सदस्य दिनबाट बञ्चित गरेकाे भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाविरुद्ध उजुरी

नेपाल पत्रकार महासंघ,पर्सा शाखाले नयाँ क्रियाशिल सञ्चारकर्मीहरुलाई सदस्य दिनबाट बञ्चित गर्ने षडयन्त्र गरेको भन्दै पर्साका विभिन्न ७ संस्थाका अध्यक्षहरुले महासंघ प्रदेश नम्बर २ मा उजुरी दिएका छन्। 

उजुरीमा महासंघको 'नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरण सम्बन्धी कार्यविधि, २०७६’ र बिधान अनुसार सदस्यता प्रदान गर्ने आवश्यक पहल गर्न माग समेत गरिएको छ। साथै उजुरीमा पत्रकारिता पेसा र यस स्थानबाट पलायन भइसेकाका सञ्चारकर्मीको सदस्यता खारेजी र ठाउँसारी गर्न समेत मागरिएको छ। 

महासंघ पर्सा शाखाले नियमित बैठक समेत नगरी नयाँ पत्रकारलाई सदस्यबाट बञ्चित गर्ने षडयन्त्र गरेको र महासंघ पर्साको २०७५ पुस २९ मा सम्पन्न सधारणसभामा जिल्ला अध्यक्ष श्याम बञ्जारा उपर अनियमितता तथा पदको दुरुपयोगको आरोप लागेपछि त्यसउपर छानबिन गर्न गठित समितिले गल्तीहरु ठहर गर्दै सुझाव र सिफारिस सहितको प्रतिवेदन ९ महिना अगाडि बुझाएको छ।

त्यसपछि जिल्ला समितिको बैठकले प्रतिवेलदन उपर कारवाही गर्नुपर्ने भएकोले सोलाई रोक्न बैठक नै नगराइएको र त्यसै कारण पनि नयाँ सदस्यताको बिषयमा महासंघमा छलफल पनि हुन नपाएको कुरा उजुरीमा उल्लेख गरिएको छ। 

उजुरी गर्नेहरुमा  नेपाल पत्रकार महासंघ, पर्साका पूर्व अध्यक्ष अशोक तिवारी, नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष  रामनारायण कुर्मी,  संघीय प्रेस फाेरम, पर्साका अध्यक्ष आरके पटेल, ब्रोडकास्टिङ्ग एशोसिएशन नेपाल (बान) प्रदेश नम्बर २ का अध्यक्ष आरसी यादव, फोटो पत्रकार महासंघ, पर्साका अध्यक्ष  विजय चौहान, साप्ताहिक पाक्षिक पत्रिका संजालका अध्यक्ष रामराज यादव र इकनोमिक रिपोर्टस एशोसिएशन, नेपाल पर्साका संयोजक रितेश त्रिपाठी रहेका छन्।

 
 
 
 

प्रकाशित मिति: : 2020-01-20 10:50:31

प्रतिकृया दिनुहोस्