'एक्लै आँट थिएन, सबैले सघाएपछि पक्की घर बन्यो'

समिक्षा अधिकारी

सिन्धुपाल्चोक
तस्बिर : सेतोपाटी

भुइँचालोको झट्काले गाउँ मच्चिँदा सिन्धुपाल्चोकका कृष्णबहादुर माझी रूखको टुप्पामा थिए। वस्तुभाउलाई सोत्तर काट्न उक्लिएका मेलम्चीका कृष्णबहादुरले अन्ततः गाउँ नै सोत्तर भएको त्यही रुखबाट कहालिँदै हेरे। 'भुइँचालो जाँदा रूख चढेको थिएँ। हल्लाउन थालिहाल्यो। झरेर भागौं कि, हाँगा समातेर बसौं, सोच्दासोच्दै यता घरहरू लडेर धुँवाधुँवा भए। कोही रुवाबासी गर्न थाले। कोही बालबच्चा खोज्न थाले,' त्यो दिनको त्रासदी सम्झिँदै उनी भन्छन्, 'श्रीमतीको खुट्टामा चोट लाग्यो, भाइको जहान र चार वर्षकी छोरी घरभित्रै पुरिएर मरे। आफन्तभित्र नै पाँच जना परे।'

फट्केश्वर–मेलम्चीको सडकखण्डमा टिपर चलाउँदै आएका सञ्जय माझी त्यस दिन घरै थिए। खाना खाएर टहलिन पनि भ्याएका थिएनन्, घर्‍याकघुरूक्क आवाजसाथ घर हल्लिन थाल्यो। जीवनमा त्यस्तो कम्पन नबेहोरेका उनी आफ्नो घर ढल्दाको साक्षी आफैं भए। घर मात्रै ढलेन, परिवार पनि पुरिए। भाग्न सक्ने ठाउँमा भएकाहरू भागे। नातिनी लिन आत्तिँदै दौडिएका उनका बाबु भत्किएको घरमै परे। सञ्जयकी छोरी बाँचिन्, बुवालाई भुइँचालोले लग्यो। प्रकृति र आफ्नै जीवनमा एकसाथ आएको महाप्रलय सम्झँदा सञ्जयलाई अहिले पनि सपनाजस्तो लाग्छ।

प्रकाशित मिति: : 2020-01-16 20:51:35

प्रतिकृया दिनुहोस्