८ वटा बालचित्र डायरी छानिए, विजेताले १५ दिन जापान भ्रमण गर्न पाउने

३१ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ४ सय ६८ बालबालिकाले बनाएका मध्ये  ८ जना छात्र छात्राले बनाएको बालचित्र डायरी उत्कृष्ट भएका छन्।

शिक्षा मन्त्रालयमा रहेको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा जापानस्थित यूनेस्को महासंघको आर्थिक सहयोगमा सञ्चालित मित्सुबिसी एशियाली बाल चित्र डायरी महोत्सवबाट उत्कृष्ट ८ चित्र डायरी छानिएको हो।

युनेस्को सचिवालयका अनुसार महोत्सवका लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् विद्यालयमा वितरण गरिएको सामग्रीका आधारमा संकलन भएका डायरी मध्ये विज्ञहरु सम्मिलित छनोट समितिले उत्कृष्ट ८ डायरीको छनौट गरेको हो।

छनोट भएकाहरू


  • कञ्चनपुरको तिलकपुरस्थित बैजनाथ माविमा कक्षा ७ मा अध्ययनरत मनिषा गुरुधामी

  • सुर्खेतको धुस्रास्थित जनसेवा माविमा कक्षा ७ मा अध्ययनरत सन्ध्या शाही

  • बाँकेको नेपालगञ्जस्थित जयवागेश्वरी माविमा कक्षा ७ मै अध्ययनरत पूर्णिमा बुढाथोकी

  • काठमाडौंको निलबाराही माविमा कक्षा ४ मा अध्ययनरत अनुष्का कुमारी।

  • काठमाडौंको बालाजुस्थित तरुण माविमा कक्षा ४ मा अध्ययनरत भावना भुजेल

  • धादिङ्को धुनिवेशीस्थित गुडस्टार बोर्डिङ् स्कुलमा कक्षा ४ मा अध्ययनरत अविनाश रेग्मी

  • पर्साको वीरगञ्जस्थित सिद्धार्थ माविमा कक्षा ६ मा अध्ययनरत प्रेममाला यादव

  • ईलाम नगरपालिकास्थित महमाई आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ब्रिसिका तामाङ।


     

उत्कृष्ट आठमा परेका धादिङका अविनाश रेग्मीले आफूले कक्षा कोठामै बसेर चित्र बनाएको बताए।

‘हामीले कक्षाकोठा बसेर नै चित्र बनाएको थिएँ। पछि स्कूलबाट नै छानेर यता पठाउनुभयो’, उनले भने।

यस्तै काठमाडौंकी  अनुश्का कुमारीले आफूले नसोचेको सफलता पाएको बताइन्। ‘साथीले केटाको चित्र कोर्थ्यो,  अनि मैले पनि  बनाउन थालेँ, सोचेको पनि थिइनँ यसरी छानिन्छु भनेर’, उनले खुसी हुँदै उनले भनिन्, ‘घरमा चित्र बनाउँदा  दाजु  दिदीहरूले अरु पनि बनाउ भन्नुहुन्थ्यो अनि हिम्मत आयो र यहाँसम्म आउन सफल भएँ।’

अनुस्काकी आमा मीरा जैसवालले पनि चित्रकारितामा पनि भविश्य रहेको बताइन्। ‘चित्रको माध्यमबाट आफ्नो संस्कृतिसहित शान्ति पनि जनाउन सकिन्छ’, उनले भनिन्, ‘त्यसैले म मेरो नानीलाई सधै सपोर्ट गर्छु।’

उत्कृष्ट ८ मा पर्न सफल सबै चित्र डायरीलाई आगामी १७ माघ सम्ममा जापान पठाईने र त्यहाँबाट टनोट भएको उत्कृष्ट मध्ये एउटा चित्र डायरीलाई ग्राण्ड प्रिक्स अवार्ड प्रदान हुने सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारीले जानकारी दिए।

अन्तिम ८ मा परेका सबैले पुरस्कार प्राप्त गर्ने भए पनि ग्राण्ड प्रिक्स अवार्ड प्राप्त गर्नेलाई एक जना अभिभावक सहित १५ दिनसम्म जापानको अध्ययन भ्रमणको मौका पाउनेछन्।

संसारका विभिन्न २४ देशका बालबालिकाले बनाएका चित्र कथा सहभागि गरिने महोत्सव अन्तर्गत आगामी मे  महिनामा नतिजा सार्वजनिक हुने छ।

उक्त महोत्सवमा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाले भाग लिन सक्नेछन्। यस वर्ष ‘यही हो मेरो जीवन’ शिर्षकमा चित्र डायरी बनाउन लगाईएको थियो।

गत साउन १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर इकाई मार्फत् डायरी तयारीका लागि आवश्यक पर्ने सामग्री पठाईएको थियो।

बालबालिकाको प्रतिभा पहिचान गरी नेपाली बालबालिकाको चित्रकारितालाई विश्वसामू फैलाउन उक्त महोत्सव आयोजना गरिदैं आएको छ। चित्र डायरी बनाउन पाँच पिरियडको अवधि निर्धारण गर्न शिक्षकहरुलाई निर्देशन गरिएको थियो। उक्त क्रियाकलापमा संलग्न हरेक बालबालिकाले ५ –५ वटा चित्र डायरी बनाउनु पर्ने प्रावधान तय गरिएको थियो। त्रि बनाउने कागजलाई तीन भागमा विभाजन गरी माथिल्लो २ भागमा चित्र र तल्लो १ भागमा चित्रका बारेमा लेख्नु पर्ने भनिए अनुसार बालबालिकाले उक्त चित्र बनाएर पठाएका थिए।

प्राप्त सबै चित्र कथाहरुलाई नेपाल कला परिषद् बबरमहलमा दुई दिनसम्म प्रदर्शनीमा राखिएको थियो। २ दिने उक्त प्रर्दशनीको सोमबार उद्घाटन गर्दै सचिवालयका महासचिव समेत रहेका शिक्षा सचिव महेश प्रसाद दाहालले यस्ता कार्यक्रमले बालबालिकामा भएको प्रतिभा पहिचानमा सघाउ पुर्याउने बताउँदै बढि भन्दा बढि बालबालिकाको सहभागिता सुनिश्चित गरि कार्यक्रम गर्न आवश्यक रहेको औँल्याएका थिए।

७७ वटै जिल्ला स्थित शिक्षाका कार्यालय मार्फत् महोत्सवमा सहभागी गराउन सामग्री पठाईए पनि जम्मा ३१ जिल्लाका बालबालिकाको मात्रै चित्र प्राप्त भएको थियो।

प्राप्त चित्र कथामा सबै भन्दा धेरै बागमती प्रदेशबाट २ सय ४८ चित्र डायरी प्राप्त भएका थिए भने सबै भन्दा कम पाँच नम्बर प्रदेशबाट ७ वटा प्राप्त थिए।

यस्तै प्रदेश न १ बाट ४६ जना,  प्रदेश न २ बाट १२ जना  गण्डकी प्रदेशबाट ६८ जना कर्णाली प्रदेशबाट ३१ र सुदूर पश्चिम प्रदेशबाट ५६ जना विद्यार्थी सहभागी थिए।

सचिवालयका अनुसार उक्त संख्यामा सबैभन्दा धेरै छात्रा २ सय ३५ र छात्र २ सय ३३ रहेका छन्।

छनौट समितिका संयोजक समेत रहेका वरिष्ठ कलाकारा किरण मानन्धरले हरेक बालबालिकामा रहने कल्पनाशीलताले नै सिर्जना प्रस्फुटन हुने भएकाले यस्ता कार्यक्रमले उनीहरुको प्रतिभालाई पहिचान गर्न सघाउने बताए। शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले हाम्रा बालबालिकामा भएको प्रतिभा विश्वसामु फैलाउन यस्ता कार्यक्रमले सघाउ पुर्याउने बताए।

प्रकाशित मिति: : 2020-01-23 02:30:47

प्रतिकृया दिनुहोस्