालको झन्डाले सहकार्य गरेका छन्। भित्तामा पुरानो काठमाडौं झल्काउने पेन्टिङहरू सजाइएको छ।