सरकारले पाँच विश्वविद्यालयलाई संघीय र अन्य पाँचवटालाई प्रादेशिक विश्वविद्यालय बनाउने भएको छ। सरकारले तयार गरेको उच्चशिक्षा ऐन–२०७६ को मस्यौदामा मुलुककै जेठो त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, नेपाल खुला र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई संघीय विश्वविद्यालय बनाउने भएको छ। यसै गरी पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाइएको छ।
यस्तै, त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय र सो विश्वविद्यालयको क्याम्पसलाई उत्कृष्टताको आधारमा केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरिएको छ। चालू हिउँदे अधिवेशनमा संसद्मा पेस गर्ने गरी तयार भएको ऐनको मस्यौदालाई गएको मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत प्रदान गरिसकेको छ।