अमेरिकी जनगणना २०२०: अलास्काको टोक्सुक बेबाट सुरू

अमेरिकामा जनगणना २०२०  शुरु भएको छ। यसपटकको जनगणना अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सुक बेबाट सुरू गरिने बताइएको छ।

अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सुक बेका लिजी चिमिएक नेन्गुरिअरबाट गन्न सुरू गरेर औपचारिक शुरुवात गर्ने जानकारी दिए। ९० वर्षीय नेन्गुरिअर स्थानीय आदिवासी नेता हुन् ।

अलास्काको ठूलो शहर एनकोरएजबाट ८०० किलोमिटर पश्चिममा रहेको टोक्सूक बे अति ग्रामीण क्षेत्र हो। सन् २०१० मा भएको जनगणनामा टोक्सुक बेको जनसंख्या ५९० थियो। जनसंख्या ब्युरोले सन् २०१७ मा त्यहाँको जनसंख्या ६६१ पुगेको अनुमान गरेको थियो।

यसअघि सन् २०१० मा गरिएको जनगणना अलास्काको उत्तर–पश्चिमी तटीय क्षेत्र नुर्विकबाट शुरु गरिएको थियो। यस्तै सन् २००० को जनगणना अनलाक्लिटबाट शुरु गरिएको थियो।

हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुन्छ। तर, अलास्कामा भने चाँडै नै गणना शुरु हुन्छ। जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएकाले यही बेला त्यहाँ गणना गरिन्छ।

गणनाका लागि अहिले गणक चयन प्रक्रिया जारी छ। यो पटकको जनगणनाका करिव पाँचलाख गणक प्रयोग हुने अनुमान छ। त्यसका लागि १८ लाखले निवेदन दिएको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-01-23 21:06:29

प्रतिकृया दिनुहोस्