माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा, भन्छन्– आफैं लाइसेन्स दिउँ दिउँ लाग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। सिट बेल्ट नलगाइ कार चलाएको उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका उनी त्यसपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए। 

सो क्रममा चिट काट्ने ट्रफिक प्रहरीले आफूसँग मिठो बोली, वचन गरेको भन्दै उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिए।

‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु। ट्राफिक भाइले तपाईलाई कारबाही गर्छु है।। भनेर मिठोसँग भन्नुभयो,’ घिमिरेले भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ। ’

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे। त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसँग उनको भेट भयो। भेटमा उनल प्रहरी जवानलाई राम्रो व्यवहारका लागि आभार समेत प्रकट गरे। 

घिमिरेले प्रहरी जवान चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने धारणा समेत सो अवसरमा राखे। घिमिरेले यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना तिरेका छन्। 

आफूलाई जति नै हतार भएपनि अबदेखि ट्राफिक नियम पालना गर्ने घिमिरेले प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2020-01-23 06:32:39

प्रतिकृया दिनुहोस्