प्रदेश ५ का सबैभन्दा जेठा माननीय बलदेव शर्मा पोखरेल एक वर्षदेखि अस्पतालमा क्यान्सरसँग लडिरहेका छन् । गत वर्षको माघमा छातीमा संक्रमण देखिएपछि उनलाई काठमाडौं लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका समानुपातिक तर्फका प्रदेशसभा सदस्य बनेका बलदेव ८२ बर्ष पुगिसके । प्रतिपक्षी दलका नेतासमेत रहेका उनलाई प्रदेशसभामा सबैले अभिभावकको व्यवहार गर्छन् र ‘बा’ भनेर सम्वोधन गर्छन् ।
रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका बलदेव फोक्सोको क्यान्सरबाट ग्रसित छन् । नर्भिकमा लामो समय उपचारपछि उनलाई अहिले रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन हस्पिटलको आईसीयूमा राखिएको छ । काठमाडौंबाट घर ल्याइएको केही दिनमा रगतमा प्लेटलेट्स कम भएर बेहोस भएपछि उनलाई क्रिमसन लगिएको थियो ।
क्रिमसन अस्पतालका वरिष्ठ फिजिसियन डा.राकेश आस्वानीले पोखरेलको अवस्था जटिल रहेको अनलाइनखबरलाई बताए । ‘उहाँको फोक्सोबाट शुरू भएको क्यान्सर टाउको, हड्डी हुँदै शरीरभर फैलिएको छ, अब भगवानकै हातमा छ,’ उनले भने । शर्माको ७ पटकसम्म किमोथेरापी गरिसकिएको उनले बताए ।
प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेका शर्माले सबै सांसदलाई सपथ खुवाएका थिए ।
बिरामी भएर उनी प्रदेशको बजेट अधिवेशनमा पनि जान सकेनन् । पुसको अन्तिम साता मुख्यमन्त्री शंकर पोखरेलले पनि अस्पतालमा पुगेर नेता पोखरेलको स्वास्थ्य अवस्था बुझेका थिए । नेतादेखि सांसद र मन्त्री उनलाई भेट्न अस्पताल पुग्ने गर्छन् । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यसै साता उनीसँग भेट गरे ।
उनको उपचारमा हालसम्म १५ लाख रुपैयँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । प्रदेश सरकारले ५ लाख रुपैंयाँ उपलब्ध गराएको छ ।