सदाझैं त्यो बिहान ४ः३० बजे म निद्राबाट ब्युँझेको थिएँ।
मफलर, ओभरकोट र माकलटोपी लगाएको थिएँ। र, घरद्वार छाडी प्रभात विचरणका निम्ति ललित नगरका तान्त्रिक गल्लीहरूमा निस्केको थिएँ।
- एक्लै निस्केका थियौ ?
- हो, एक्लै निस्केको थिएँ।
- अरू कोही थिएन ?
- थिएन।
- साँँच्चि ?
- साँच्चि।
गल्लीहरू निर्जन थिए। चकमन्न। चमसुर, पालुङ र धनियाँ बेच्ने खरपनवालाहरूको अत्तोपत्तो थिएन। ठेला गुडाउँदै चोक चोकमा निस्कने फलफूलवालाहरूको नाम-ओ-निसान थिएन।