आफन्तवाद हावी भएको समाजमा प्रहरीलाई काम गर्न कठिनाईः महानिरिक्षक खनाल

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले आफन्तवाद  हावी भएको समाजमा प्रहरीलाई काम गर्न कठिनाई हुने गरेको बताएका छन्। नेपाल प्रहरी र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा भएको लागुऔषधको प्रयोग,रोकथाम र नियन्त्रणका लागि सञ्चालित निःशुल्क परामर्श केन्द्रको समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत भएको सो कार्यक्रममा प्रहरी महानिरिक्षक खनालले समाजमा रहेका दोषीलाई चिनजानको नाताले एकातर्फ लुकाउने प्रयास हुने र अर्कोतर्फ अपराध न्युनीकरण भएन भनेर प्रहरीको आलोचना समेत हुने गरेको बताए। 

उनले समुदाय र प्रहरीको सामूहिक प्रयास बिना शान्ति सुरक्षा सम्भव नहुने भएकाले अपराधलाई नियन्त्रण गर्न समाजका हरेक व्यक्ति सचेत भएर आसपासमा भइरहेको घटनाको बारेमा प्रहरीलाई खबरदारी गरे मात्रै समृद्ध समाजको निर्माण हुने बताए। 

'नेपालमा भारतसँगको खुल्ला सिमानाका र भौगोलिक बनावटले दुर्गम पहाडी क्षेत्र अधिक भएकाले नेपाल प्रहरीलाई अपराधीहरुलाई नियन्त्रणमा लिन तथा अनुसन्धान गर्न धेरै चुनौतिको सामाना गर्नु परेको छ।महानिरिक्षक खनालले भने 'यस्तो अवस्थामा समुदाय प्रहरीको साथमा साझेदारी गर्दै अगाडि बढे न्यायको पाटो बलियो हुने र बिकाश निर्माणका कार्य पनि प्रभावकारी ढगंले अगाडि बढ्ने छ।' 

लागुऔषधको प्रयोगको रोकथाम र नियन्त्रणको समस्या अहिले मुख्य चुनौतिको बिषय भएको उनले बताए। यसको न्युनीकरणका लागी नेपाल प्रहरीले ओसारपसार कर्ता, प्रयोगकर्ता र अपराधी गिरोहहरुलाई पक्राउ गरेतापनि समस्या जडैबाट समाधान नभएको उनले बताए। 

महानिरिक्षक खनालले भने 'यस्तो अवस्थामा समुदायमा रहेका लागुऔषध दुव्र्यश्यनकर्ताको लागी नेपाल प्रहरीले स्थानीय सरकारको सहकार्यमा देशैभरीका हरेक जिल्लामा निःशुल्क परामर्श केन्द्रको स्थापना गर्ने योजना अघि सारेको छौं।' 

पहिलो चरणमा पर्सा, बारा लगायत तराईका जिल्लाहरुमा खुल्ला सिमानाकाको कारण समस्या अधिक भएकाले पर्सा लगायत यस क्षेत्रकालागी वीरगञ्ज महानगरको सहयोगमा पहिलो निःशुल्क परामर्श केन्द्रको सुरुवात गरिएको उनले बताए। 

'पहिलेको समयमा अभिभावकहरु छोराछोरी कुलतमा फसे थुनामा राखेर सुधारीदिन प्रहरी कार्यालयमा आउने गरेका थिए।अहिले देशको नयाँ संविधान अनुसार बिना कारण थुनामा राख्न मिल्दैन्। देशमा अहिले ४० प्रतिशतभन्दा बढि युवायुवति कुलतको सिकार भएर नरकिय जिवन बिताइरहेका छन्।उनले भने।´ उनीहरुलाई समातेर सजाय दिनुभन्दा पनि परामर्श केन्द्रमा बुझाउदा बढि प्रभावकारी हुने उनले बताए। 

'सुरुदेखी नै अभिभावकले आफ्नो बालबालिकाको साथीहरुसँगको संगत लगायत हरेक गतिविधिमा चनाखो हुनुपर्छ।' उनले भने 'यदि अभिभावक चलाखो भए यस्तो भयावह अवस्था आउँदैन।' दुर्व्यसनीमा फसेका युवायुवतिको सुधार तथा पुर्नस्थापनका लागि गारजियन लगायत समुदायको अहम् भुमीका रहेको प्रहरी महानिरिक्षक खनालको भनाई थियो।

प्रकाशित मिति: : 2020-01-17 00:23:19

प्रतिकृया दिनुहोस्